वीरगंज (पर्सा), २७ फागुन । वीरगंज महानगरपालिका–१६ स्थित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमा निर्माण भइरहेको प्लास्टिकजन्य फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ । महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिक फोहोरलाई वैज्ञानिक ढंगले प्रशोधन गरी पुनःप्रयोगमा ल्याउने उद्देश्यका साथ उक्त प्लान्ट निर्माण गरिएको हो ।
महानगरपालिकाको वन तथा वातावरण शाखा प्रमुख राकेश साहका अनुसार सूर्य नेपाल प्रा.लि. को करिब चार करोड रुपैयाँ लगानीमा प्लान्ट निर्माण भइरहेको छ । हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । उनका अनुसार निर्माणाधीन प्लान्टले दैनिक करिब २० मेट्रिकटन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्ने क्षमता राख्छ । हाल वीरगंज महानगरपालिका क्षेत्रमा दैनिक करिब ६० देखि ६५ टन फोहोर संकलन हुने गरेको छ । संकलित फोहोरमध्ये प्लास्टिकजन्य फोहोर छुट्याएर उक्त प्लान्टमार्फत प्रशोधन गर्ने व्यवस्था मिलाइने उनले बताए ।
गत असोज महिनामा वीरगंज महानगरपालिका, जिरो वेस्ट इनिटेटिभ नेपाल र सूर्य नेपाल प्रा.लि. बीच फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भएपछि यो परियोजना अघि बढाइएको हो । उक्त सम्झौताअनुसार निजी क्षेत्रको लगानी र सहकार्यमा महानगरको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
महानगरका प्रमुख राजेशमान सिंहले फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक तथा वातावरणमैत्री बनाउन आधुनिक प्रशोधन प्लान्ट निर्माण गरिएको बताए । उनका अनुसार प्लान्ट सञ्चालनमा आएपछि महानगरभित्र दैनिक संकलन हुने प्लास्टिक फोहोरलाई छुट्याएर प्रशोधन गरिनेछ र त्यसलाई पुनःप्रयोगयोग्य सामग्रीमा रूपान्तरण गरिनेछ । निर्माणाधीन प्लान्टको प्रगति बुझ्न बुधबार मेयर सिंह र सूर्य नेपाल प्रा.लि. का उद्योग प्रमुख सुरेश काजी महर्जन सहितको टोली निर्माण स्थलमा पुगेको थियो । टोलीले निर्माणको अवस्था, प्राविधिक पक्ष तथा सञ्चालन प्रक्रियाबारे स्थलगत जानकारी लिएको थियो ।
निर्माण सम्पन्न भएपछि उक्त प्लान्ट वीरगंज महानगरपालिका लाई हस्तान्तरण गरिने उद्योग प्रमुख महर्जनले बताए । त्यसपछि प्लान्टको सञ्चालन तथा व्यवस्थापन महानगरपालिकाले नै गर्नेछ भने प्राविधिक जनशक्तिको व्यवस्थापन जिरो वेस्ट इनिटेटिभ नेपालले गर्नेछ । महर्जनका अनुसार कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत यस परियोजनामा लगानी गरेको हो ।
मेयर सिंहले वीरगंजलाई फोहोरमुक्त र हरित शहर बनाउने दीर्घकालीन लक्ष्यअनुसार यो परियोजना अघि बढाइएको उल्लेख गरे । ‘यो परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ चरणको सुरुवात गर्नेछ,’ उनले भने । उनले फोहोरलाई केवल व्यवस्थापन गर्नुपर्ने समस्या मात्र नभई उपयोग गर्न सकिने स्रोतका रूपमा प्रयोग गर्ने अवधारणातर्फ महानगर अघि बढिरहेको समेत बताए । ‘अब फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अगाडि बढिरहेको छ,’ मेयर सिंहले बताए । 







प्रतिक्रिया दिनुहोस् !