वीरगंज (पर्सा), ११ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा वीरगंजस्थित छपकैया–३ मा सम्पन्न पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत छपकैया टोलमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल त्याग गरी करिब ६० जना नेता, कार्यकर्ता तथा समर्थकहरू रास्वपामा समाहित भएका हुन् । वीरगंज महानगरपालिकाका विभिन्न वडाबाट नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस लगायतका दल परित्याग गरी स्थानीयस्तरका कार्यकर्ता तथा समर्थकहरूले रास्वपा रोजेका हुन् ।
आयोजकका अनुसार कार्यक्रमले क्षेत्रीय राजनीतिमा नयाँ उत्साह थपेको छ । नवप्रवेशीहरूलाई पर्सा क्षेत्र नम्बर–२ का रास्वपा उम्मेदवार सुशील कुमार कानुले खादा र अबिर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै कानुले आफ्नो निर्वाचन एजेन्डा सार्वजनिक गर्नुका साथै क्षेत्रका दीर्घकालीन समस्या र समाधानका सम्भावनाबारे धारणा राखे । उनले विशेष गरी महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे । घरमै बसेर गर्न सकिने कृषि तथा पशुपालनसम्बन्धी प्राविधिक तालिम, साथै सिलाइ कटाई जस्ता सीपमूलक कार्यक्रम सञ्चालन गरिने उनको प्रतिबद्धता थियो ।
‘महिलालाई आत्मनिर्भर बनाउनु नै समग्र परिवार र समाजलाई सबल बनाउनु हो,’ उनले भने, ‘सीप र अवसरको पहुँच विस्तार गरी आम्दानी बढाउने वातावरण सिर्जना गरिनेछ ।’ कार्यक्रममा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, मतदाता परिचालन र चुनावी रणनीतिबारे समेत विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले क्षेत्रको विकास, रोजगारी सिर्जना र सुशासनका विषयमा आफ्ना सुझाव राखेका थिए ।
स्थानीय बासिन्दाले वर्षौंदेखि भोग्दै आएका पूर्वाधार, रोजगारी र सेवा सुविधासम्बन्धी समस्याहरू समाधानका लागि प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए । कानुले आफू निर्वाचित भएपछि ती मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने आश्वासन दिए । छपकैया–३ मा सम्पन्न पार्टी प्रवेश कार्यक्रमलाई रास्वपाले क्षेत्रीय संगठन सुदृढीकरणको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । विभिन्न दलका कार्यकर्ता एकै साथ पार्टीमा आबद्ध भएपछि पर्सा–२ को चुनावी समीकरणमा नयाँ संकेत देखिएको राजनीतिक वृत्तमा चर्चा छ । 








प्रतिक्रिया दिनुहोस् !