वीरगंज (पर्सा), २४ असोज / हिजोसम्म चलेको पार्टी प्रवेशको लहर उम्मेदवारीको दिन बिद्रोहको रुपमा परिणत भएको छ । कतिपय स्थानीय नेताहरु ‘आयाराम, गयाराम’ बनेका छन् । आसन्न चुनावको मुखमा टिकटको लागि दल परिवर्तन गरेका कतिपय नेताहरु गठबन्धनका कारण टिकट नपाएपछि बिच्चलीमा परेका छन् ।
तीन दशक नेपाली कांग्रेसमा बिताएका अजय द्धिवेदीले पार्टीको निर्णयको बिद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । पञ्चायती व्यववस्था कालदेखि नेबिसंघ र त्यसपछि नेपाली कांग्रेसमा लागेका द्धिवेदी उम्मेदवारी दर्ता गराउन आउँदा उनको अनुहारमा बिद्रोह र आँखामा पटक पटक आश्रु बगेको दृष्य देखिएको थियो ।
संविधानसभा सदस्य समेत रहेका द्विवेदीले पर्साको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । तपाइको तीस बर्षको लगानी र आजको स्वतन्त्र उम्मेदवारीबारे प्रश्न गर्दा उनीले आफुलाई रोक्न सकेनन ,‘आश्रु पुछ्दै भने पार्टीले म सँग बिभेद गरेको कारण आजको यो मेरो स्वतन्त्र उम्मेदवारी हो । पार्टीले मेरो कामको मूल्याँकन नै नगरि गठबन्धनको नाममा आफूहरुमाथि अन्याय गरेको उनको भनाई छ ।
गलत राजनीतिको शिकार बनेका यहाँका जनताहरुको हकहितको लागि आफू स्वतन्त्र भएर चुनावमा होमिएको उनको भनाई छ । आफूले गरेको विकासलाई मूल्याँकन गर्दै जनताले आफूसँग न्याय गर्ने विश्वास व्यक्त गर्दै जनताको आग्रहबाट नै राजनीतिक दललाई त्यागी स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
नेपाली राजनीतिमा जुन तरिकाले सता गठबन्धन यो राजनीतिलाई नै गठबन्धनले बन्धक बनाउने उनको भनाई छ । आम जनताले चुन्न पाइने अधिकारलाई बन्धक बनाउने गठबन्धन ‘ठगबन्धन’ रहेको बताए । जनतालाई जबरजस्ती यसैलाई भोट देउ भनेर बाध्य बनाउनु लोकतन्त्रको सिद्धान्त रहेको उनको भनाई छ ।
टिकट पाउने सर्तमा लोसपा परित्याग गरेर एमालेमा प्रवेश गरेका प्रेदश सांसद प्रहलाद गिरी एमाले र जसपाको गठबन्धन पछि बिचलीमा परेका छन् । पर्सा क्षेत्र नम्बर ३ को ‘ख’ जसपाको भागमा परेपछि प्रहालद गिरी विगत २४ घण्टामा तीनवटा दल परिवर्तन गरेको हल्ला चलेको छ । पुनः लोसपामा फिर्ता त्यसमा पनि टिकट गठबन्धनको भागबण्डा नपरेपछि उनी मित्रवत रुपमा नेकपा एसबाट उम्मेदवार बनेका छन् ।
ठुला राष्ट्रिय दल भन्दा पनि मधेसी दलमा बिद्रोहको ठुलो चक्रबाद देखिएको छ । एमालेसंग भएको गठबन्धनलाई स्थानीय दोश्रो तहका नेता तथा कार्यकताहरु ‘ठगबन्धन’ को संज्ञा दिएका छन् । दुइ दशक देखि उपेन्द्र यादवको पार्टीको झण्डा लिएर हरेक निर्वाचनमा होमिएका युवा नेता मुकेश द्विवेदीले नाताबाद कृपाबादमा नेतृत्व लागेकोले आफु स्वतन्त्र उम्मेदवार बनेको बताउँछन् ।
उम्मेदवारी दिने सबै बागी उम्मेदवारहरु बालेन अभिनयमा उम्मेदवारी स्थलमा पुगेका थिए । पर्साका जिल्ला समन्वय समिति कार्यालय परिसरमा राखिएको पर्सा क्षेत्र नम्बर १ र २ को निर्वाचन कार्यालयमा पुगेका सबै बिद्रोही उम्मेदवारहरु राष्ट्रिय झण्डा ओढेरै उम्मेदवारी दर्ता गराएका छन् । सिद्धान्त र मुद्दाबीहिन दलहरु भएको चुनावी गठबन्धन र तालमेलका कारण टिकटबाट बञ्चित भएका मधेसी दलका दर्जनौ कार्यकर्ताहरु पार्टी निर्णयको बिद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या पर्सामा सबै भन्दा बढी जसपामा देखिएको छ । त्यसमा पनि दलबाट विद्रोह गरि स्वतन्त्र उम्ममेदवारी दिनेहरुमा प्रतिनिधिसभा सदस्य भन्दा पनि प्रदेशसभा सदस्य पदका उम्मेदवार बढि छन् । पर्साको निर्वाचन चारै क्षेत्रमा उम्मेदवारी दिनेहरु मध्ये आधाभन्दा बढी संख्या स्वतन्त्र उम्मेदवारको रहेको छ । क्षेत्र १ र २ मा प्रदेशसभा सदस्यका लागि दलबाट विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका ७ जना मध्ये ६ जना मधेसी दलकै छन् ।
पार्टीबाट टिकट नपाएपछि जसपाबाट केन्द्रिय सदस्यद्वय करिमा बेगम र जन्नत अन्सारी, युवा नेता मुकेश द्विवेदी, महानगरपालिकाका मेयर राजेशमान सिहका भतिजा रुपेशमान सिंह, लोसपाका केन्दिय सदस्य शशीकपुर मियाँ, लोसपाकै वीरगन्ज महानगर अध्यक्ष ओम प्रकाश सर्राफले प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यस्तै नेपाली काँग्रेसबाट टिकट नपाएका युवा नेता सुधिर पटेलले पनि प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
यसैगरि पर्सा क्षेत्र नम्बर ४ को (क) बाट नेकपा माओवादीका बिरेन्द्र यादव र (ख) बाट एमालेका पन्नालाल गुुप्ताले उम्मेदवारी दिएका छन् । बिरेन्द्र यादव केहि हप्ता अगाडि मात्र प्रदेशसभा सदस्यमा टिकट पाउने शर्तमा नेकपा माओवादी एकिकृतमा प्रवेश गरेका थिए ।
जसपाले पर्सा क्षेत्र नम्बर ३ को (ख) बाट निलम्बित सांसद एवम पार्टीका केन्द्रिय सदस्य हरिनारायण रौनियारको छारी डा. मधु गुप्तालाई उम्मेदवार बनाएको छ । सुरुदेखि केन्द्रिय सदस्य रौनियार पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभाको टिकट छारीलाई दिलाउन लागि परेका थिए । प्रतिनिधि सभाको सिट एमालेको भागबण्डामा परेपछि गुप्तालाई प्रदेश सभामा टिकट दिएपछि जसपामा त्यहाँ पनि बिद्रोह सुरु भएको छ ।
सूरु देखि प्रदेश सभाका उम्मेदवार रहेका गौरीशंकर साह पार्टी निर्णयको बिरोध गर्दै नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले नै पैसामा टिकट बिक्री गरेको आरोप लागाउदै भने, ‘अन्तिम समयसम्म मलाई टिकट दिइने निर्णय भएको थियो, उम्मेदवारीको लागि गाउँको घरमा समर्थकहरुको भिड नै जम्मा भयो तर अन्तिम समयमा लाखौमा टिकट बिक्री भएपछि के गरु ? अरु दलबाट उम्मेदवार बनेको छु’ ।
प्रतिक्रिया दिनुहोस् !