रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले सिर्जना गरेको त्रासदीबीच दस दिनसम्म अँध्यारो सुरुङभित्र जीवनसँग संघर्ष गरेर सञ्जयकुमार साह र कवीर महर्जन जीवितै बाहिर निस्किनु केवल एउटा उद्धारको सफलता होइन, निराशाको बीचमा पलाएको आशाको असाधारण कथा हो । बाढीपछि आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारका लागि यो घटनाले एउटा गहिरो सन्देश दिएको छ ‘सम्पर्कविहीन हुनुको अर्थ जीवन समाप्त हुनु होइन । खोजी र उद्धारको प्रयास अन्तिम क्षणसम्म जारी राख्नुपर्छ’ ।
भदौ १० गते भोटेकोशीमा बाढी आउँदा माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका सञ्जय र कवीरको परिवारले दस दिनसम्म जुन मानसिक पीडा भोग्यो, त्यसको कल्पना गर्नपनि कठिन छ । फोनमा सम्पर्क नहुने, आफन्तको कुनै खबर नआउने, बाढीले पुर्याएको विनाशका समाचार लगातार आइरहने र दिन बित्दै जाँदा आशा कमजोर हुँदै जाने यस्तो अवस्थामा परिवारका लागि प्रत्येक घण्टा वर्षजस्तै हुन्छ । तर, त्यही निराशाबीच आएको एउटा खबरले सबै कुरा बदलिदियो ‘सञ्जय र कवीर जीवितै भेटिए ।’
यो खबर दुई परिवारका लागि मात्र खुसीको विषय होइन । भोटेकोशी बाढीपछि आफ्ना आफन्त अझै सम्पर्कविहीन रहेका सयौँ परिवारका लागि पनि यो खबरले आशाको ढोका खोलेको छ । सञ्जयकी बहिनीले भनेजस्तै, ‘मेरो दाइ सुरुङभित्र सुरक्षित भेटिएजस्तै अरू सम्पर्कविहीनहरू पनि सुरक्षित भेटिऊन्’ भन्ने कामना अहिले धेरै परिवारको साझा आवाज बनेको छ । तर सञ्जयको उद्धार कथा भावुक मात्र छैन, ‘कर्तव्य र साहसको कठोर उदाहरण पनि हो ।’ आफू कन्ट्रोल रुममा जिम्मेवार भूमिकामा रहेका बेला अरू कर्मचारीलाई सुरक्षित बाहिर निकाल्न प्राथमिकता दिँदा उनी आफैं सुरुङभित्र फसे । आफ्नो ज्यान जोगाउन एक्लै भाग्नुभन्दा अरूको जीवन बचाउन खोज्नु उनको कर्तव्य थियो । अन्ततः त्यही कर्तव्य निर्वाह गर्दागर्दै उनी दस दिनसम्म अँध्यारो सुरुङमा जीवन र मृत्युबीच संघर्ष गर्न बाध्य भए ।
यस्तो घटना उद्धारमा खटिने राज्यका संयन्त्रका लागि पनि एउटा महत्वपूर्ण पाठ हो । विपद्का बेला नेतृत्व भनेको आदेश दिने ठाउँमा बस्नु मात्र होइन, ‘मानिसको जीवनलाई पहिलो प्राथमिकतामा राखेर जोखिम मोलेर काम गर्नु हो ।’ सञ्जयको निर्णयले यही मानवीय मूल्यलाई उजागर गरेको छ । दस दिनसम्म सुरुङभित्र पानी, अँध्यारो, सीमित स्रोत र अनिश्चित भविष्यका बीच बाँचेका सञ्जयले भगवान्को महामन्त्र जपेर समय बिताएको बताएका छन् । विज्ञान र प्रविधिको आफ्नै सीमा होला, तर विपद्का बेला मानिसलाई जीवित राख्ने सबैभन्दा ठूलो शक्ति ‘आशा, धैर्य र बाँच्ने इच्छाशक्ति’ पनि हो भन्ने उनको अनुभवले देखाएको छ ।
तर यहाँबाट अर्को गम्भीर प्रश्न पनि उठ्छ । सञ्जय र कवीर जीवित भेटिएपछि के उद्धार अभियान सफल भयो भनेर ढुक्क हुने अवस्था छ ? पक्कै छैन । सञ्जयले नै सुरुङभित्र अझै धेरै मानिस हुन सक्ने संकेत दिएका छन् । बाढी आउनुअघि आयोजनाको क्षेत्रमा ४० देखि ४५ जनासम्म मानिस रहेको हुन सक्ने र लामो सुरुङ तथा पावरहाउसतर्फ पनि मानिस फसेको हुन सक्ने उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले समेत विद्युतगृह क्षेत्रमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरेको छ । यसले उद्धार अभियानको वास्तविक चुनौती अझै बाँकी रहेको स्पष्ट पार्छ ।
त्यसैले अब राज्यले ‘दुई जना भेटिए, ठूलो सफलता भयो’ भनेर अभियानलाई सामान्य प्रक्रियामा सीमित गर्नु हुँदैन । सुरुङभित्र रहेका सम्भावित प्रत्येक जीवनको खोजी हुनुपर्छ । एउटा पनि व्यक्ति जीवित हुनसक्ने सम्भावना रहेसम्म खोजी रोकिनु हुँदैन । उद्धारमा प्रविधि, विशेषज्ञ जनशक्ति, उपकरण र आवश्यक स्रोतसाधनको कुनै कमी हुन दिनु हुँदैन । विपद् व्यवस्थापनमा हाम्रो सबैभन्दा ठूलो कमजोरी नै विपद् आउनुअघि पर्याप्त तयारी नगर्नु र विपद् आएपछि हतारमा संयन्त्र परिचालन गर्नु हो । भोटेकोशी बाढीले यस कमजोरीलाई फेरि उजागर गरेको छ । जलविद्युत् आयोजना, सुरुङ, नदी किनारका बस्ती तथा जोखिमपूर्ण संरचनामा काम गर्ने मानिसको सुरक्षा व्यवस्थाबारे अब गम्भीर पुनरावलोकन आवश्यक छ ।
सुरुङभित्र फसेका मानिसको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विज्ञ तथा आयोजनाका प्राविधिक टोली निरन्तर खटिनु सकारात्मक पक्ष हो । तर यस्ता अभियानलाई केवल तत्कालीन उद्धारमा सीमित नराखी भविष्यमा यस्ता विपद् दोहोरिँदा कमभन्दा कम मानवीय क्षति हुने गरी स्थायी सुरक्षा प्रणाली विकास गर्नुपर्छ । सञ्जय र कवीरको जीवित उद्धारले एउटा कठोर सत्य पनि सम्झाएको छ विपद्मा हराएको मानिसलाई चाँडै ‘हरायो’ भनेर निष्कर्षमा पुग्नु हुँदैन । दस दिनसम्म सम्पर्कविहीन रहेका दुई व्यक्ति जीवित भेटिन सक्छन् भने अझै सम्पर्कविहीन रहेका अन्य नागरिकबारे आशा त्याग्ने समय आएको छैन ।
अझैपनि कैयौँ परिवार आफ्ना प्रियजनको खबर पर्खिरहेका छन् । उनीहरूका लागि सरकारको हरेक सूचना, उद्धार टोलीको हरेक गतिविधि र हरेक हेलिकप्टरको आवाजमा आशा जोडिएको छ । उनीहरूको पीडा केवल पारिवारिक विषय होइन, राज्यको मानवीय उत्तरदायित्वको परीक्षा पनि हो । सञ्जय र कवीरको उद्धारले हामीलाई खुसी दिएको छ, तर यस खुसीसँगै जिम्मेवारी पनि थपिएको छ । अब बाँकी सुरुङ, बस्ती, नदी किनार, पहिरोले पुरिएका क्षेत्र र सम्पर्कविहीन नागरिकको खोजी अझ तीव्र हुनुपर्छ । सञ्जय र कवीरले दस दिनसम्म अँध्यारोमा बाँचेर फर्किएकोले आशा त्याग्नु हुँदैन सन्देश पनि दिएको छ । उनीहरूको जीवित उद्धार केवल दुई जीवनको पुनरागमन होइन, यो अझै आफन्तको प्रतीक्षामा रहेका परिवारलाई राज्यले दिएको एउटा महत्वपूर्ण आश्वासन हो । खोजी जारी छ, त्यसैले आशा पनि जीवित छ ।







प्रतिक्रिया दिनुहोस् !