राजबिराज (सप्तरी), ६ असार । नेपाल पत्रकार महासङ्घ सप्तरीका सदस्य, प्रेस स्वतन्त्रता सेनानी एवं गोरखापत्र सप्तरी समाचारदाता देवराम यादवमाथि आक्रमण भएको छ । बाटो सम्बन्धी समाचार लेखेपछि महादेवा गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवसहितको समूहले शनिबार बिहान पत्रकार यादवमाथि आक्रमण गरेको हो ।
महादेवा गाउँपालिकास्थित हुलाकी राजमार्ग अन्तर्गत खाँडो पुलमा कुरा गरिरहेको अवस्थामा सुरेन्द्र यादवसहितको टोलीले हेल्मेटले पत्रकार यादवलाई कुटपिट गरेको नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका कार्यवाहक सचिव डम्बर राईले बताए । महासंघले आफ्नो पेसागत जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारमाथि भएको कुटपिटको घटनाको भत्र्सना गर्दै यसलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमणको रूपमा लिँदै यस्ता आपराधिक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
विज्ञप्तिमा नागरिकको सुरक्षा, बाँच्न पाउने अधिकार तथा व्यक्तिगत स्वतन्त्रतामाथि धावा बोल्ने कार्यको कडा विरोध गरिएको छ । घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न महासङ्घले स्थानीय प्रशासन र नेपाल सरकारसँग माग गरेको छ । कुटपिटबाट घाइते भएका पत्रकार यादवको उपचारको उचित व्यवस्था मिलाउन सम्बन्धित निकायसँग महासङ्घले आग्रह गरेको छ । महासङ्घले दोषीलाई तत्काल पक्राउ गरी कारवाई अगाडि नबढाइए कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।









प्रतिक्रिया दिनुहोस् !