पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालले मंलवार नारायणी अस्पतालमा गरेको आकस्मिक अनुगमन कुनै साधारण औपचारिकता थिएन । यो अस्पताल प्रशासनका गम्भिर कमजोरी, चिकित्साकर्मीहरूको लापरबाही र वर्षौंदेखि सेवाग्राहीले भोग्दै आएको अन्यायको प्रत्यक्ष प्रत्याभूति थियो ।
नारायणी अस्पताल देशका प्रमुख सरकारी स्वास्थ्य केन्द्रमध्ये पर्छ । तर, पछिल्लो दिनहरुमा यहाँको ओपिडी ढिलो खुल्ने, चिकित्सक तोकिएको समयमै नआउने, कार्यालय समयअघि नै भाग्ने, सरसफाइ बिग्रँदै जाने, शौचालय दुर्गन्धले भरिने जस्ता समस्या सर्वसाधारणका लागि ‘नयाँ’ होइन । केवल फरक के हो भने, यसपटक राज्यका सर्वोच्च स्थानीय कार्यकारी अधिकारी आफैँ घटनास्थलमा पुगे ।
सिडिओ टोलीले आधा घण्टाभित्र गरेको निरीक्षणले जुन तथ्य उजागर गर्यो, त्यसले अस्पताल प्रशासनको पहाडजत्तिक कमजोरीलाई नांगै पारिदियो । समयमै चिकित्सक नआउने, तोकिएको सेवा समयमै ओपिडी छाडेर हिँड्ने प्रवृत्ति, सरसफाइप्रति लापरबाही, शौचालयको फोहरी अवस्था जस्ता समस्या कुनै स्वास्थ्य संस्थामा स्वीकार्य हुनै सक्दैनन्, खासगरी जीवन र मृत्युको संवेदनशील मोडमा पुग्ने बिरामीहरूको केन्द्रमा त झन् होइन ।
सेवाग्राहीहरूले यिनै समस्याका कारण लामो समयदेखि भोगिरहेको पीडा सिडिओको अनुगमनले अझ पुष्टि गरिदिएको हो । स्वास्थ्य सेवा पेशा मात्र जागिर होइन, यो नैतिकता, मानवीयता र जिम्मेवारीको संयोजन हो । ओपिडी सेवामा ढिलाइ हुनु भनेको बिरामीलाई दुःख दिनु मात्र होइन, कतिपय अवस्थामा जीवन जोखिममा पार्नु हो । तोकिएको समयमै नआउने, सेवा आधामै छाडेर हिँड्ने, बिरामीसँग अभद्र व्यवहार गर्ने यी सबै पेशागत दायित्वको प्रत्यक्ष उल्लंघन हुन् । सिडिओको अनुगमनले देखिएको यि समस्या कुनै नयाँ समस्या पनि होइन, तर उपल्लो तहको अधिकारीको आँखा पर्न नसकेको मात्रै हो ।
अनुगमनको क्रममा देखिएको कमि कमजोरी र लापरवाहीलाई सच्याउनको लागि सिडिओ दाहालले दिएको निर्देशनले केही सुधार आउँछ कि भन्ने आशा पलाएको छ । सिडिओले अनुगनको क्रममा अस्पतालमा अनिवार्य हाजिर, तोकिएको समयसम्म ओपिडी खुला, तत्काल सरसफाइ सुधार, बिरामीसँग नम्र व्यवहार । यि निर्देशनहरु पनि अस्पतालको लागि कुनै नयाँ निर्देशन होइन, पहिलापनि यस्ता निर्देशन र चेतावनी पनि दिइएकै हो तर नारायणी अस्पताल प्रशासनले गरेको वेवास्ता मात्रै हो । यि कमि कमजोरी र लापरवाहीलाई सच्याउन कुनै अधिकारीले निर्देशन दिनुपर्ने कुरै होइन, यी त अस्पताल सञ्चालनका आधारभूत मान्यता हुन्, जुन पालन नगर्नु आफैंमा प्रशासनिक असफलता हो ।
अनुगमन पश्चात अस्पतालमा देखिएको समस्यालाई सुधार्न अस्पतालका निमित्त सुपरिन्टेन्डेन्ट डा. चित्तरन्जन साहले प्रतिबद्धता जनाएका छन्, जुन सकारात्मक संकेत हो । तर, सूचना अधिकारीले दिएको ‘टोकन सकिएपछि चिकित्सक कार्यकक्ष जान सक्छन्’ भन्ने स्पष्टीकरण समस्याको जरो प्रष्ट्याउने भन्दा पनि उसको परिधि मात्र हल्का छोप्ने प्रयासजस्तो देखिन्छ । अस्पताल सीधै बिरामीको पीडासँग सम्बन्धित संस्था हो यहाँ औपचारिक स्पष्टीकरणले होइन, व्यवहारिक सुधारले मात्र सन्तोष दिन सक्छ ।
सेवामा बेथिति, अकर्मण्यता र जिम्मेवार निकायको मौनता जस्ता गतिविधिले गर्दा पछिल्लो समय नारायणी अस्पतालप्रति स्थानीयको असन्तुष्टि बढ्दै गएको छ । एम्बुलेन्सदेखि वडासम्मको गैरव्यवस्था, चिनेका बिरामीलाई प्राथमिकता, ओपिडीमा ढिलाइ, चिकित्सकहरूको ‘Mood based Service’ सेवा अर्थात मुड अनुसार सेवा दिने प्रवित्तिले सरकारी स्वास्थ्य संस्थाको विश्वसनीयता निकै घटाएको छ ।
सिडिओको आकस्मिक निरीक्षणले यसमा हल्का कम्पन ल्याएको छ । तर, एकपटकको छड्के अनुगमनले मात्र प्रणालीगत समस्या समाधान हुँदैन । स्थायी सुधारका लागि कडा कदम आवश्यक छ । नारायणी अस्पतालजस्तो भीडभाडयुक्त सरकारी स्वास्थ्य केन्द्रमा सुधारका लागि चिकित्सक र कर्मचारीको बायोमेट्रिक हाजिर अनिवार्य, ओपिडी समय उल्लंघन गर्दा तत्काल कारबाही, सरसफाइ व्यवस्थापनमा निजी क्षेत्रको संलग्नता, बिरामी गुनासो व्यवस्थापन सेल सक्रिय जस्ता कार्यहरु तत्काल लागु गर्न आवश्यक छ ।
राज्यले ठूलो बजेट खर्चेर सञ्चालन गरेको अस्पताल यस्तो अव्यवस्थित अवस्थामा रहिरहनु राष्ट्रको स्वास्थ्य संरचनामाथिको ठट्टा हो । सिडिओको कदमले आशा जगाएको छ, तर निरन्तरता नै निर्णायक हुनेछ । सिडिओ भोला दाहालको अनुगमनले स्थानीयमा आशा जगाएको छ, कम्तिमा राज्यको आँखा अब अस्पतालमाथि पुगेको छ । तर, वास्तविक सुधार त्यतिबेला मात्र देखिन्छ जब चिकित्सक समयमा हाजिर हुन्छन्, ओपिडी समयमै खुल्छ, शौचालय सुगन्धित हुन्छ र बिरामीलाई सेवाभन्दा बढी ‘मानव’ का रूपमा सम्मान गरिन्छ । नारायणी अस्पतालले अब ‘सुधार’ भन्ने शब्दलाई कागज होइन, व्यवहारमा उतार्ने समय आएको छ ।









प्रतिक्रिया दिनुहोस् !