वीरगंज (पर्सा), १५ फागुन । पर्सा क्षेत्र ४ मा निर्वाचन माहोल तातेका बेला विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कालिकामाई गाउँपालिका–३ हरिहरपुरका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट निर्वाचित वडा अध्यक्ष सञ्जय कुमार पटेलको नेतृत्वमा ४५१ जना नेताकार्यकर्ता कांग्रेसमा समाहित भएका हुन् । त्यस्तै, पोखरिया नगरपालिकाका नगर अध्यक्ष तथा मेयर प्रत्याशी राजु साह र कालिकामाई–३ बसन्तपुरका वडा अध्यक्ष प्रत्याशी रबिभूषण तिवारीको नेतृत्वमा थप २०० जना विभिन्न दल त्यागेर कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरू यसअघि जसपा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलसँग आबद्ध रहेका थिए । उनीहरूले पार्टी परित्याग गर्दै कांग्रेसको विचार, नीति र नेतृत्वप्रति विश्वास व्यक्त गरेका छन् । आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले टीका, माला र खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरूले कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यता, समावेशी विकास र जनअधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरे । मुलुकको स्थिरता, सुशासन र दीर्घकालीन विकासका लागि कांग्रेस नै उपयुक्त विकल्प भएको दाबी समेत गरिएको थियो ।
नवप्रवेशी नेता सञ्जय कुमार पटेलले जनतासँग प्रत्यक्ष जोडिने, विकासमुखी सोच राख्ने र सबै वर्ग समुदायलाई समेट्ने राजनीतिक शक्ति आवश्यक भएको उल्लेख गर्दै कांग्रेसमार्फत जनसेवामा थप सक्रिय हुने प्रतिबद्धता जनाए । राजु साह र रबिभूषण तिवारीले पनि आगामी निर्वाचनमा कांग्रेसको विजय सुनिश्चित गर्न एकजुट भएर लाग्ने बताएका थिए ।
कार्यक्रममा सहभागीहरूले पछिल्लो समय कांग्रेसप्रति जनविश्वास बढ्दै गएको दाबी गर्दै ठूलो संख्यामा कार्यकर्ता प्रवेश हुनु त्यसको संकेत भएको बताए । स्थानीय तहदेखि संघीय तहसम्म प्रभावकारी उपस्थिति कायम गर्न संगठन विस्तारलाई तीव्र बनाइएको पनि जनाइएको छ । यो पार्टी प्रवेशले नेपाली काँग्रेसबाट पर्सा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालप्रति जनसमर्थन बढेको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले गाउँटोलसम्म संगठन सुदृढीकरण, घरदैलो अभियान र जनसम्पर्क कार्यक्रमलाई तीव्रता दिएको छ । विभिन्न दलबाट प्रभावशाली व्यक्तित्वहरू पार्टीमा आवद्ध हुनुले चुनावी समीकरणमा सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ ।









प्रतिक्रिया दिनुहोस् !