वीरगंज (पर्सा), ५ फागुन । पर्सा क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले मंगलबार पर्सागढी नगरपालिका–१ का विभिन्न टोल–बस्तीमा घरदैलो अभियान सञ्चालन गरेकी छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार यादवले चुनावी गतिविधि तीव्र पार्दै स्थानीयसँग प्रत्यक्ष भेटघाट, छलफल तथा आशीर्वाद लिएकी हुन् ।
कार्यक्रमको सुरुवात स्थानीय आस्थाको केन्द्र कोईलाभार मन्दिरमा पूजा–अर्चनाबाट गरिएको थियो । त्यसपछि उनले घर–घर पुगेर मतदातालाई आफ्नो चुनावी प्रतिबद्धता र आगामी योजनाबारे जानकारी दिइन् । घरदैलोका क्रममा स्थानीयले ढाका टोपी, दुवोको माला र खादा ओढाएर उम्मेदवार यादवलाई स्वागत गरेका थिए ।
कतिपय स्थानमा महिलाहरूले टीका–अक्षता लगाइ शुभकामना दिएका थिए । भेटघाटका अवसरमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी र रोजगारीका समस्या तथा सुझावहरू मतदाताले प्रस्तुत गरेका थिए । उम्मेदवार यादवले निर्वाचित भए पर्सागढी क्षेत्रमा आधारभूत पूर्वाधार सुदृढीकरण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार, महिला तथा युवाका लागि रोजगारी सिर्जना र कृषकलाई सहज बजार पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिन् । जनताको विश्वास प्राप्त भए पारदर्शी, भ्रष्टाचारमुक्त र उत्तरदायी नेतृत्व प्रदान गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता, युवा तथा महिला संगठनका प्रतिनिधि, समाजसेवी र समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । स्थानीय नेताहरूले यादवलाई इमानदार र विकासप्रेमी उम्मेदवारका रूपमा चित्रित गर्दै विजयी बनाउन एकजुट हुन आह्वान गरेका थिए । पछिल्ला दिनहरूमा क्षेत्र नम्बर–२ का विभिन्न गाउँ–टोलमा यादवको घरदैलो अभियानमा बढ्दो सहभागिता देखिएको पार्टीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस् !