रौतहट (पर्सा), ९ फागुन । रौतहट जिल्लाको सदरमुकाम गौर शनिबार दिनभर तनावग्रस्त रह्यो । गौर नगरपालिका–६ सबगढामा बिहीबार राति भएको घटनालाई लिएर सुरु भएको हिन्दु–मुस्लिम समुदायबीचको विवाद शनिबार बिहान करिब साढे ९ बजेदेखि उग्र बनेपछि अवस्था अशान्त बनेको हो ।
बिहीबार राति रमजानको अवसरमा मस्जिदमा नमाज भइरहेको समयमा सोही बाटो हुँदै डिजे बजाउँदै जन्ती जाँदा विवाद चर्किएको बताइएको छ । त्यसपछि शुक्रबार दुवै समुदायबीच तनाव बढ्दै गयो र एकअर्कामाथि आक्रमणका घटना हुन थाले । स्थानीय स्रोतका अनुसार प्रारम्भिक विवाद सामान्य भनिए पनि सामाजिक सञ्जाल र हल्लाका कारण परिस्थिति झन् जटिल बन्दै गएको थियो ।
स्थिति बिग्रँदै गएको सूचना पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रमुखहरू आफ्नै कमाण्डमा सुरक्षाकर्मी लिएर घटनास्थल पुगेका थिए । भीड नियन्त्रणका क्रममा केही अराजक तत्वले घरको छतबाट सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्दा दुई प्रहरीसहित छ जना स्थानीय घाइते भएका थिए । घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा गरिएको जनाइएको छ ।
शुक्रबार नै दुवै पक्षका अगुवाबीच छलफल भई छ बुँदे सहमति गरिएको थियो । सहमतिअनुसार शान्ति कायम राख्ने र थप उक्साहट नदिने समझदारी बने पनि शनिबार पुनः आक्रमण सुरु भएपछि अवस्था झन् तनावपूर्ण बनेको प्रशासनले जनाएको छ ।
परिस्थिति नियन्त्रणबाहिर जान सक्ने देखेपछि स्थानीय प्रशासनले पूर्वमा मुडवलबा गेट, पश्चिममा लालबकैया क्षेत्र, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय आसपासका क्षेत्रमा दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु लागू भएसँगै बजार, शैक्षिक संस्था र यातायात पूर्ण रूपमा प्रभावित भए । 
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले हिन्दु समुदायका व्यक्तिमाथि भएको आक्रमणबाट उत्पन्न विवाद नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लाई व्यापक रूपमा परिचालन गरिएको जानकारी दिए । उनका अनुसार शान्ति सुरक्षालाई प्राथमिकतामा राख्दै संवेदनशील क्षेत्रमा निगरानी बढाइएको छ ।
प्रदर्शनका क्रममा आक्रोशित समूहले भारतीय नम्बर प्लेटको एउटा स्कर्पियो गाडी गौर–४ सोबरनामाई मन्दिर नजिक जलाएको प्रहरीले जनाएको छ । त्यस्तै टिकुलिया, मज्कुटिया र सबगढा क्षेत्रमा गरी कम्तीमा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ ।
तनाव चर्किएपछि गौर–५ र गौर–८ पुरेनवा क्षेत्रका मस्जिदमाथि समेत ढुंगामुढा भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक दर्जनभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता विष्णु प्रदीप बस्यालले जानकारी दिए ।
यसैबीच, साम्प्रदायिक सद्भाव बिग्रन नदिन र आपसी भाइचारा कायम राख्न विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले संयमता अपनाउन अपिल गरेका छन् । अनिल कुमार झा, डाक्टर फिरदोस आलम, अजय कुमार गुप्ता, माधव कुमार नेपाल, योगेन्द्र राय यादव तथा राजेश चौधरी लगायतका नेताहरूले शान्ति, एकता र सहिष्णुता कायम राख्न आग्रह गरेका हुन् ।
स्थानीय प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा उत्तेजक सामग्री नफैलाउन र कानुन हातमा नलिन सर्वसाधारणसँग अनुरोध गरेको छ । गौरको अवस्था अझै संवेदनशील रहेकाले सुरक्षा सतर्कता उच्च स्तरमा राखिएको जनाइएको छ ।
हिंसा प्रकरणमा जनमतका जिल्ला संयोजक शेख जमशेद पक्राउ
यसैगरि गौरमा भड्किएको साम्प्रदायिक तनाव प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका–६ सवगढामा बिहीबारदेखि सुरु भएको दुई समुदायबीचको विवाद हिंसात्मक बनेपछि अनुसन्धान अघि बढाएको प्रहरीले शेख जमशेदलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका जमशेद जनमत पार्टीका जिल्ला संयोजक हुन् भने सोही वडाका पूर्व वडाध्यक्षसमेत रहिसकेका छन् । सवगढामा विकसित घटनाक्रममा उनको संलग्नताबारे केही प्रमाण फेला परेको दाबी प्रहरी स्रोतले गरेको छ । उनलाई घरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय लगिएको बताइएको छ । 
घटनाको सुरुवात बिहीबार साँझ मस्जिद अगाडिको बाटो हुँदै जन्तीको गाडी गुज्रिएपछि भएको सामान्य विवादबाट भएको थियो । रमजानको समयमा नमाज चलिरहेका बेला डिजेसहित जन्ती गएको विषयलाई लिएर दुवै पक्षबीच भनाभन सुरु भएको र त्यसले क्रमशः उग्र रूप लिएको स्थानीयले बताएका छन् ।
शुक्रबार दिनभर दुवै समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासन सक्रिय भएको थियो । सुरक्षा निकायको पहलमा दुवै पक्षका प्रतिनिधिबीच छलफल गराई ६ बुँदे सहमति समेत गरिएको थियो । तर सहमति भएको एक दिन नबित्दै शनिबार बिहानैदेखि सवगढामा पुनः झडप सुरु भएपछि अवस्था फेरि तनावपूर्ण बनेको छ । बढ्दो तनावलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ भने नेपाल प्रहरी र अन्य सुरक्षाकर्मी उच्च सतर्कतामा खटिएका छन् ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको जनाएको छ । प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै कानून हातमा नलिन चेतावनी दिएको छ । गौरको अवस्था अझै संवेदनशील रहेकाले अनुसन्धान र सुरक्षा निगरानी दुवैलाई सशक्त बनाइएको जनाइएको छ । 







प्रतिक्रिया दिनुहोस् !