वीरगंज (पर्सा), १६ पुस / पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले खेल र खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । वीरगंज महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट टुर्नामेन्टको समापन समारोहलाई सम्बोधन गर्दै सांसद यादवले खेलको बृद्धिविकासका लागि खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यक्ता औँल्याएका हुन् ।
क्रिकेट मात्रै नभएर फुटबलसहित अन्य खेलहरुको पनि संरक्षण एवम् संवद्र्धन गर्दै खेलाडीहरुको बृद्धिविकासका लागि सबैले सहकार्य गर्नुपर्ने यादवको भनाई छ । उनले भने, ‘हाम्रो तिर अझै पनि खेल क्षेत्रलाई अपहेलना गर्न र खेल्न नदिने सोच हाबी छ, तर खेलबाटै देशको नाम पनि रोशन गर्न सकिन्छ भने खेलेरै जीवनयापन गर्न पनि सकिन्छ ।’ यहाँ आवश्यक खेल मैदानको अभावमा पनि खेलाडीहरुले देखाएको खेलप्रतिको लगावलाई मध्यनजर गर्दै खेलाडी र खेलको विकासका लागि आफुले पदीय र व्यक्तिगत रुपमा कहिलै पछि नहट्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
पुष ९ गतेदेखि शुरु भएको वडाअध्यक्ष क्रिकेट टुर्नामेन्टको उपाधि पनि आयोजक वडा नम्बर २२ को जगरनाथपु युवा क्लबले हात पारेको छ । उपाधिसँगै जगरनाथपुर युवा क्लबले नगद ५१ हजारसहित शिल्ड र प्रमाणपा प्राप्त गरेको छ भने उपविजेता बनेको लक्ष्मणवा युवा क्लबले नगद २५ हजारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेको क्लबका उपाध्यक्ष उपेन्द्र पटेलले जानकारी दिए ।
क्लबका अध्यक्ष जितेन्द्र प्रसाद पटेलको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहलाई सांसद यादवसँगै वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, वडाअध्यक्ष द्वारिका महतो, क्लबका सल्लाहकार, मनोज ठाकुर, दिनेश ठाकुर लगायतले सम्बोधन गरेका थिए । प्रतियोगितामा ८ वटा समूहले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस् !