वीरगंज (पर्सा), २० भदौ । सात वर्षअघि आजकै दिन वीरगंजकी मुस्कान खातुनको जीवन एकाएक बदलियो । तेजाब आक्रमणले उनको अनुहारमा गहिरो चोट मात्र लगाएन, त्यसले उनको मन र भविष्यमा समेत लामो समयसम्म रहने पीडाको छाप छाड्यो । उपचार, शारीरिक यातना, सामाजिक व्यवहार र मानसिक संघर्षसँग जुध्दै बितेका यी सात वर्ष उनको जीवनका सबैभन्दा कठिन दिन बने । तर मुस्कान त्यही पीडामा रोकिइनन् । जुन घटनाले उनको जीवन भत्काउन खोजेको थियो, त्यसैलाई उनले आफ्नो शक्ति र साहसमा बदल्दै अघि बढिन् ।
भदौ २० गते, घटनाको सात वर्ष पूरा भएको दिन, मुस्कानले सामाजिक सञ्जाल फेसबुकमार्फत विगतको त्यो कालो दिन सम्झिँदै आफ्नो संघर्षपूर्ण यात्रा सार्वजनिक गरेकी छन् । उनले सात वर्षअघिको घटनालाई जीवनकै कहिल्यै नमेटिने पीडा र सम्झनाका रूपमा चित्रण गरेकी छन् । तर विगतको पीडालाई आफू कमजोर हुने कारण नबनाएको उनको भनाइ छ । कठिन परिस्थितिबाट आफूलाई सम्हाल्दै हिम्मतका साथ अगाडि बढ्ने प्रयास निरन्तर गरिरहेको उनले बताएकी छन् ।
एसिड आक्रमणपछि मुस्कानले भोगेको संघर्ष अनुहारमा परेको घाउमा मात्र सीमित रहेन । लामो उपचारसँगै उनले शारीरिक पीडा, समाजको दृष्टिकोण र मानसिक दबाबको समेत सामना गर्नुपर्यो । यही यात्राले उनलाई हिंसापछि पीडितले भोग्ने अदृश्य संघर्षबारे बोल्ने र त्यसविरुद्ध आवाज उठाउने साहससमेत दिएको छ ।
मुस्कानले जीवनमा आफूले चाहेका सबै कुरा वा सबै मानिस सधैँ साथमा नरहने बताउँदै केही घटना र पीडा जीवनकै हिस्साका रूपमा स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । उनका अनुसार पीडादायी अतीत भएपनि मानिसले आफ्नो जीवनलाई पुनः सुन्दर दिशातर्फ लैजान सक्छ, त्यसका लागि हिम्मत र आत्मविश्वास आवश्यक हुन्छ । सात वर्षपछि त्यही घटना सम्झिँदा आफू पहिलेभन्दा कमजोर नभई अझ बलियो बनेको महसुस हुने मुस्कानको भनाइ छ । उनको यात्राले एउटा गम्भीर सन्देश पनि दिएको छ ‘हिंसाले शरीरमा घाउ बनाउन सक्छ, तर त्यसले मानिसको भविष्य र आत्मबललाई पराजित गर्नैपर्छ भन्ने छैन ।’
मुस्कानका लागि सात वर्षअघिको घटना अझै सम्झनामा ताजा छ । तर उनी त्यस घटनाको पीडामा अड्किएकी छैनन् । बरु त्यसबाट माथि उठेर निरन्तर अगाडि बढिरहेको उनको अभिव्यक्तिले स्पष्ट पार्छ । ‘मेरो विगत मेरो पहिचान होइन, मेरो संघर्ष, मेरो साहस र मेरो यात्रा नै मेरो पहिचान हो’ भन्ने उनको सन्देश सात वर्षको पीडापछिको आत्मविश्वासको अभिव्यक्ति बनेको छ । एसिड आक्रमणबाट जीवनमा गहिरो चोट बोकेकी मुस्कान आज त्यही चोटलाई आफ्नो कमजोरी होइन, साहसको आधार बनाउँदै अघि बढिरहेकी छन् । उनको सात वर्षको यात्रा पीडाबाट शक्तितर्फको यात्रा बनेको छ ।







प्रतिक्रिया दिनुहोस् !