वीरगंज (पर्सा), २० कात्तिक । वीरगंज महानगरपालिका–१३ स्थित एसआर ग्यालेक्सी एकेडेमी प्लस टुको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा देउसी–भैलो तथा छठ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल शर्मानन्द कुशवाहाको सभापतित्व तथा मिसेज नेपाल वर्ल्डकी प्रथम रनरअप नेहा गुप्ताको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गुप्ताले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा उनले देउसी–भैलो तथा छठजस्ता नेपाली मौलिक पर्व र संस्कृतिको संरक्षणमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताए । यस्ता सांस्कृतिक कार्यक्रमले विभिन्न जातजाति, भाषा, धर्म, लिङ्ग तथा वर्गका मानिसलाई एकताबद्ध गर्दै आपसी सद्भाव र भाइचारा कायम गर्न सहयोग पुर्याउने उनको भनाइ थियो ।
कार्यक्रममा विद्यार्थीहरूले दीपावली तथा छठ पर्वसँग सम्बन्धित गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । उनीहरूको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र परम्पराप्रति आकर्षणसमेत देखाएका थिए ।
विद्यालयका प्रिन्सिपल कुशवाहाले विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउनुका साथै नेपाली मौलिक संस्कृति, चाडपर्व र परम्पराको महत्त्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । यस्ता गतिविधिले विद्यार्थीहरूमा सांस्कृतिक चेतना अभिवृद्धि गर्न तथा सामाजिक एकताको भावना विकास गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे
कार्यक्रममा विद्यालयकी सञ्चालिका रिता कुमारी कुशवाहा, पत्रकार दीपक गौतम, लेखापाल सुनिल महतोसहित शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा शर्मिला बानियाँले स्वागत मन्तव्य राखेकी थिइन् भने शिक्षक लालबाबुले कार्यक्रमको सहजीकरण गरेका थिए । विद्यालयले पठनपाठनसँगै विद्यार्थीको प्रतिभा, सिर्जनशीलता तथा सांस्कृतिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको जनाएको छ ।




























प्रतिक्रिया दिनुहोस् !