वीरगंज (पर्सा), १२ फागनु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले मङ्गलवार वीरगंज महानगरपालिका – २४ रमगढवा र वडा नं २५ सिर्सिया टोलमा घरदैलो अभियान सञ्चालन गर्दै भ्रष्टाचार र कुशासन अन्त्य गरी नयाँ नेपाल निर्माणका लागि घण्टी चुनाव चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन् ।
पछिल्लो चार दशकदेखि चलिआएको राजनीतिक चक्रव्यूह तोडेर विधिको शासन स्थापना गर्ने, नेपाली जनताको जीवनस्तर उकास्ने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित कानुले स्थानीय मतदातालाई रास्वपाका सबै उम्मेदवारलाई जिताउन घण्टीमा भोट हाल्न अनुरोध गरे । ‘पर्सा देशकै महत्वपूर्ण जिल्ला हो, तर यहाँबाट निर्वाचित सांसद, मन्त्रीहरूले बेवास्ता गर्दा जिल्लाको विकास हुन सकेन,’ कानुले भने, ‘शिक्षा, स्वास्थ्य, पूर्वाधार र सडकको अवस्था अत्यन्त जीर्ण छ । अघिल्ला प्रतिनिधिहरूले आफ्नो स्वार्थ पूरा गर्न मात्र लगानी गरे ।’
उनले यदि आफू निर्वाचित भए रास्वपा नेतृत्वको सरकारले पर्साको कायापलट गर्ने गरी ठुला विकास योजनाहरू ल्याउने प्रतिबद्धता जनाए । कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने बताए । ‘स्थानीय तहदेखि सङ्घीय तहसम्म समन्वय गरी योजनाबद्ध विकास अघि बढाइनेछ,’ उनले थपे । कृषि क्षेत्रको समस्या औँल्याउँदै कानुले किसानलाई समयमै मल उपलब्ध गराउने सुनिश्चित व्यवस्था गर्ने र युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरे ।
‘युवाले गाउँमै काम पाए भने वैदेशिक रोजगारीको बाध्यता घट्छ,’ उनको भनाइ छ । घरदैलोका क्रममा स्थानीयहरूले शिक्षा, स्वास्थ्य, सडक र खाने पानीमा लामो समयदेखि सुधार नभएको गुनासो गरेका थिए । जवाफमा कानुले ‘जनताको आवाज संसदमा पुर्याउने र विकासमा ठोस परिणाम देखिने गरी काम गर्ने’ प्रतिबद्धता दोहोर्याए ।
कार्यक्रममा सहभागी स्थानीय युवाहरूले ‘परिवर्तनको समय आएको’ भन्दै रास्वप्रति आकर्षण बढ्दै गएको बताए । ज्येष्ठ नागरिक र महिलाहरूले पनि ‘यसपाली सोचेर मतदान गर्ने र सुशासन तथा जबाफदेहितालाई प्राथमिकता दिने’ प्रतिक्रिया दिए ।








प्रतिक्रिया दिनुहोस् !