वीरगंज (पर्सा), ५ असार । त्रिभुवन राजपथ अन्तर्गत वीरगन्जको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र परेका तर हालसम्म नहटाइएका घर तथा भवनहरूमा आगामी आइतबारदेखि पुनः डोजर चलाइने भएको छ ।
सडक विभागले यसअघि वैशाख ६ र ७ गते पहिलो चरणमा मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकखण्डमा केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र रहेका संरचनाहरूमा डोजर चलाएर आंशिक रूपमा हटाएको थियो । त्यसपछि सम्बन्धित घरधनीलाई २५ दिनभित्र आफ्ना संरचना आफैं हटाउन आग्रह गरिएपनि अधिकांशले अटेर गरेपछि विभागले पुनः हटाउने प्रक्रिया अघि बढाएको हो ।
सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौँडाले शुक्रबार वीरगन्ज महानगरपालिकालाई पत्राचार गर्दै संरचना हटाउने कार्यमा आवश्यक समन्वय र सहयोग उपलब्ध गराउन अनुरोध गरेको छ । महानगरलाई पठाइएको पत्रमा त्रिभुवन राजपथको मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकखण्डमा सडक सीमाभित्र रहेका घर, टहरा तथा अन्य संरचना हटाउने कार्य सञ्चालन गरिने उल्लेख गर्दै आवश्यक सहजीकरणका लागि आग्रह गरिएको छ ।
यसअघि सडक डिभिजन कार्यालयले गत मंगलबार सार्वजनिक सूचना जारी गर्दै पाँच दिनभित्र सडक सीमाभित्रका संरचना स्वेच्छाले खाली गर्न आग्रह गरेको थियो । अन्यथा सडक ऐन, २०३१ अनुसार सडक सीमा संरक्षण अभियान अन्तर्गत विभाग आफैंले ती संरचना हटाउने चेतावनी दिएको थियो ।
पहिलो चरणको अभियानमा करिब एक हजार २०० घर तथा भवनमा डोजर चलाइएको थियो। त्यसयता केही घरधनीले आफ्ना संरचना आफैं भत्काए पनि घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मको मुख्य सडक क्षेत्रमा रहेका अधिकांश घर तथा भवन अझै यथावत् छन् । सडक विस्तार तथा सीमा संरक्षण अभियानलाई पूर्णता दिन बाँकी संरचनामाथि अब दोस्रो चरणको कारबाही सुरु हुन लागेको सडक विभागले जनाएको छ । 









प्रतिक्रिया दिनुहोस् !