वीरगंज (पर्सा), २० कात्तिक । तिहार, छठलगायतका चाडपर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले कडा सुरक्षा तथा नियमन व्यवस्था लागू गर्न आग्रह गरेको छ । चाडपर्वको नाममा सार्वजनिक शान्ति खलल पार्ने, जुवातास खेल्ने, पटका पड्काउने, आतिशबाजी गर्ने तथा कालोबजारी गर्ने गतिविधिमा संलग्न भए प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनामार्फत चाडपर्व मनाउने क्रममा पालना गर्नुपर्ने नौ बुँदे निर्देशन जारी गरेको हो । प्रशासनले चाडपर्वलाई उल्लासमय बनाउने नाममा अरूको शान्ति, सुरक्षा र सार्वजनिक जीवनमा असर पर्ने कुनै पनि गतिविधि नगर्न सर्वसाधारणलाई सचेत गराएको छ ।
प्रशासनको निर्देशनअनुसार देउसी–भैलो, भैलोजस्ता परम्परागत सांस्कृतिक कार्यक्रम राति १ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । त्यस्ता कार्यक्रम गर्दा ध्वनि प्रदूषण, होहल्ला वा सार्वजनिक आवागमनमा अवरोध हुने गतिविधि नगर्न पनि आग्रह गरिएको छ ।
त्यस्तै, जनस्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै तिहार तथा छठमा पटका, भुइँचम्पा, आतिशबाजी लगायतका विस्फोटक तथा प्रज्वलनशील पदार्थको भण्डारण, बिक्रीवितरण, ओसारपसार र प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ । दीपावलीमा दियो तथा विद्युतीय उपकरणको प्रयोग गर्दा सर्टसर्किट र आगलागी हुन सक्ने जोखिमप्रति विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
चाडपर्वको अवसर पारेर जुवातास, कौडा, लङ्गुरबुर्जा खेल्ने तथा सट्टेबाजी गर्ने गैरकानुनी गतिविधिमा संलग्न नहुनसमेत चेतावनी दिइएको छ । यस्ता गतिविधिमा संलग्न पाइएमा कडा कानुनी कारबाही गरिने सूचनामा उल्लेख छ । सार्वजनिक स्थलमा मदिरा सेवन गरी होहल्ला गर्ने, झगडा गर्ने तथा सामाजिक सद्भाव र शान्ति खलल पार्ने कार्यलाई पनि पूर्ण रूपमा निषेध गरिएको छ ।
चाडपर्वमा उपभोग्य वस्तुको माग बढ्ने समयलाई अवसर बनाएर कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, सामान लुकाउने तथा कालोबजारी गर्ने व्यापारीमाथि समेत प्रशासनले निगरानी बढाउने जनाएको छ । यस्ता गतिविधि गर्ने व्यवसायीलाई कडा कारबाहीको दायरामा ल्याइने चेतावनी दिइएको छ ।
यातायात क्षेत्रमा पनि प्रशासनले कडाइ गर्ने संकेत दिएको छ । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्न, तोकिएको भन्दा बढी भाडा लिन तथा जोखिमपूर्ण यात्रा गराउन नपाइने स्पष्ट पारिएको छ ।
यसैगरी, शान्ति सुरक्षामा असर पार्ने कुनै शंकास्पद गतिविधि वा घटना देखिएमा तत्काल नजिकको प्रहरी इकाइ वा प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद चापागाईंले हस्ताक्षर गरेको सूचनामा जारी निर्देशनविपरीत कुनै गतिविधि गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट पारिएको छ ।
चाडपर्वको उल्लासलाई शान्ति, सुरक्षा र सामाजिक सद्भावसँग जोड्दै प्रशासनले नागरिकलाई जिम्मेवार र मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेको छ । प्रशासनको यो चेतावनीसँगै पर्सामा चाडपर्वका बेला हुने सम्भावित आपराधिक गतिविधि, बजारको अनियमितता र सार्वजनिक सुरक्षा व्यवस्थामाथि निगरानी बढाउनुपर्ने देखिएको छ । 




























प्रतिक्रिया दिनुहोस् !