वीरगंज (पर्सा), ३० चैत । वीरगंजमा सशस्त्र प्रहरी बलको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । सोमबार बिहान वीरगंज महानगरपालिका–२२ स्थित जगरनाथपुर चोकभन्दा करिब १०० मिटर अगाडि भएको उक्त दुर्घटनामा सशस्त्र प्रहरीको ना. १ झ १५३१ नम्बरको स्कार्पियोले प्रदेश २–००१–प १६२९ नम्बरको प्लाटिना मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक वीरगंज–३२ चोर्नी निवासी दिपेन्द्र श्रीवास्तव घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाका अनुसार घाइते श्रीवास्तवको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार ड्राइपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको हो । उनीहरूको दाबीअनुसार चिनी र तेल बोकेको मोटरसाइकललाई सशस्त्र प्रहरीको गाडीले विपरीत लेनमा आएर जानाजान मोड्दै ठक्कर दिएको आरोप छ ।
घटनापछि स्थानीयले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई खबर गरेपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) धिरेन्द्र थपलियाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । तर, स्थानीयले घटनाबारे जानकारी गराउँदा सई थपलियाले उल्टै थर्काएको आरोप समेत लगाएका छन् ।
यस विषयमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगर विदामा रहेका कारण सई थपलियासँग फोनमार्फत सम्पर्क गर्न खोजिएपनि सम्पर्क हुन सकेन ।









प्रतिक्रिया दिनुहोस् !