काठमाडौँ, ३१ असोज । दसैँ, तिहार र छठलाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले होटल, रेस्टुरेन्ट, मिठाइ पसल तथा भोजनालयलाई खाद्य स्वच्छता र गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिएको छ । विशेषगरी राजमार्गमा यात्रुलाई खाना, खाजा र नास्ता बिक्री गर्ने व्यवसायीलाई लक्षित गर्दै विभागले बासी, सडेगलेका तथा अस्वच्छ अवस्थामा तयार पारिएका खाद्य पदार्थ बिक्री नगर्न चेतावनी दिएको हो ।
विभागले बिहीबार सूचना जारी गर्दै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य पदार्थको बिक्री वितरण रोक्न व्यवसायीलाई सचेत गराएको छ । चाडपर्वका बेला यात्रुको चाप र खाद्य पदार्थको खपत बढ्ने भएकाले होटल तथा भोजनालयमा स्वच्छता कायम गर्नुपर्नेमा विभागले जोड दिएको छ ।
निर्देशनअनुसार व्यवसायीले उपभोग्य अवधि बाँकी रहेका खाद्य पदार्थ मात्रै बिक्री गर्नुपर्नेछ । पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्ने, खाद्य पदार्थलाई सुरक्षित तापक्रममा भण्डारण गर्ने तथा भान्सा, खाना वितरण गर्ने स्थान र व्यवसाय परिसर सफा राख्नुपर्नेछ । साथै, कामदारको व्यक्तिगत सरसफाइमा ध्यान दिनुका साथै स्वच्छ पानी र सफा भाँडाकुँडा प्रयोग गर्न पनि विभागले भनेको छ ।
खाद्य पदार्थ तयार गर्दा गुणस्तरीय कच्चा सामग्री प्रयोग गर्न र खाना राम्ररी पकाएर मात्रै उपभोक्तालाई उपलब्ध गराउन विभागले निर्देशन दिएको छ । झिँगा भन्केका, धुलो तथा फोहोर पानीको सम्पर्कमा आएका वा अस्वच्छ अवस्थामा तयार गरिएका खाद्य पदार्थ बिक्री गर्न पाइने छैन । बिक्रीस्थलमा खाद्य पदार्थको प्रकृतिअनुसार चिसो वा तातो तापक्रम कायम गर्न तथा उचित मूल्यमा बिक्री वितरण गर्नसमेत व्यवसायीलाई सचेत गराइएको छ ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का प्रावधान पालना गर्न आग्रह गर्दै निर्देशन उल्लङ्घन गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ । यससँगै विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताका आधारमा व्यवसायको स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।
चाडपर्वको समयमा यात्रु तथा उपभोक्ताको चाप बढ्दा खाद्य पदार्थको स्वच्छतामा लापरबाही हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै विभागले व्यवसायीलाई जिम्मेवार बन्न सचेत गराएको हो । खाद्य पदार्थको गुणस्तर र सरसफाइमा लापरबाही भए उपभोक्ताको स्वास्थ्य जोखिममा पर्ने भएकाले निर्धारित मापदण्ड पालना गर्नु व्यवसायीको दायित्व हुने विभागको निर्देशनले स्पष्ट पारेको छ ।

























प्रतिक्रिया दिनुहोस् !