वीरगंज (पर्सा), ३१ असोज । लामो समयदेखि चर्चामा रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको ८.०५४ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी निर्माणका लागि बोलपत्र आह्वान गरेको हो ।
त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगञ्जको प्रमुख सडक सुधारका लागि पहिलो चरणमा मितेरी पुलदेखि घण्टाघरसम्म र दोस्रो चरणमा घण्टाघरदेखि गण्डक चोकसम्मको सडक स्तरोन्नति गर्ने योजना अघि सारिएको छ । दुवै खण्डको ठेक्का प्रक्रिया सुरु भएसँगै लामो समयदेखि प्रतीक्षामा रहेको सडक सुधारको काम अघि बढ्ने अपेक्षा गरिएको छ ।
सडक डिभिजन कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार पहिलो खण्डमा मितेरी पुलदेखि घण्टाघरसम्मको शून्यदेखि चार किलोमिटर सडक समेटिएको छ । यस खण्डका लागि ठेक्का नम्बर TRP/RDHTD/33701130/083/84-26 निर्धारण गरिएको छ । यसको बोलपत्र जमानत रकम ६ करोड रुपैयाँ तोकिएको छ भने बोलपत्र दस्तुर २० हजार रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी, दोस्रो खण्डमा घण्टाघरदेखि गण्डक चोकसम्मको चार किलोमिटरदेखि ८.०५४ किलोमिटरसम्मको सडक निर्माण तथा स्तरोन्नति गरिनेछ । यसका लागि TRP/RDHTD/33701130/083/84-27 नम्बरको ठेक्का आह्वान गरिएको छ । दोस्रो खण्डको बोलपत्र जमानत रकम पाँच करोड ५० लाख रुपैयाँ र दस्तुर २० हजार रुपैयाँ निर्धारण गरिएको छ । दुवै खण्डका लागि मात्रै बोलपत्र जमानतबापत कुल ११ करोड ५० लाख रुपैयाँ आवश्यक पर्नेछ । तर, सडक विस्तार तथा स्तरोन्नति आयोजनाको कुल अनुमानित लागत भने प्रकाशित सूचनामा उल्लेख गरिएको छैन ।
इच्छुक तथा योग्य निर्माण व्यवसायीले २०८३ कात्तिक २० गते दिउँसो १२ बजेसम्म बोलपत्र पेस गर्न सक्नेछन् । सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ । यसअघि कात्तिक ९ गते बिहान ११ बजे बोलपत्रपूर्व बैठक आयोजना गर्ने समय निर्धारण गरिएको छ ।
वीरगंजको प्रमुख व्यापारिक तथा यातायात मार्गका रूपमा रहेको मेनरोड साँघुरो सडक, बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापनका कारण महत्वपूर्ण पूर्वाधारका रूपमा रहँदै आएको छ । सडक विस्तार तथा स्तरोन्नतिको काम सम्पन्न भए सवारी आवागमन सहज बनाउनुका साथै यातायात व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ ।
यद्यपि, बोलपत्र आह्वान हुनु निर्माण सम्पन्न हुने सुनिश्चितता होइन । अब निर्माण व्यवसायी छनोट, ठेक्का सम्झौता र कार्यादेश जारी गर्ने प्रक्रिया कति छिटो अघि बढ्छ भन्नेले आयोजनाको वास्तविक गति निर्धारण गर्नेछ । ठेक्का प्रक्रिया सुरु भए पनि निर्माण कार्य कहिलेदेखि मैदानमा देखिन्छ भन्ने विषयमा वीरगंजवासीको चासो कायम छ ।


























प्रतिक्रिया दिनुहोस् !