वीरगंज (पर्सा), २७ माघ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम यतिबेला गम्भीर विवादको केन्द्रमा परेको छ । मधेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका निकट मानिएका प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) गोपाल थापा मगरले घुमुवाको नाममा असामान्य अधिकार प्रयोग गर्दै आठ जिल्लामा असुली, सरुवा थन्क्याउने र तस्करी ‘लाइन’ सञ्चालन गरेको आरोप प्रहरी संगठनभित्रैबाट उठेको छ ।
प्रहरी श्रोतका अनुसार बरिष्ठ सई थापा मगरले मधेश प्रदेशअन्तर्गत धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीका जिल्ला प्रहरी कार्यालयमा कार्यरत सादा पोशाकका प्रहरी (घुमुवा) परिचालन गर्दै तस्करसँग रकम असुल्ने प्रणालीलाई तीव्र बनाएका छन् । जनकपुरदेखि वीरगंजसम्मका नाकाबाट प्रहरीको सेटिङ्गमा तस्करी निर्बाध रूपमा चलिरहेको र त्यसको ‘कमाण्ड’ थापामगरले सम्हालिरहेको दाबी श्रोतले गरेको छ ।
श्रोतका अनुसार, जिल्लामा खटाइएका घुमुवाले ‘दररेट’ अनुसार रकम नबुझाएमा ती प्रहरीलाई अन्यत्र सरुवा गराउने, गणमा थन्क्याउने वा विभागीय कारबाहीको डर देखाउने गरिएको छ । पैसा बुझाउने प्रहरीलाई भने पुनः जिल्लामै राख्ने, नमिल्नेलाई प्रदेश तान्ने र फेरि फरक जिल्लामा रमाना दिने अभ्यास चलिरहेको आरोप छ । यसले जिल्ला प्रहरी प्रमुख (एसपी) र प्रदेश नेतृत्वबीच नै दूरी बढाएको बताइन्छ ।
मधेश प्रदेश प्रहरी संगठनभित्र पछिल्लो समय देखिएको विवाद केवल व्यक्तिगत आरोपमा सीमित छैन । यसले घुमुवा प्रणाली, सिभिल परिचालन, अधिकारको असन्तुलित प्रयोग र आन्तरिक मनोबलमा गहिरो असर पारेको संकेत गर्दछ । प्रहरी श्रोतहरूले उठाएका आरोपहरू गम्भीर प्रकृतिका छन्, जसले संगठनको निष्पक्षता र सार्वजनिक विश्वासमाथि प्रश्न उठाएका छन् ।
प्रहरी श्रोतका अनुसार धनुषाको नगराइन–जटही नाका आसपास सशस्त्र प्रहरीले बरामद गरेको करिब १३ लाख ७० हजार रुपैयाँ बराबरको काजु प्रकरण यस विवादको एउटा प्रतिनिधि उदाहरण हो । उक्त काजु जनकपुरका व्यापारी उमेश साह तेलीको भएको र नेपाल प्रहरीका सई थापा मगरसँग ‘लाइन मिलाएर’ भारतबाट नेपाल भित्र्याइँदै आएको आरोप लगाइएको छ ।
यस्तै, जनकपुरका ठूला मदिरा कारोबारी राजीव महासेठ, महोत्तरीका ‘कालिया’ भनिने व्यापारीलगायत अन्य व्यक्तिहरूले पनि थापा मगरमार्फत प्रहरी सेटिङ पाएको दाबी श्रोतहरूले गरेका छन् । असुलीको रकम धल्केबर र भारतको पिपरिया क्षेत्रमा बुझाइने गरिएको भन्ने आरोपले यस प्रकरणलाई सीमापार अपराधसँग समेत जोडिएको देखिन्छ । यद्यपि यी सबै आरोपहरू हालसम्म औपचारिक छानबिनबाट प्रमाणित भइसकेका छैनन् । तर, एउटै नाम पटक पटक विभिन्न उजुरी र प्रकरणमा आउनुले प्रहरी संगठनभित्र असहज वातावरण सिर्जना भएको प्रहरी अधिकारीहरू स्वीकार्छन् ।
विवादको अर्को गम्भीर पाटो घुमुवा प्रणाली हो । श्रोतका अनुसार सई थापा मगरको प्रभावका कारण मनपरी सरुवा, रमाना र जिम्मेवारी फेरबदल सामान्य जस्तै बनेको छ । यसकै उदाहरणका रूपमा बाराको इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत प्रहरी जवान रमेश हमालको घटना प्रस्तुत गरिन्छ । हमाललाई प्रदेश प्रहरी कार्यालय तानेर कहिले सप्तरी, कहिले रौतहट रमाना दिइएको, अन्ततः परिवारबाट टाढा पारिएको आरोप छ । निरन्तर मानसिक दबाब र अस्थिर कार्यस्थलका कारण उनी गम्भीर तनावमा परेका थिए । यही अवस्थाबीच जनकपुरमा मोटरसाइकल दुर्घटनामा परेर उनको हातको औंला गुम्न पुगेको घटनाले प्रहरी संगठनभित्र गहिरो आक्रोश पैदा गरेको छ । प्रहरी संगठनभित्रै कतिपय अधिकारीहरू घुमुवा प्रणालीले व्यक्तिगत जीवन, स्वास्थ्य र मनोबलमा नकारात्मक असर पारेको स्वीकार गर्छन् । तर, खुला रूपमा बोल्न भने डराउने वातावरण रहेको उनीहरूको गुनासो छ ।
मधेश प्रदेश प्रहरी कार्यालयभित्र डीआईजी थपलियाले सई थापा मगरलाई असामान्य अधिकार दिएको आरोप पनि चर्को रूपमा उठेको छ । सिभिलमा कार्यरत प्रहरी कर्मचारीलाई ‘डीआईजीको आदेश’ भन्दै तान्ने, कुरा नमिले गणमा पठाइदिने र मिले तुरुन्तै फिर्ता गर्ने जस्ता गतिविधिले एसएसपी तहसमेत निरीह बनेको गुनासो प्रहरी वृत्तमा व्यापक छ । प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन महाशाखामा दर्जनौँ उजुरी परेको दाबी श्रोतहरूले गरेपनि हालसम्म ती उजुरीमाथि औपचारिक छानबिन सुरु नभएको बताइन्छ । यसले संगठनभित्र ‘उजुरी गरेपनि कारबाही हुँदैन’ भन्ने निराशा थपिएको देखिन्छ ।
विवादमा तानिएका घुमुवा पुनः काजमा मधेशमै
मधेश प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा परिचालन गरिएका बरिष्ठ प्रहरी नायब निरीक्षक (सई) गोपाल थापा मगरलाई एकपछि अर्को विवादमा मुछिएको समाचार सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले पुस १८ गते तानेको थियो। डीआईजी गोविन्द थपलियाले आफूसँगै मधेश प्रदेश ल्याएर सिभिलमा घुमुवाको जिम्मा दिएका थापा मगरमाथि गम्भीर आरोपहरू उठेपछि उनी केही समयका लागि प्रधान कार्यालय बोलाइएका थिए ।
तर, स्रोतका अनुसार थापा मगरले डीआईजी थपलिया तथा प्रहरी प्रधान कार्यालयका माथिल्लो तहका अधिकारीको चाप्लुसीमार्फत पुनः मधेश प्रदेश प्रहरी कार्यालयमै घुमुवाका रूपमा काजमा फर्किन सफल भएका छन् । तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङको सिफारिसमा डीआईजी थपलियाले सरुवा हुँदा थापा मगरलाई साथमा मधेश ल्याएका थिए । खापुङ कोशी प्रदेशमा डीआईजी रहँदा थापा मगर उनका घुमुवा थिए भने पछि सीआईबी पुगेपछि पनि उनीसँगै गएका थिए । खापुङकै सिफारिसमा मधेश प्रदेश ल्याइएपछि डीआईजी थपलियाले थापा मगरलाई मधेशका आठै जिल्लाको घुमुवा कमाण्डर बनाएको आरोप छ ।
घुमुवा बनेपछि थापा मगरले जिल्लास्थित सादा पोशाकका प्रहरीलाई प्रदेशमा बोलाएर मासिक दररेट बुझाउन दबाब दिने, नमाने गणमा ड्युटी लगाउने, एसपीसँग समन्वय नगरी प्रहरी तान्ने जस्ता गतिविधि गरेको स्रोतको दाबी छ । डीआईजीको नाम प्रयोग गर्दै उनले प्रहरी जवानदेखि क्यूआरटीमा खटिएका सुरक्षाकर्मीसम्मलाई मनपरी रमाना दिने र रकम बुझाउनेलाई फिर्ता पठाउने गरेको आरोपले मधेश प्रहरीभित्र गम्भीर असन्तोष बढाएको छ । उनले इलाका प्रहरीदेखि बिभिन्न युनिटमा कार्यरत क्यूआरटी ड्युटीमा रहेका प्रहरी जवानलाई समेत प्रदेशमा बोलाउने, कहिले सप्तरी त कहिले रौतहटको रमाना दिने जस्ता काम गर्दै आएका थिए ।
मधेश प्रदेशमा बरिष्ठ सई थापा विरुद्ध विवाद चर्किएपछि पुस १८ गते प्रहरी प्रधान कार्यालय तानिएको भएपनि उनलाई पुनः काजमा मधेश फर्काइएको घटनाले थप प्रश्न जन्माएको छ । प्रहरी संगठनभित्र ‘विवादित कर्मचारीलाई किन पुनः संवेदनशील क्षेत्रमा जिम्मेवारी दिइयो ?’ भन्ने प्रश्न उठिरहेको छ । प्रहरी संगठनभित्र अन्य कुनै बरिष्ठ सई सक्षम छैन ? कि उनी आर्थिक संकलनमा अब्बल भएकै कारण पटक पटक उनलाई संवेदनशील ठाउँको जिम्मेवारी दिइँदै आएको छ । यस्ता प्रश्नहरु प्रहरी संगठनबाटै उठ्न थालेको छ ।
मधेश प्रदेश प्रहरीमा देखिएको यो विवाद व्यक्तिगत आरोपभन्दा पनि प्रणालीगत कमजोरीको संकेत हो । घुमुवा प्रणाली, सिभिल परिचालन र अधिकार वितरणमा पारदर्शिता नहुँदा संगठनको मनोबल र सार्वजनिक विश्वासमा दीर्घकालीन असर पर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । अब मुख्य प्रश्न स्पष्ट छ यी गम्भीर आरोपमाथि निष्पक्ष, पारदर्शी र समयमै छानबिन कहिले हुन्छ ? दोषी देखिए कडा कारबाही र संरचनागत सुधार नगरे मधेश प्रहरीको प्रतिष्ठामाथि लागेको दाग अझै गहिरिँदै जाने खतरा बढ्दै गएको छ ।













प्रतिक्रिया दिनुहोस् !