वीरगंज (पर्सा), ११ फागुन । गत स्थानीय तह निर्वाचन २०७९ मा वीरगंज महानगरपालिका–१८ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका नरेश प्रसाद यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उक्त निर्वाचनमा उनले स्थानीय स्तरमा राम्रो लोकप्रियता हासिल गर्दै सम्मानजनक मत प्राप्त गरेका थिए ।
सोमबार वीरगंजमा आयोजित अनौपचारिक स्वागत कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्व मन्त्री प्रदीप यादवले नरेश यादवलाई पार्टीमा भित्र्याए । कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, नेता ईश्वरचन्द्र यादव लगायत एमालेका अन्य स्थानीय नेताहरू उपस्थित थिए ।
नवप्रवेशी नरेश यादवलाई फूलमाला, टीका र खादा ओढाएर भव्य स्वागत गरिएको थियो । स्वागत समारोहमा बोल्दै प्रदीप यादवले भने, ‘चुनावमा सम्मानजनक मत ल्याउने, इमानदार र लोकप्रिय व्यक्तित्व नरेश यादवको पार्टी प्रवेशले हाम्रो संगठनलाई अझ मजबुत बनाएको छ । उनको सक्रियता वडाको विकास, जनताको सेवा र पार्टी विस्तारमा निर्णायक भूमिका खेल्नेछ ।’
नरेश यादवले आफूलाई एमालेमा प्रवेश गरेपछि नयाँ ऊर्जा प्राप्त भएको बताए । ‘वीरगंजको समग्र विकास र स्थानीय जनताको सेवा गर्न अब थप सहज र प्रभावकारी अवसर मिल्नेछ,’ उनले भने । साथै उनले पार्टीका सिद्धान्त र नीतिसँग आफू पूर्ण सहमत रहेको स्पष्ट पारे ।
यस प्रवेशसँगै वीरगंज–१८ मा एमालेको संगठन थप सुदृढ र विस्तारित भएको छ । स्थानीय कार्यकर्ताहरूले यस कदमलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने महत्त्वपूर्ण रणनीतिक सफलता ठानेका छन् । पार्टीमा प्रवेश गरेपछि नरेश यादवले वडास्तरका कार्यक्रम र घरदैलो अभियानमा समेत सक्रिय भूमिका निर्वाह गर्ने योजना घोषणा गरेका छन् । यसले वडाका मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने र पार्टीको एजेन्डा जनस्तरसम्म पुर्याउने कार्यमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
लोकप्रिय र अनुभवी नेता नरेश यादवको प्रवेशले एमालेको स्थानीय आधार बलियो बनाउने र चुनावी रणनीतिमा महत्वपूर्ण प्रभाव पार्ने बताइएको छ । यसले आगामी निर्वाचनमा पार्टीको मत प्रतिशत बढाउने र प्रतिस्पर्धी दलहरूका लागि चुनौती प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । नरेश यादवको प्रवेशसँगै स्थानीय कार्यकर्ताहरूमा उत्साह थपिएको छ भने एमालेका नेताहरूले संगठनात्मक एकता र सक्रियता बढाएर आगामी निर्वाचनमा विजयी सुनिश्चित गर्ने रणनीति तय गरेका छन् ।
नरेश यादवको एमाले प्रवेशले संगठनलाई बलियो बनाउने मात्र नभई स्थानीय जनसमर्थन जुटाउने महत्वपूर्ण कदम सावित हुने देखिएको छ । 








प्रतिक्रिया दिनुहोस् !