वीरगंज (पर्सा), १७ चैत । मधेश प्रदेशका सीमा नाकाहरू पछिल्ला समय तीव्र रूपमा तस्करीको केन्द्र बन्दै गएका छन् । सूचना संकलनको नाममा सादा पोसाकमा खटाइएका ‘घुमुवा’ परिचालनकै आडमा आठै जिल्लाका नाकाबाट अवैध कारोबार झनै मौलाएको आरोप उठेको छ । प्रदेशका विभिन्न नाकाबाट मदिरा, चिनियाँ स्याउ, गिट्टी–बालुवालगायतका सामग्री निर्बाध रूपमा ओसारपसार भइरहेको छ भने भारततर्फबाट चिनी, दाल, चामल, मोटरपाट्र्स, कस्मेटिक्सदेखि दैनिक उपभोग्य वस्तुहरू भन्सार छल्दै नेपाल भित्रिरहेका छन् । यसको प्रत्यक्ष असर सीमावर्ती बजारदेखि सदरमुकामसम्मका व्यवसायमा परेको छ ।
प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी कार्यालयले मातहतका जिल्लाका प्रहरीमाथि अविश्वास गर्दै सिधै ‘घुमुवा’ खटाउने अभ्यास बढाएको छ । ती घुमुवाले उच्च अधिकारी विशेषतः डिआइजीको नाम प्रयोग गर्दै तस्करीका लागि चिनिएका नाकाहरू खोल्न दबाब दिने गरेको आरोप छ । चुनावअघि र त्यसपछिको संक्रमणकालमा यस्ता घुमुवा सीमा चौकीसम्म पुगेर नाका खुलाएको दाबी गरिएको छ । सीमा क्षेत्रमा कार्यरत एक प्रहरी अधिकृत भन्छन्, ‘डिआइजी गोविन्द थपलियाको नाम लिएर आदेश आउँछ । त्यसपछि राति तस्करीका गाडी पास नगरी बस्न सकिँदैन ।’ उनका अनुसार यस्ता घुमुवा आठै जिल्लामा परिचालित छन् । यद्यपि, डिआइजी थपलियाले घुमुवा नभई सादा पोसाकका कर्मचारी खटाइएको स्वीकार्दै त्यसको उद्देश्य सूचना संकलन मात्र भएको बताएका छन् ।
यता, प्रदेश प्रहरीका प्रवक्ता कमल थापाले तस्करीमा प्रहरीको संलग्नताको आरोप अस्वीकार गरेका छन् । उनका अनुसार पछिल्ला दिनमा आठै जिल्लाबाट करिब सात लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ । सादा पोसाकका प्रहरी अपराध नियन्त्रणकै लागि परिचालित हुने दाबी गर्दै उनले अनियमितता भएको जस्तो नलाग्ने बताएका छन् । तर, व्यवसायीहरूको भोगाइ फरक छ । उनीहरू भन्छन् भन्सार तिरेर ल्याइएको सामान महँगो पर्ने, जबकि तस्करीका सामान सस्तोमा बजारमा उपलब्ध हुने भएकाले बिक्रीमा भारी गिरावट आएको छ । ‘यो समस्या केवल मेरो होइन, मधेशका सबै जिल्लाका व्यापारीको साझा पीडा हो,’ सिरहाका एक व्यवसायीले बताए ।
सप्तरीको बलान बिहुल गाउँपालिका अन्तर्गत बेल्ही, पातो, छिन्नमस्ता, सोभरणपटी लगायतका नाकाहरूबाट स्याउ र मदिरा तस्करी व्यापक रहेको दाबी गरिएको छ । यिनै नाकाबाट सुर्तीजन्य पदार्थ, गुटखा, साना ग्यास सिलिन्डर, लाइटर र मोटरपाट्र्स समेत भित्र्याइने गरिएको बताइन्छ । नाका बन्द गर्न खोज्दा समेत घुमुवाको नाममा पुगेका प्रहरी अधिकारीले उल्टै खोल्न निर्देशन दिने गरेको स्रोतको दाबी छ । त्यस्तै, सिरहाका माडर, ठाढी, बरियारपट्टी, झाझपट्टी, औरही, नरगी र चतरी नाकाहरू पछिल्लो समय तस्करका लागि ‘भूस्वर्ग’ जस्तै बनेका छन् । यी क्षेत्रबाट नुनदेखि सुनसम्म तस्करी हुने गरेको स्थानीयको भनाइ छ । तस्करीका सामान लहान, गोलबजार र मिर्चैयामा भण्डारण गरी नक्कली बिल बनाएर पहाडी जिल्लातर्फ पठाइने गरिएको छ ।
सीमाबाट गोदामसम्म सामान सुरक्षित पुर्याउन घुमुवाको सहयोग रहने र मोटरसाइकल, टेम्पो, ट्र्याक्टर, मिनी ट्रक तथा पिकअप प्रयोग हुने गरेको बताइन्छ । धनुषाको जटही र औरही नाकाबाट पनि तस्करी भइरहेको छ । एक घटनामा, नाका खोल्न आएको आदेश नमान्दा डिआइजी र जिल्ला प्रहरी प्रमुखबीच भनाभन भएको स्रोतले जनाएको छ । पर्सामा भने प्रमाणबिना हस्तक्षेप नगर्नु भन्दै प्रहरी प्रमुखले कडाइ गरेपछि घुमुवाको प्रभाव सीमित भएको बताइन्छ ।
व्यापारीहरूका अनुसार बारा, सर्लाही, रौतहट र महोत्तरीमा ‘घुमुवा आतंक’ झन् तीव्र छ । धनुषा र महोत्तरीका सीमावासी रमभरोष भन्छन्, ‘अहिले त नाका तस्करलाई नै जिम्मा दिइएको जस्तो अवस्था छ ।’ केही स्थानमा तस्करी रोक्न खोज्दा प्रदेश प्रहरी कार्यालयबाटै दबाब आएको दाबी गर्दै यो विषय माथिल्लो निकायसम्म पुर्याइएको स्रोतले जनाएको छ । मधेशका नाकाबाट चिनी, कपडा, मोटरपाट्र्स, पान मसाला, तेल, दाल, चामल, मैदा, कुखुरा तथा सुर्तीजन्य पदार्थहरू भन्सार छलेर भित्रिन्छन् भने नेपालबाट मदिरा, चिनियाँ स्याउ र गिट्टी–बालुवा भारततर्फ पठाइन्छ ।
सिरहाको बरियारपट्टीमा भेटिएका एक स्थानीय भन्छन्, ‘सुरक्षाकर्मीको बाक्लो उपस्थितिमै तस्करी हुनु सामान्य कुरा भइसक्यो । नियन्त्रण गर्ने निकाय नै मौन भएपछि हामी के बोल्ने ?’ उनका अनुसार ‘लाइन क्लियर’ को संकेत पाएपछि मात्र तस्करी सुरु हुन्छ । सीमादेखि सहरसम्म यस्तो लाइन व्यवस्थापन गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि सक्रिय रहने गरेको बताइन्छ । ‘प्रहरी नमिलेसम्म भन्सार छलेर सामान ल्याउने आँट कसैले गर्दैन,’ उनले स्पष्ट पारे ।
सप्तरी, सर्लाही, रौतहट, बारा र पर्साका दर्जनौँ नाकामा तस्करको खुलेआम गतिविधि रहेको स्थानीयको भनाइ छ । सुरक्षाकर्मी र भन्सार कर्मचारीसँगको मिलेमतोमा संगठित सञ्जालमार्फत तस्करी हुने गरेको आरोप छ । कहिलेकाहीँ देखाउनका लागि केही सामान समातिए पनि ‘कुरा मिलेपछि’ छाडिने गरेको सीमावासीको गुनासो छ । सिरहाका नरगीका एक बासिन्दा भन्छन्, ‘प्रहरी मिलेपछि जे पनि वारपार गर्न सम्भव छ ।’ झाझपट्टी नजिकैका रमसुफल रायका अनुसार राति सीमा क्षेत्रमा सामान थुपारेर मोटरसाइकल र टेम्पोमार्फत सहर पठाइन्छ । ‘लाइन क्लियर भएपछि मात्रै ढुवानी सुरु हुन्छ ,’ उनले भने ।
उनले थपे, ‘हामीसँग आँखा, कान र मुख बन्द गरेर बस्नु बाहेक विकल्प छैन । राज्यकै निकायले तस्करलाई बाटो खोलिदिएपछि कसरी आवाज उठाउने ?’ स्थानीयको बुझाइ स्पष्ट छ सीमादेखि सहरसम्म प्रहरी निष्पक्ष भए मात्र तस्करी रोक्न सकिन्छ । नत्र, भन्सार राजश्व छलेर हुने अवैध कारोबार रोक्नु असम्भवजस्तै देखिन्छ ।








प्रतिक्रिया दिनुहोस् !