वीरगंज (पर्सा), ४ मंसिर । वीरगंज महानगरपालिका–२७ कुहँडीमा सामान्य विवादपछि दलित समुदायका स्थानीय बासिन्दामाथि लक्षित दुर्व्यवहार र आक्रमणको प्रयास भएको आरोप सार्वजनिक भएको छ । एक समूहले दलित समुदायका व्यक्तिहरूलाई पटक–पटक निशाना बनाउँदै घर तोडफोड गर्ने, खानेपानीको बोरिङको पाइप काटिदिने तथा सार्वजनिक स्थलमै गालीगलौज गर्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।
घटनापछि दलित बस्तीका बासिन्दा त्रासमा जीवन बिताउन बाध्य भएका छन् । छठ पर्वको अन्तिम दिन गत सोमबार भएको सामान्य विवादले उग्र रूप लिएपछि दुई समुदायबीच तनाव बढेको स्थानीयको भनाइ छ । त्यसयता एक समूहले दलित समुदायका परिवारलाई लक्षित गरी धम्की, दुर्व्यवहार र भौतिक क्षति पुर्याउने गतिविधि गर्दै आएको उनीहरूको आरोप छ । स्थानीय शेरबहादुर पासवानका अनुसार कुहँडीमा दलित समुदायको बस्ती तुलनात्मक रूपमा सानो र अर्को समुदायको जनसंख्या बढी छ ।
यही बहुसंख्यकको आडमा दलित समुदायमाथि दबाब सिर्जना गर्ने, घरमा तोडफोड गर्ने र खानेपानीका लागि प्रयोग हुँदै आएको बोरिङको पाइप काटिदिने जस्ता गतिविधि भइरहेको उनले बताए । यस्ता घटनाले स्थानीयको सामान्य जनजीवनसमेत प्रभावित बनेको उनको भनाइ छ । त्यस्तै, विवादपछि उत्पन्न परिस्थितिले दलित परिवारहरूलाई आफ्नै गाउँमा असुरक्षित बनाएको रमेशर हजारले बताए । घरबाहिर निस्कँदा समेत असुरक्षित महसुस गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले घटनाले गाउँको सामाजिक सद्भावमा समेत गम्भीर असर पार्न सक्ने चिन्ता व्यक्त गरे ।
स्थानीयले सामान्य विवादको आडमा कुनै समुदायलाई सामूहिक रूपमा त्रसित बनाउने र दैनिक जीवनयापनमै अवरोध पुर्याउने गतिविधि स्वीकार्य हुन नसक्ने बताएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी संलग्नमाथि कानुनी कारबाही गर्न, पीडित परिवारको सुरक्षा सुनिश्चित गर्न र गाउँमा शान्ति तथा सामाजिक सद्भाव कायम गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् ।
जातीय आधारमा हुने विभेद, अपमान, धम्की तथा हिंसाजन्य गतिविधि कानुनविपरीत हुने भएकाले घटनालाई सामान्य झैझगडाका रूपमा मात्र नलिई गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्ने स्थानीयको जोड छ ।


























प्रतिक्रिया दिनुहोस् !