वीरगंज (पर्सा), २६ चैत । समुदायमा देखिन सक्ने अनपेक्षित जनस्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी नियन्त्रण गर्ने उद्देश्यले वीरगंज महानगरपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गत जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा तथा पि.एच.आर.डि. नेपाल र युनिसेफको प्राविधिक तथा आर्थिक सहयोगमा वडा नं. ५ कुम्हालटोस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा अनपेक्षित जनस्वास्थ्य घटना तथा रोगका लक्षणहरू देखिँदा त्यसको समयमै सूचना प्रवाह गर्नु अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिइएको थियो । आमनागरिक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सामाजिक अगुवा तथा जनप्रतिनिधिहरूको सक्रिय भूमिका बिना यस्तो प्रणाली प्रभावकारी नहुने सहभागीहरुलाई जानकारी गराइएको थियो ।
सहभागीहरूलाई टोल तथा समाजमा कुनै असामान्य स्वास्थ्य समस्या वा रोगका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा फोन, एसएमएस वा प्रत्यक्ष जानकारी गराउन आग्रह गरिएको थियो । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा सञ्चालित निःशुल्क हटलाइन सेवा ‘हेल्लो स्वास्थ्य १११५’ मा समेत जानकारी दिन सकिने बताइएको छ ।
कार्यक्रमका प्रशिक्षक राजिव चौधरी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र कुम्हालटोल–५ का राज कुमार मन्डलले अनपेक्षित जनस्वास्थ्य घटना के हो, किन समयमै सूचना आवश्यक हुन्छ र कस्ता लक्षण देखिएमा खबर गर्नुपर्ने भन्ने विषयमा विस्तृत जानकारी दिएका थिए ।
उनीहरूले समुदाय स्तरमै रोगको प्रारम्भिक पहिचान र सूचना संकलनले महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सबैको सक्रिय सहभागितामा मात्र स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउन सकिने बताएका छन् ।








प्रतिक्रिया दिनुहोस् !