कलैया (बारा), ११ फागुन । बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर १ पिपरा टोलमा चुनावी माहोल तातिँदै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेश धिमालले आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई तीव्र बनाएका छन् । उनले पिपरा टोलमा घरदैलो अभियानलाई सशक्त बनाउँदै मतदाताहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन् ।
घरघर पुगेर उनले स्थानीयवासीका समस्या, गुनासा र सुझाव सुन्ने कार्य गरेका थिए । ग्रामीण भेगमा अवस्थित पिपरा टोलमा विशेष गरी खानेपानी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा गम्भीर समस्या रहेको स्थानीयहरूले बताएका थिए । उनीहरुले शिक्षा क्षेत्रमा रहेको समस्याहरुको बारेमा उठान गरेका थिए । विद्यालयमा पर्याप्त शिक्षक नहुनु, भौतिक संरचना कमजोर हुनु तथा शैक्षिक गुणस्तरमा सुधार आवश्यक रहेको उनीहरुको भनाई थियो ।
त्यसैगरि स्वास्थ्य सेवा पनि अर्को प्रमुख समस्या रहेको स्थानीयहरुको भनाई थियो । नजिकै पर्याप्त स्वास्थ्य चौकी नहुँदा सामान्य उपचारका लागि पनि सदरमुकाम कलैया देखि पर्सा जिल्लाको सदरमुकाम वीरगंज धाउनुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो थियो । त्यसको साथसाथै औषधी अभाव तथा स्वास्थ्यकर्मीको अभावले जेष्ठ नागरिक, गर्भवती महिला र बालबालिकाले विशेष समस्या भोग्नुपरेको गुनासो गरेका थिए ।
यसरी नै कृषि क्षेत्र यहाँका अधिकांश नागरिकको मुख्य जीविकोपार्जनको माध्यम भएपनि सिँचाइ अभाव, मलबीउ समयमै नपाउनु र आधुनिक प्रविधिको कमीका कारण उत्पादन घट्दो अवस्थामा रहेको बताइएको छ । किसानहरूले बजार व्यवस्थापन र सरकारी सहायतामा पारदर्शिता आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा स्थानीय मतदाताहरुले उठाएका समस्याहरु सुन्दै उम्मेदवार धिमालले आफू नीतिगत ठाउँमा पुगेपछि उठाइएका समस्याहरुको समाधानको लागि दीर्घकालीन पहल गर्ने विश्वास व्यक्त गरेका थिए । उनले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न पहल गर्ने, शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आवश्यक बजेट व्यवस्थापन र अनुगमन प्रणाली मजबुत बनाउने, कृषकको हितमा सिँचाइ योजना, सहुलियत ऋण तथा कृषि प्रविधि विस्तार कार्यक्रम ल्याउने तथा स्वास्थ्य सँस्थामा देखिएको औषधी तथा चिकित्सक अभावलाई पुरा गराउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
घरदैलो अभियानका क्रममा धिमालले ‘जनताको समस्या नै मेरो एजेन्डा हो’ भन्दै विकासका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने स्पष्ट पारे । उनले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याए । स्थानीय युवाहरूले पनि रोजगारी सिर्जना र सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने माग राखेका थिए ।
यसैगरि निर्वाचन प्रचारप्रसार अभियानकै क्रममा स्थानीय स्तरमै संगठन सुदृढ गर्ने उद्देश्यले पिपरा टोल निवासी राजधारी शर्माको संयोजकत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचारप्रसार समिति गठन गरिएको छ । समिति गठनसँगै उक्त क्षेत्रमा पार्टीको गतिविधि थप सक्रिय र व्यवस्थित हुने विश्वास गरिएको छ । नवगठित समितिका संयोजक राजधारी शर्माले परिवर्तन र सुशासनका लागि नयाँ राजनीतिक संस्कार आवश्यक रहेको धारणा राख्दै गणेश धिमाललाई समर्थन गर्न आग्रह गरेका थिए । उनले पिपरा टोलको समग्र विकासका लागि साझा पहल आवश्यक रहेको बताउँदै अबको चुनाव विकास र उत्तरदायित्वको पक्षमा हुनुपर्ने उल्लेख गरे । पिपरा टोलमा समिति गठन र घरदैलो अभियानसँगै चुनावी गतिविधि थप सक्रिय बनेको छ । 








प्रतिक्रिया दिनुहोस् !