पछिल्लो समय विशेषगरी तराई मधेश क्षेत्रमा सडक दुर्घटनाको संख्या तीव्र रूपमा बढ्दै जानु सामान्य घटनाको सूचीमा सीमित विषय होइन, यो राज्य, समाज र नागरिक सबैका लागि गम्भीर चेतावनी हो । नेपालभर सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये करिब २१ प्रतिशत मधेश प्रदेशमै पर्नु स्थिति कति भयावह बन्दै गएको छ भन्ने स्पष्ट संकेत हो ।
हरेक वर्ष नेपालमा सडक दुर्घटनाले सयौँ परिवार उजाडिन्छन्, थुप्रै युवा असमयमै जीवन गुमाउँछन् र हजारौँ नागरिक स्थायी अपाङ्गता बोकेर बाँकी जीवन बिताउन बाध्य हुन्छन् । तर, दुर्घटनालाई ‘दुर्भाग्य’ भन्दै पन्छाउने प्रवृत्तिले वास्तविक समस्यालाई अझ गहिरो बनाइरहेको छ ।
चालु आर्थिक वर्षको मंसिरसम्म देशभर १३ हजार ८८० सवारी दुर्घटनामा १ हजार ४२ जनाको मृत्यु भइसकेको छ । तीमध्ये मधेश प्रदेशमै २२० जनाले ज्यान गुमाउनु, यो क्षेत्र दुर्घटनाको ‘हटस्पट’ बन्दै गएको प्रमाण हो । साउनदेखि मंसिरसम्म मात्रै मधेश प्रदेशमा २ हजार ६७१ दुर्घटना हुनु र त्यसमा १९१ जनाको मृत्यु तथा ४ हजार ५७६ जना घाइते हुनु राज्यका संयन्त्रहरू कति कमजोर छन् भन्ने प्रश्न खडा गर्छ ।
सबैभन्दा चिन्ताजनक पक्ष भनेको १७ देखि ३० वर्ष उमेर समूहका युवाहरू दुर्घटनाको मुख्य सिकार हुनु हो । उत्पादनशील उमेरका युवाहरूको यसरी ज्यान जानु वा घाइते हुनु केवल व्यक्तिगत क्षति होइन, यो देशको सामाजिक आर्थिक भविष्यसँग जोडिएको गम्भीर विषय हो ।
गुणस्तरीय सडकको अभाव, सडक निर्माणमा हुने भ्रष्टाचार, यातायात नियमको उल्लङ्घन, तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति दुर्घटनाका मुख्य कारण भएको तथ्य स्थानीयदेखि प्रहरी प्रशासनसम्म सबैले स्वीकार गरेका छन् । तर, समस्या पहिचानमा एकमत भए पनि समाधान कार्यान्वयनमा गम्भीरता देखिँदैन ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयकै कार्यक्रममा युवाहरू बढी दुर्घटनामा पर्ने गरेको स्वीकार गरिनु आफैंमा चिन्ताजनक सन्देश हो । यदि कारण थाहा छ भने, किन रोकथाम प्रभावकारी हुन सकेको छैन ? नियमित चेकजाँच, कडाइका साथ नियम कार्यान्वयन र निरन्तर सचेतना किन अभियानमै सीमित हुन्छ ?
सडक दुर्घटनाको भयावह अवस्था केवल चालकको गल्ती भनेर टार्न मिल्दैन । कमजोर योजना, अनुगमनहीन सडक निर्माण, ट्राफिक व्यवस्थापनमा ढिलासुस्ती, र नागरिक सचेतनामा कमी सबै मिलेर यो संकट पैदा भएको हो । मधेश प्रदेश प्रहरी प्रमुखले समेत केही जिल्लामा दुर्घटना बढेको स्वीकार गर्नु, समस्या अझ गहिरिँदै गएको संकेत हो ।
स्थानीयवासीले सुझाएका उपायहरु ‘नियमित सवारी र मापसे चेकजाँच, विद्यालय र क्याम्पसमा सडक सुरक्षा शिक्षा, सचेतनामूलक सामग्रीको व्यापक प्रयोग र चालक लक्षित कार्यक्रम’ यी सबै तत्काल कार्यान्वयन गर्न सकिने उपाय हुन् । तर, यी प्रयास तब मात्र प्रभावकारी हुन्छन् जब राज्य, प्रहरी, स्थानीय तह र नागरिक सबैले साझा जिम्मेवारी बोध गर्छन् ।
सडक दुर्घटना कुनै नियति होइन, यो हाम्रो लापरवाही, कमजोर शासन र उदासीनताको परिणाम हो । अब पनि गम्भीर भएर कदम चालिएन भने तराई मधेश मात्र होइन, सिंगो देश दुर्घटनाको अन्तहीन सूचीमा झन् डुब्दै जानेछ । समयमै चेत्ने कि अझ धेरै ज्यान गुमेपछि मात्रै आँखा खोल्ने यो प्रश्न अब राज्य र समाज दुवैका लागि खुला चुनौती बनेको छ ।









प्रतिक्रिया दिनुहोस् !