वीरगंज (पर्सा), ११ फागुन । जनता समाजवादी पार्टी (जसपा) का पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको चुनावी अभियान दिनप्रतिदिन तीव्र बन्दै गएको छ । घरदैलो, मतदाता भेटघाट, छलफल तथा स्थानीय समस्या सुन्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएका टेमानीले सोमबार राति पर्साको बहुदरमाई नगरपालिका–४ डोकैला बहुअरीमा जेनजी युवासँग विशेष अन्तरक्रिया गरेका छन् ।
रात्री भेटघाट कार्यक्रममा त्यस क्षेत्रका जेनजी पुस्ताका युवाहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । खुला छलफल शैलीमा सम्पन्न कार्यक्रममा युवाहरूले रोजगारी, सीप विकास, गुणस्तरीय शिक्षा, सूचना प्रविधि पहुँच र स्थानीय पूर्वाधार विकासका विषयमा आफ्ना धारणा राखेका थिए । टेमानीले ती सवाललाई गम्भीरतापूर्वक सुन्दै समाधानका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागी युवाहरूले आगामी निर्वाचनमा टेमानीलाई अत्यधिक मतले विजयी गराउन सक्रिय रूपमा प्रचारप्रसारमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हामी परिवर्तन चाहन्छौं, युवाको आवाज संसदसम्म पुग्नुपर्छ,’ एक सहभागीले भने, ‘टेमानीज्यू शिक्षित, योग्य र विकासप्रेमी उम्मेदवार भएकाले हाम्रो साथ उहाँलाई छ ।’
जेनजी पुस्तालाई लक्षित गर्दै टेमानीले युवालाई केवल मतदाता नभई नीतिनिर्माणका साझेदारका रूपमा अघि ल्याउने योजना रहेको बताए । ‘युवाहरू देशको भविष्य मात्र होइन, वर्तमान परिवर्तनका प्रमुख शक्ति हुन्,’ उनले भने, ‘पर्सा–२ लाई रोजगारी, उद्यमशीलता र आधुनिक पूर्वाधारको केन्द्र बनाउने हाम्रो लक्ष्य छ ।’
अभियानका क्रममा टेमानीले घरदैलो कार्यक्रममार्फत स्थानीय बासिन्दाका गुनासा र सुझाव संकलन गरिरहेका छन् । सडक, खानेपानी, कृषि बजार व्यवस्थापन, स्वास्थ्य सेवा र शैक्षिक सुधार जस्ता विषयलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको उनले स्पष्ट पारे । स्थानीय स्तरमा दीर्घकालीन विकास योजना निर्माण गर्न युवाको सक्रिय सहभागिता अपरिहार्य हुने उनको भनाइ छ ।
डोकैला बहुअरी क्षेत्रमा भएको रात्री भेटघाटलाई जसपाका स्थानीय कार्यकर्ताहरूले अभियानको महत्वपूर्ण कडीका रूपमा लिएका छन् । युवा पुस्ताको उल्लेख्य सहभागिताले चुनावी माहोल थप उत्साहित बनेको उनीहरूको दाबी छ । विशेष गरी सामाजिक सञ्जालमार्फत प्रचारप्रसारमा जेनजी पुस्ताको सक्रियता बढ्दो देखिएको छ, जसले चुनावी रणनीतिमा नयाँ आयाम थपेको बताइएको छ ।
पर्सा क्षेत्र नं. २ मा युवामुखी मुद्दा निर्णायक बन्न सक्ने विश्लेषकहरूको आकलन छ । यस क्षेत्रमा युवा मतदाताको संख्या उल्लेख्य रहेकाले उनीहरूको समर्थनले परिणाममा महत्वपूर्ण प्रभाव पार्न सक्ने देखिन्छ । अभियानलाई तीव्रता दिँदै टेमानीले आगामी दिनहरूमा पनि टोल टोल पुगेर प्रत्यक्ष संवादलाई निरन्तरता दिने बताएका छन् । जेनजी युवाको बढ्दो आकर्षण र सक्रिय समर्थनले पर्सा–२ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । 








प्रतिक्रिया दिनुहोस् !