वीरगंजको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग गहिरो रूपमा जोडिएको गहवामाई मन्दिर परिसर पुनः सौन्दर्यकरणको काम सुरु हुनु सकारात्मक र स्वागतयोग्य कदम हो । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा मन्दिर परिसरमा लगाइएका छेकबार तोडफोड भएपछि अस्तव्यस्त बनेको वातावरणले केवल भौतिक क्षति मात्र होइन, सामाजिक संवेदनशीलता र आस्थामाथि समेत प्रश्न उठाएको थियो । त्यसैको पृष्ठभूमिमा वीरगंज महानगरपालिकाले सोमबारदेखि पुनः व्यवस्थापन र सौन्दर्यकरणको काम अघि बढाउनु समयसापेक्ष निर्णय मान्न सकिन्छ ।
गहवामाई मन्दिर वीरगंजको प्रमुख धार्मिक आस्थाको केन्द्र मात्र नभई शहरको ऐतिहासिक पहिचानको प्रतीक पनि हो । यस्ता स्थलहरू कुनै एक समुदायका मात्र नभई सम्पूर्ण समाजका साझा धरोहर हुन् । आन्दोलन वा असन्तुष्टिका नाममा यस्ता स्थानमा क्षति पुर्याइनु न त उचित ठहरिन्छ, न त यसले कुनै सकारात्मक सन्देश नै दिन्छ । बरु, यसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र ऐतिहासिक चेतनामाथि गम्भीर चोट पुर्याउँछ ।
तोडफोडपछिको अवस्थाले मन्दिर क्षेत्रको सुरक्षा, सौन्दर्य र आवागमन व्यवस्थापनमा समस्या सिर्जना गरेको तथ्यलाई नकार्न सकिँदैन । भक्तजनहरूको आवतजावत असहज हुनु, सुरक्षा कमजोर हुनु र वातावरण अव्यवस्थित हुनु आफैंमा चिन्ताको विषय थियो । यस्तो अवस्थामा महानगरपालिकाले सौन्दर्यीकरणको काम सुरु गर्दै पुनः व्यवस्थापनमा सक्रियता देखाउनु स्थानीय सरकारको दायित्वबोध र जिम्मेवारीको संकेत हो ।
स्थानीयवासी तथा भक्तजनहरूले लामो समयदेखि मन्दिर परिसरलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन माग गर्दै आएको सन्दर्भमा अहिले सुरु भएको सौन्दर्यकरण कार्य केवल भौतिक संरचना सुधारमा सीमित नहुने अपेक्षा गर्नुपर्छ । यसले दीर्घकालीन रूपमा मन्दिर क्षेत्रको सुरक्षा, व्यवस्थापन र संरक्षणको स्पष्ट खाका पनि प्रस्तुत गर्नुपर्छ । धार्मिक स्थलहरूलाई अस्थायी समाधान होइन, दीगो योजना र संवेदनशील दृष्टिकोणबाट हेर्नु आजको आवश्यकता हो ।
यस पुनः सौन्दर्यकरण अभियानले गहवामाई मन्दिरको धार्मिक महत्व जोगाउनुका साथै श्रद्धालुहरूलाई सहज, सुरक्षित र सम्मानजनक वातावरण प्रदान गर्ने विश्वास गरिएको छ । तर, यससँगै समाजका सबै पक्षले आत्मसमीक्षा गर्नु पनि जरुरी छ । आन्दोलन, असहमति वा परिवर्तनका नाममा के हामी आफ्नै सांस्कृतिक धरोहरमाथि आघात त गरिरहेका छैनौं ?
गहवामाई : आस्था, विश्वास र सांस्कृतिक चेतनाको जीवित प्रतीक
हिन्दु धर्म बहुदेववादी मात्र होइन, बहुआयामिक आस्थाको प्रणाली हो, जहाँ देवत्व केवल मूर्तिमा सीमित हुँदैन, समाजको चेतना, संस्कार र जीवनशैलीसँग गहिरो रूपमा गाँसिएको हुन्छ । यही सन्दर्भमा वीरगंजको गहवामाई मन्दिर केवल एक धार्मिक संरचना होइन, सदियौँदेखि जनआस्थाले निर्माण गरेको विश्वासको केन्द्र हो । गहवामाईप्रतिको श्रद्धा हिन्दु समाजको भावनात्मक, सांस्कृतिक र आध्यात्मिक आयामसँग जोडिएको गहिरो विश्वासको अभिव्यक्ति हो ।
हिन्दु धर्ममा ‘माता’ स्वरूपको देवता शक्ति, संरक्षण र करुणाको प्रतीक मानिन्छ । गहवामाई पनि यही मातृशक्तिको प्रतिनिधि स्वरूप हुन्, जहाँ भक्तजनले संकटमा शरण, पीडामा सहारा र आशामा विश्वास खोज्छन् । देवीप्रतिको आस्था कुनै तर्कले मात्र स्थापित हुँदैन, यो पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सामूहिक अनुभूति र अनुभवको परिणाम हो । यही कारण गहवामाईप्रतिको विश्वास समय, राजनीति वा सामाजिक परिवर्तनले सजिलै विचलित गर्न सक्दैन ।
गहवामाई मन्दिरको महत्व केवल धार्मिक कर्मकाण्डमा सीमित छैन । यसले हिन्दु समाजको सामूहिक चेतनामा अनुशासन, सहनशीलता र नैतिकताको सन्देश बोकेको छ । देवीको दर्शनले भक्तजनलाई आत्मसंयम, करुणा र सामाजिक सद्भावतर्फ प्रेरित गर्छ । हिन्दु दर्शन अनुसार शक्ति विनाशका लागि होइन, सन्तुलनका लागि हुन्छ । आजको आधुनिक र बहसप्रधान समाजमा धार्मिक आस्थालाई केवल अन्धविश्वासको रूपमा व्याख्या गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । तर हिन्दु धर्मको आस्था तर्कविहीन होइन, यो अनुभवजन्य, सांस्कृतिक र नैतिक तर्कमा आधारित हुन्छ ।
गहवामाई मन्दिरमाथि हुने कुनै पनि प्रकारको उपेक्षा वा क्षति केवल एउटा संरचनामाथिको आघात होइन, यो लाखौँ भक्तजनको विश्वास, स्मृति र भावनामाथिको चोट हो । हिन्दु धर्मले सहिष्णुता सिकाउँछ, तर सहिष्णुताको अर्थ मौन स्वीकृति होइन । आस्थाको संरक्षण गर्नु धार्मिक अधिकार मात्र होइन, सांस्कृतिक जिम्मेवारी पनि हो । धर्मनिरपेक्ष समाजमा सबै धर्म र आस्थाको समान सम्मान नै सामाजिक स्थायित्वको आधार हुन्छ । अन्ततः, गहवामाई मन्दिरको सौन्दर्यकरण केवल ईँटा, सिमेन्ट र संरचनाको कुरा होइन, यो वीरगंजको सामूहिक चेतना, आस्था र सहअस्तित्वको संरक्षणसँग जोडिएको विषय हो । यसलाई अवसरका रूपमा लिएर धार्मिक स्थलप्रतिको सम्मान, सार्वजनिक सम्पत्तिको सुरक्षा र जिम्मेवार नागरिक व्यवहारलाई अझ बलियो बनाउने दिशामा सबै पक्ष सचेत र प्रतिबद्ध हुन आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस् !