वीरगंज (पर्सा), १६ चैत । पर्साको ग्रामीण क्षेत्रहरूमा चैते धानबाली अन्तर्गत हर्दिनाथ–१ (१४४२) जातको धान रोप्ने काम सुरु भएको छ । जिल्लाका उत्तरी र पश्चिमी भेगमा पर्ने ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका तथा वीरगंज महानगरपालिकाका केही वडामा किसानहरू अहिले यस धानको रोपाइँमा व्यस्त देखिएका छन् ।
तोरी, कार्तिकी सुर्ती लगायतका बाली भित्र्याएर खाली भएका खेतहरूमा किसानहरूले हर्दिनाथ–१ रोप्न थालेका हुन् । जिराभवानी गाउँपालिका–४ सुपौलीका किसान दीपक दासका अनुसार फागुनको पहिलो सातातिर ब्याडमा राखिएको बीउ अहिले रोपाइँका लागि तयार भइसकेपछि किसानहरू खेततिर जुटेका हुन् । राम्रो उत्पादन र मिठो स्वादका कारण पछिल्ला वर्षहरूमा यस जातप्रति किसानहरूको आकर्षण बढ्दै गएको उनले बताए ।
कतिपय स्थानमा रोपाइँ सकिइसकेको छ भने अन्य क्षेत्रमा बीउ तयार पार्ने, खेत जोत्ने, पानी व्यवस्थापन गर्ने र आली लगाउने काम तीव्र रूपमा चलिरहेको छ । ठोरी गाउँपालिकामा भने वैदेशिक रोजगारी र बसाइँसराइका कारण श्रमिक अभाव देखिएको छ । त्यसैले त्यहाँका किसानहरूले जिराभवानी तथा सीमावर्ती भारतीय गाउँबाट मजदुर ल्याएर रोपाइँ गरिरहेका छन् ।
पटेर्वासुगौली गाउँपालिका–२ मकवानीटोलका किसान बिगा महरा चमारका अनुसार उक्त क्षेत्रमा करिब ७५ प्रतिशत जमिनमा हर्दिनाथ–१ धान खेती गरिन्छ भने बाँकी जमिनमा सुर्ती र मकै लगाइन्छ । केही ठाउँमा अझै बीउ तयार नभएकाले रोपाइँ सुरु हुन बाँकी भए पनि खेत तयारी र मल व्यवस्थापनको काम जारी रहेको उनले जानकारी दिए ।
सखुवाप्रसौनी गाउँपालिका–१ सखुवनियाका सुरेन्द्र महतो थारुले आफ्नो क्षेत्रमा करिब आधा जमिनमा चैते धान लगाइने र केही किसानले रोपाइँ सुरु गरिसकेको बताए । समयमै रोप्न सकिने भएकाले कतिपय किसान अहिले नै ब्याडमा बीउ राख्ने काममा लागेका छन् । गहुँ काटेपछि सोही जमिनमा यो धान सजिलै रोप्न मिल्ने भएकाले यसको उपयोगिता अझ बढेको छ ।
करिब ९० दिनमै पाक्ने यस धानबालीबाट राम्रो उत्पादन लिन सकिने र कटानीपछि पुनः अर्को धान (दतुरा) लगाउने सम्भावना रहने भएकाले किसानहरूमा यसको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । पछिल्ला दुई–तीन वर्षयता किसानहरूले प्रति कट्ठा करिब ५ मन (झण्डै २ क्विन्टल) देखि ८ मन (करिब साढे ३ क्विन्टल) सम्म उत्पादन गर्दै आएका छन् ।








प्रतिक्रिया दिनुहोस् !