काठमाडौँ, ३१ असोज । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मौज्दात व्यवस्थापनसँगै थप आपूर्तिको तयारी गरेको छ । कम्पनीसँग हाल करिब २२ हजार क्विन्टल चिनी मौज्दात रहेको छ भने माग बढेमा थप चिनी आयात गरिने जनाएको छ ।
कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार सरकारले उपलब्ध गराउने २५ हजार क्विन्टल चिनीमध्ये १० हजार क्विन्टल प्राप्त भइसकेको छ । बाँकी १५ हजार क्विन्टल पनि बजारको मागअनुसार ल्याउने तयारी भइरहेको छ । चाडपर्वका बेला उपभोग बढ्ने भएकाले आपूर्ति प्रभावित हुन नदिन कम्पनीले मौज्दात र वितरण व्यवस्थालाई प्राथमिकता दिएको हो ।
कम्पनीले हाल सरकारी चिनी काठमाडौं उपत्यकामा प्रतिकिलो १०९ रुपैयाँ र उपत्यकाबाहिर ११० रुपैयाँमा बिक्री गर्दै आएको छ । उपभोक्ताले सहज रूपमा चिनी प्राप्त गर्न सकून् भन्ने उद्देश्यले खुद्रा पसल, डिलर, सहकारी तथा साझेदार संस्थामार्फत बिक्री वितरणको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
यसैबीच, कम्पनीले गत साउन २८ गतेदेखि देशका ४४ जिल्लाका १९३ स्थानमा सहुलियत पसल सञ्चालन गरिरहेको छ । ती पसलबाट विभिन्न खाद्यवस्तुमा छुट उपलब्ध गराइँदै आए पनि चिनीमा दिइँदै आएको छुट भने हाललाई बन्द गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिएका छन् ।
चाडपर्व नजिकिँदै गर्दा चिनीको माग बढ्ने सम्भावनालाई ध्यानमा राखेर कम्पनीले थप आपूर्तिको विकल्प खुला राखेको छ । आवश्यकताअनुसार थप चिनी ल्याएर बजारमा उपलब्ध गराइने कम्पनीको भनाइ छ । मौज्दात व्यवस्थापन र वितरण प्रणालीलाई प्रभावकारी बनाउन सके चाडपर्वमा उपभोक्ताले चिनीको अभाव झेल्नुपर्ने अवस्था रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

























प्रतिक्रिया दिनुहोस् !