वीरगंज (पर्सा), २३ चैत । भारत–नेपाल सीमा क्षेत्रमा कार्यरत एक प्रहरी अधिकृतको संवेदनशील पहलले बिछोडिएको परिवारलाई दुई वर्षपछि पुनः एकताबद्ध गराएको छ । सशस्त्र सीमा बल (एसएसबी) का इन्स्पेक्टर मनोज कुमार शर्माको सक्रियताले हराएकी एक वृद्ध महिलालाई परिवारसम्म फर्काउन महत्वपूर्ण भूमिका खेलेको हो ।
०१ मे २०२४ को राति रक्सौलस्थित हाजमा टोल नजिक रेल्वे ट्रयाक छेउमा गस्तीका क्रममा इन्स्पेक्टर शर्माले झाडीमा लुकेर बसेकी एक असहाय तथा मानसिक रूपमा अस्वस्थ महिलालाई फेला पारेका थिए । राति करिब ११ः३५ बजे देखिएको उक्त अवस्थापछि उनले तत्काल उद्दारको पहल गर्दै आफ्नो टोलीलाई परिचालन गरेका थिए ।
मानव तस्करीविरुद्धको इकाइको नेतृत्व गरिरहेका शर्माले ती महिलालाई सुरक्षित रूपमा उद्दार गरी रक्सौलको माहेर ममता निवासमा आश्रयको व्यवस्था मिलाए । त्यसपछि उनको निरन्तर उपचार डंकन अस्पतालमा गराइएको थियो । उपचार र हेरचाहपछि स्वास्थ्यमा उल्लेखनीय सुधार आएसँगै महिलाको स्मरणशक्ति पनि क्रमशः फर्किन थालेको थियो ।
स्मरणशक्ति फर्किएपछि उनले आफ्नो घर क्षेत्र र नजिकको प्रहरी थानाबारे जानकारी दिएकी थिइन् । त्यस आधारमा सम्बन्धित निकायमार्फत परिवारसँग सम्पर्क स्थापित गर्न सफल भएको थियो । परिवारका अनुसार ती महिला अप्रिल २०२४ मा खेतबाट घर फर्कने क्रममा हराएकी थिइन् र लामो समयसम्म खोजी गर्दा पनि कुनै सुराक नपाउँदा परिवार निराश बनेको थियो ।
अन्ततः ०५ अप्रिल २०२६ मा हरैया थाना प्रमुख किशन पासवानको उपस्थितिमा महिलालाई उनका दाजु जयपाल गोंडलाई औपचारिक रूपमा जिम्मा लगाइएको थियो । त्यसपछि उनी मध्यप्रदेशको अनूपपुर जिल्लास्थित आफ्नो घर फर्किएकी छन् ।
झण्डै दुई वर्षपछि आमालाई सकुशल भेट्दा परिवारका सदस्य भावुक बनेका थिए । उनीहरूले उद्दारमा संलग्न सम्पूर्ण टोलीप्रति कृतज्ञता व्यक्त गरेका छन् । यस कार्यमा इन्स्पेक्टर मनोज कुमार शर्मा, उपनिरीक्षक अनिल कुमार शर्मा, कन्स्टेबलहरू जितेन्द्र, टिनु कुमारी, पिंकी कुमारी तथा आश्रयस्थलका बीरेन्द्र कुमारलगायतको सक्रिय योगदान रहेको थियो ।
यो घटना केवल एक उद्धार अभियान मात्र नभई कर्तव्यनिष्ठा, मानवीय संवेदना र सेवाभावको प्रेरणादायी उदाहरणका रूपमा स्थापित भएको छ ।







प्रतिक्रिया दिनुहोस् !