वीरगंज (पर्सा), ४ मंसिर । राहदानी (पासपोर्ट) बनाउने क्रममा निधारको टीका र महिलाको सिन्दूर हटाउन तथा कपालको प्राकृतिक रङ परिवर्तन गर्न लगाइएको भनिएको घटनाले धार्मिक तथा सांस्कृतिक पहिचानमाथि हस्तक्षेपको प्रश्न उठाएको छ । यसप्रति आपत्ति जनाउँदै विश्व हिन्दु परिषद् नेपालले जिल्ला प्रशासन कार्यालय पर्सासँग घटनाको निष्पक्ष छानबिन गरी आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ ।
परिषद्ले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर राहदानी सेवा लिने क्रममा सेवाग्राहीलाई धार्मिक आस्थासँग जोडिएका प्रतीक हटाउन लगाइएको विषयलाई गम्भीर रूपमा लिन आग्रह गरेको हो । परिषद्का अनुसार पासपोर्टका लागि तस्बिर खिचाउने क्रममा कर्मचारीले निधारको टीका पुछ्न, महिलालाई सिन्दूर हटाउन र कपालको प्राकृतिक रङ परिवर्तन गर्न भनेको विषय सार्वजनिक भएको छ । परिषद्ले यस्तो व्यवहारलाई नागरिकको धार्मिक स्वतन्त्रता, सांस्कृतिक पहिचान र व्यक्तिगत सम्मानमाथिको सम्भावित हस्तक्षेपका रूपमा व्याख्या गरेको छ ।
राहदानीजस्तो आधारभूत सरकारी सेवा प्राप्त गर्नकै लागि कसैलाई आफ्नो धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएका प्रतीक त्याग्न बाध्य पारिनु स्वीकार्य नहुने उसको ठहर छ । नेपालको संविधानले नागरिकलाई धर्म, संस्कृति र परम्पराको संरक्षण तथा अभ्यास गर्ने मौलिक हक सुनिश्चित गरेको स्मरण गराउँदै परिषद्ले राज्यका निकाय र जिम्मेवार पदाधिकारीले त्यसको सम्मान गर्नुपर्ने जनाएको छ । सरकारी सेवा प्रवाहका क्रममा कानुनी आवश्यकता र प्रशासनिक प्रक्रियाको नाममा धार्मिक तथा सांस्कृतिक पहिचानमाथि विभेदपूर्ण व्यवहार गर्न नहुने परिषद्को भनाइ छ ।
परिषद्ले घटनाको तत्काल निष्पक्ष छानबिन गरी सार्वजनिक रूपमा सत्यतथ्य बाहिर ल्याउन प्रशासनसमक्ष माग गरेको छ । छानबिनबाट त्यस्तो कार्य भएको पुष्टि भए संलग्न कर्मचारी तथा जिम्मेवार पदाधिकारीको पहिचान गरी प्रचलित कानुन र सेवासम्बन्धी आचारसंहिताअनुसार कारबाही गर्न पनि आग्रह गरेको छ । त्यस्तै, राहदानीका लागि खिचिने तस्बिरसम्बन्धी आधिकारिक मापदण्ड र कानुनी व्यवस्था स्पष्ट रूपमा सार्वजनिक गर्न परिषद्ले माग गरेको छ ।
धार्मिक तथा सांस्कृतिक प्रतीक हटाउनुपर्ने कुनै अनिवार्य प्रावधान भए त्यसको कानुनी आधार र लिखित निर्देशनसमेत उपलब्ध गराउनुपर्ने उसको माग छ । भविष्यमा धार्मिक तथा सांस्कृतिक पहिचानकै कारण कुनै पनि नागरिकले अपमान वा विभेद भोग्न नपरोस् भन्नका लागि सम्बन्धित कर्मचारीलाई स्पष्ट निर्देशन दिनुपर्ने परिषद्ले जनाएको छ ।
विश्व हिन्दु परिषद् नेपालका महानगर अध्यक्ष ज्योति रुद्रटाले हस्ताक्षर गरेको पत्रमा जिल्ला प्रशासन कार्यालय पर्साले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै आवश्यक सुधारात्मक कदम चाल्नसमेत आग्रह गरिएको छ ।

























प्रतिक्रिया दिनुहोस् !