तीन दशकभन्दा बढी समयदेखि औद्योगिक फोहोरको चपेटामा परेर कालो, दुर्गन्धित र विषाक्त बनेको सिर्सिया नदी आज केवल एउटा जलधारा मात्र होइन, राज्यको उदासीनता, नियामक निकायको असफलता र विकासको नाममा गरिएको अन्धाधुन्ध औद्योगिकीकरणको ज्वलन्त प्रतीक बनेको छ । यही पृष्ठभूमिमा वीरगंजका युवाहरूले सुरु गरेको ‘बोतल अभियान’ ले सिर्सिया प्रदूषणको मुद्दालाई नयाँ, सशक्त र बहसयोग्य उचाइमा पुर्याइदिएको छ ।
पर्सा बारा औद्योगिक कोरिडोरका दर्जनौँ उद्योगहरूले वर्षौंदेखि रसायनयुक्त फोहोर, लेदो र दूषित पानी सिधै सिर्सिया नदीमा मिसाउँदै आएका छन् । यसको परिणामस्वरूप नदी लगभग ‘मृत नदी’ जस्तै बनेको छ । नदी किनारका दुई दर्जनभन्दा बढी गाउँका बासिन्दा, पशुपन्छी र कृषिमा निर्भर समुदाय दीर्घकालीन रोग, छालासम्बन्धी समस्या र वातावरणीय जोखिमको सिकार बन्दै आएका छन् । यो समस्या आजको होइन, दशकौँदेखिको हो । तर समाधान भने कहिल्यै प्राथमिकतामा परेन ।
वीरगंज महानगरपालिकाले समय समयमा जरिवाना, चेतावनी र प्रदूषक उद्योगमै फोहोर थुपार्ने जस्ता प्रतीकात्मक कदम चाले पनि ती प्रयासहरू स्थायी समाधान बन्न सकेनन् । अनुगमन कमजोर रह्यो, कारबाही राजनीतिक र आर्थिक दबाबमा फितलो बन्यो । २०६७ मै गठित अनुगमन समितिले ४६ उद्योगलाई सिर्सिया प्रदूषणको मुख्य दोषी ठहर गरिसकेको तथ्य अझै कागजमै सीमित छ । प्रश्न उठ्छ, जब दोषी पहिचान भइसकेका थिए, किन कारबाही भएन ?
यही निरन्तर बेवास्ताको विरुद्धमा अहिले जेन–जी पुस्ताका करिब ३० जना युवाहरू स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका छन् । उनीहरूको अभियान न त तोडफोडमा आधारित छ, न नाराबाजीमै सीमित । उनीहरूले सिर्सिया नदीको कालो पानी बोतलमा भरेर सरकारी कार्यालय, महानगरपालिका, उद्योग वाणिज्य संघ र अब राजनीतिक नेतृत्वको टेबलसम्म पुर्याउने घोषणा गरेका छन् । यो बोतल कुनै सामान्य पानी होइन, यो राज्य र समाजलाई देखाइएको ऐना हो जहाँ सबैले आफ्नै असफलता देख्न सक्छन् । 
अभियानका अगुवा किसु सर्राफले ‘नदी सफा भइसकेको’ भन्ने भ्रमलाई चिर्न यो कदम चालिएको बताएका छन् । वास्तवमै, जब वास्तविकता कालो छ, तब आँखा चिम्लेर उज्यालो भएको दाबी गर्नु अपराध बराबर हुन्छ । सिर्सियाको पानी बोतलमा भरेर बुझाउनु प्रतीकात्मक देखिएपनि यसको सन्देश गहिरो छ । यदि नीति बनाउने, अनुमति दिने र नाफा कमाउनेहरूले यही पानीसँग जिउनुपरेको भए, सायद अवस्था यति दयनीय हुने थिएन ।
युवाहरूको योजना अझ सशक्त छ । उद्योग वाणिज्य संघ, पूर्व मन्त्री, सांसद र प्रदेश सांसदहरूको घर कार्यालयसम्म यो ‘उपहार’ पुर्याउने चेतावनी केवल दबाबको राजनीति होइन, उत्तरदायित्वको माग हो । किनकि प्रदूषण केवल उद्योगको गल्ती होइन, त्यसलाई संरक्षण गर्ने मौन राजनीतिक संरचनाको पनि साझा जिम्मेवारी हो ।
यसबाहेक, नदीकै फोहोर पानीमा उभिएर कविता वाचन, महाआरती जस्ता सांस्कृतिक प्रतिरोधका कार्यक्रम गर्ने युवाहरूको योजना झन् गहिरो सन्देश बोकेको छ । छठ पर्वमा मात्र नदी प्रदूषणको चर्चा गर्ने परम्परालाई तोड्दै, ‘छठ नभएको समयमा’ उठाइएको आवाजले वातावरणीय मुद्दालाई मौसमी होइन, स्थायी एजेन्डा बनाउने प्रयास गरेको देखिन्छ ।
रामवनबाट सुरु भएर वीरगंज हुँदै भारतको रक्सौलसम्म पुग्ने सिर्सिया नदी कुनै सानो खोला होइन । यो वीरगंजको ‘लाइफलाइन’ हो । यसको मृत्यु भनेको केवल पानीको अन्त्य होइन, भविष्यको स्वास्थ्य, कृषिको उर्वरता र सीमावर्ती सहअस्तित्वमाथि खतरा हो ।
यस अर्थमा, सिर्सिया बचाउन युवाहरूले थालेको यो रचनात्मक विरोध केवल अभियान होइन यो चेतावनी हो । यदि राज्य, स्थानीय तह, उद्योग र राजनीतिक नेतृत्व अझैपनि मौन बसिरह्यो भने सिर्सिया मात्र होइन, जनविश्वास पनि सुक्दै जानेछ । बोतलभित्र बन्द गरिएको यो कालो पानीले अब निर्णयकर्ताहरूको टेबल मात्र होइन, विवेक पनि हल्लाउनुपर्छ ।









प्रतिक्रिया दिनुहोस् !