वीरगंज (पर्सा), ९ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका विभिन्न वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनसमर्थन बढ्दै गएको देखिएको छ । पछिल्लो चुनावी गतिविधि अन्तर्गत बिन्दवासनी टोल (वडा नम्बर १९) मा उम्मेदवार सुशील कुमार कानुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा स्थानीय युवा, महिला, ज्येष्ठ नागरिक र समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।
कार्यक्रममा उपस्थित स्थानीयहरूले कानुलाई अबिर, गम्छा र फूलमालाले स्वागत गरेका थिए । उम्मेदवारले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका समस्या, आवश्यकता र विकास सम्भावनाबारे विस्तृत छलफल गरेका थिए । उनले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे । ‘जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम ल्याउनेछु,’ कानुले भने, ‘स्थानीय तहदेखि संघीय तहसम्म समन्वयमा योजनाबद्ध विकास अघि बढाइनेछ ।’
कृषि क्षेत्रका समस्यामा ध्यान दिँदै उनले किसानले समयमै मल नपाउँदा उत्पादनमा असर परेको बताए र मलको सुनिश्चित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । युवाहरूका लागि रोजगारीमुखी र सीपमूलक तालिमको व्यवस्था गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना पनि उनले सार्वजनिक गरे । ‘जब युवाले आफ्नै गाउँ–ठाउँमा काम पाउने वातावरण तयार हुन्छ, वैदेशिक रोजगारीको आवश्यकता घट्छ,’ उनले जोड दिए ।
स्थानीय बासिन्दाहरूले लामो समयदेखि शिक्षा, स्वास्थ्य सेवा, सडक र खानेपानी जस्ता आधारभूत पूर्वाधारमा सुधार नआएको गुनासो गरेका थिए । कानुले जवाफमा निर्वाचित भएपछि जनताको आवाज संसद्मा पुर्याउने र विकासमा परिणाममुखी काम गर्ने प्रतिबद्धता दोहोर्याए । घरदैलोमा सहभागी युवाहरूले ‘परिवर्तनको समय आएको’ भन्दै रास्वपाप्रति आकर्षण बढ्दै गएको प्रतिक्रिया दिएका थिए ।
यसैबीच, वीरगंज महानगरपालिका वडा नम्बर ९ मा वडा नम्बर १० का एमाले एकाइ अध्यक्ष अशोक शाह कानु, वडा सदस्यका उम्मेदवारहरू शेखर अग्रवाल, रेनु कर्ण र जयकुमारीको नेतृत्वमा युवाहरूको ठूलो समूह पार्टीमा प्रवेश गरेको छ । यससँगै वडा नम्बर ६ र ९ का युवाहरू पनि रास्वपामा आबद्ध भएका छन् । नवप्रवेशीहरूलाई उम्मेदवार कानुले टीका र खादा लगाएर पार्टीमा स्वागत गरे ।
यस्तै, भेट्रारान फुटबल क्लबका अध्यक्ष सविन बस्नेत सहितको समूहलाई पनि पार्टीमा स्वागत गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता लखन कुमार गुप्ताले विभिन्न वडाबाट युवाहरूले सक्रिय रूपमा पार्टीमा प्रवेश गर्ने क्रम तीव्र बन्दै गएको जानकारी दिएका छन् । बिन्दवासनीमा सम्पन्न घरदैलो र विभिन्न वडाबाट युवा र स्थानीय नेताहरूको प्रवेशले देखाउँछ कि पर्सा–२ मा रास्वपाप्रति जनसमर्थन मात्र बढिरहेको छैन, यहाँको राजनीतिक चेतना र परिवर्तनको अपेक्षासँगै पार्टीको सशक्त उपस्थिति पनि मजबुत हुँदै गएको छ । 









प्रतिक्रिया दिनुहोस् !