वीरगंज (पर्सा), १८ फागुन । पर्सा–१ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । यसबीच जनमत पार्टीले युवाकेन्द्रित अभियानलाई थप सशक्त बनाउँदै आफ्नो चुनावी रणनीति अगाडि बढाएको छ । वीरगंज महानगरपालिका-१६ इनर्वा र नगवामा सम्पन्न दुई छुट्टाछुट्टै कार्यक्रममा देखिएको युवा सहभागिताले पर्सा-१ को चुनावी समीकरणमा नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ ।
इनर्वामा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थित केही युवाहरू औपचारिक रूपमा जनमत पार्टीमा प्रवेश गरेका छन् । क्षेत्र नम्बर–१ स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नवप्रवेशी युवाहरूलाई पार्टीका क्षेत्रीय नेताहरूले सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए । प्रवेशसँगै उनीहरूले अब पर्सा–१ मा जनमत पार्टीको ‘हर्न’ चुनाव चिन्हलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने घोषणा गरे ।
नवप्रवेशी युवाहरूले क्षेत्रको विकास, सुशासन र रोजगारीलाई प्राथमिक एजेन्डा बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले जनमत पार्टीको नीति तथा कार्यक्रम आफूहरूलाई उपयुक्त लागेको उल्लेख गर्दै स्थानीय जनताको अपेक्षा पूरा गर्ने अभियानमा जुट्ने बताएका छन् । कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले पनि युवाहरूको निर्णयलाई सकारात्मक रूपमा लिँदै स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने धारणा राखेका थिए ।
यसैबीच, वडा नं. १६ कै नगवा पोखरी परिसरमा जनमत पार्टीले आयोजना गरेको भव्य रात्रीसभामा जेन–जी युवाहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । साँझपछिको समयमा सम्पन्न कार्यक्रममा उत्साहजनक सहभागिता, नाराबाजी र प्रतिबद्धताले चुनावी माहोललाई थप ऊर्जा दिएको थियो । सहभागी युवाहरूले परिवर्तनका लागि निर्णायक जनमत आवश्यक रहेको औंल्याउँदै पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफलाई अत्याधिक मतले विजयी गराउन अपिल गरेका थिए ।
वक्ताहरूले सर्राफ मधेशको अधिकार, पहिचान र विकासका मुद्दामा निरन्तर सक्रिय नेतृत्व भएको उल्लेख गर्दै युवामैत्री नीति, पारदर्शी शासन र स्थानीय रोजगारी सिर्जनामा जोड दिएका थिए । ‘अब पुस्तान्तरणको समय आएको छ, युवाको नेतृत्व स्थापित गर्नुपर्छ,’ एक सहभागी युवाले भने । दुवै कार्यक्रममा देखिएको युवा सहभागिता र सक्रियताले पर्सा–१ मा युवा मत निर्णायक बन्न सक्ने संकेत दिएको छ । जनमत पार्टीका पदाधिकारीहरूले आगामी दिनमा घरदैलो, टोलसभा, अन्तरक्रिया तथा सामाजिक सञ्जालमार्फत प्रचारलाई अझ प्रभावकारी बनाउने जानकारी दिएका छन् ।
निर्वाचन नजिकिँदै जाँदा पर्सा–१ मा प्रतिस्पर्धा चर्किँदै गएको छ । तर इनर्वा र नगवामा देखिएको उत्साहले जनमत पार्टीप्रति युवाहरूको आकर्षण बढ्दो क्रममा रहेको सन्देश दिएको छ । अब ‘हर्न’ छापलाई जिताउने लक्ष्यसहित अभियानलाई तीव्रता दिइने जनाइएको छ, जसले आगामी निर्वाचनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया दिनुहोस् !