जलेश्वर (महोत्तरी), २७ असोज । बडादसैँ तथा दुर्गा पूजा शान्तिपूर्ण र सद्भावपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको समन्वयमा बसेको सरोकारवालाको बैठकले धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने गतिविधि नियन्त्रण गर्न सामाजिक सञ्जालमा चौबिसै घण्टा निगरानी राख्नेदेखि ध्वनि प्रणाली र मदिरा सेवनमा प्रतिबन्ध लगाउनेसम्मका निर्णय गरेको हो ।
महोत्तरीमा ४६ स्थानमा दुर्गा पूजा आयोजना हुने भएकाले पूजा, मेला, जुलुस तथा मूर्ति विसर्जनलाई सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले विशेष सतर्कता अपनाउने जनाएको छ । बैठकले फेसबुक, टिकटक, एक्स र युट्युबलगायत सामाजिक सञ्जालबाट धार्मिक तथा साम्प्रदायिक द्वेष फैलाउने, भ्रामक सामग्री पोस्ट वा सेयर गर्ने र उत्तेजक टिप्पणी गर्ने गतिविधिमाथि निगरानी बढाउने निर्णय गरेको छ । त्यस्ता गतिविधिमा संलग्न व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीको साइबर सेल र राष्ट्रिय अनुसन्धानमार्फत निगरानी गरिने तथा दोषीलाई कानुनअनुसार कारबाही गरिने जनाइएको छ ।
प्रशासनले धार्मिक सद्भावमा असर पुग्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न र सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना तथा अफवाहको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ । धार्मिक उत्सव, मेला, जुलुस तथा शोभायात्रामा चर्को आवाजमा डिजे बजाउन निरुत्साहित गरिने भएको छ । सामान्य ध्वनि प्रणाली सञ्चालन गर्न स्थानीय प्रशासन वा सम्बन्धित पालिकाबाट पूर्वस्वीकृति लिनुपर्ने र राति १० बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था कडाइका साथ लागू गरिनेछ । पटाका, भुइँचम्पालगायत विस्फोटक सामग्रीको बिक्री, ओसारपसार तथा प्रयोगमा समेत रोक लगाउने निर्णय गरिएको छ ।
धार्मिक तथा सांस्कृतिक जुलुस, र्याली, शोभायात्रा र मेला आयोजना गर्दा आयोजकले स्थानीय प्रशासनबाट पूर्वअनुमति लिनुपर्ने, रुट र समयतालिका स्पष्ट गर्नुपर्ने तथा कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गराउने जिम्मेवारी लिनुपर्नेछ । गाउँ तथा टोलमा उत्पन्न हुन सक्ने सामान्य विवाद स्थानीय स्तरमै समाधान गर्न वडा अध्यक्षको संयोजकत्वमा धर्मगुरु, पण्डित, मौलवी तथा सुरक्षा निकायका प्रतिनिधि सम्मिलित वडा स्तरीय शान्ति सद्भाव समन्वय समितिलाई सक्रिय बनाइने भएको छ । सम्भावित तनावको सूचना प्राप्त हुनासाथ परिचालन हुने गरी द्रुत प्रतिक्रिया टोलीलाई पनि चौबिसै घण्टा तयारी अवस्थामा राखिनेछ ।
दुर्गा पूजाको दशमीका दिन साँझ ६ बजेदेखि मूर्ति विसर्जन सम्पन्न नभएसम्म पूजा स्थल, मेला क्षेत्र र विसर्जन मार्ग आसपास मदिरा तथा लागुपदार्थको बिक्रीवितरण, ओसारपसार र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय बैठकले गरेको छ । मूर्ति विसर्जनका क्रममा हुन सक्ने भीडभाड, दुर्घटना तथा विवाद रोक्न पूजा व्यवस्थापन समिति र आयोजकले सुरक्षा निकायसँग समन्वय गर्दै निर्धारित रुट र समयतालिका पालना गर्नुपर्नेछ ।
प्रमुख जिल्ला अधिकारी यादवले महोत्तरी बहुसांस्कृतिक, बहुधार्मिक र आपसी भाइचाराको ऐतिहासिक संगमस्थल भएकाले यहाँको सामाजिक सद्भाव र सहिष्णुता जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन् । चाडपर्वका नाममा धार्मिक तथा साम्प्रदायिक तनाव उत्पन्न हुन नदिन सबै पक्ष संयमित, जिम्मेवार र संवेदनशील बन्नुपर्ने उनको भनाइ छ ।
कुनै व्यक्तिले धर्म, सम्प्रदाय वा समुदायको भावनामा चोट पुग्ने अभिव्यक्ति दिएमा वा कानुनविपरीत गतिविधि गरेमा त्यसलाई साम्प्रदायिक रूप दिनुभन्दा सम्बन्धित व्यक्तिको व्यक्तिगत कसुरका रूपमा लिएर कानुनी प्रक्रियामा ल्याउनुपर्नेमा उनले जोड दिएका छन् । प्रशासनले सबै धर्मका अगुवा तथा धर्मगुरुलाई शान्ति, सहिष्णुता र भाइचाराको सन्देश प्रवाह गर्न आग्रह गर्दै चाडपर्वका बेला कानुनको पालना गर्न र कुनै पनि अप्रिय घटना हुन नदिन सहयोग गर्न जिल्लावासीलाई अपिल गरेको छ ।





















प्रतिक्रिया दिनुहोस् !