वीरगंज (पर्सा), १२ मंसिर । कर्णाली प्रदेशमा आयोजित १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा वीरगंजका दुई खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक जितेका छन् । मधेश प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएका साहेब गिरी र हरिनारायण साहले राष्ट्रिय मञ्चमा पदक जित्दै वीरगंजसहित समग्र मधेश प्रदेशको गौरव बढाएका हुन् ।
प्रतियोगिताअन्तर्गत साहेब गिरीले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै कांस्य पदक हात पारेका छन् भने हरिनारायण साहले ‘मेन्स क्लासिकल ओपन’ विधामा उत्कृष्ट प्रदर्शनसहित कांस्य पदक जितेका छन् । राष्ट्रिय स्तरको प्रतिस्पर्धामा दुवै खेलाडीले हासिल गरेको सफलतालाई मधेश प्रदेशको बडीबिल्डिङ क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
दुवै खेलाडी वीरगंजको लिङ्क रोडस्थित मसल बैंक जिम क्लबमा नियमित प्रशिक्षण गर्दै आएका छन् । उनीहरू सोही जिम क्लबमा पर्सनल ट्रेनरका रूपमा समेत कार्यरत छन् । आफ्नै प्रशिक्षण र मेहनतबाट राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल उनीहरूले अन्य युवालाई पनि शारीरिक तन्दुरुस्ती र फिटनेसका लागि प्रशिक्षण दिँदै आएका छन् ।
कडा अभ्यास, अनुशासन, निरन्तर मेहनत र खेलप्रतिको समर्पणले स्थानीय स्तरबाट राष्ट्रिय प्रतिस्पर्धासम्मको यात्रा तय गरेका दुवै खेलाडीको सफलताले वीरगंजको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको छ । उनीहरूको उपलब्धिले उचित प्रशिक्षण र अवसर पाए स्थानीय खेलाडीले पनि राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्न सक्छन् भन्ने सन्देश दिएको छ ।
राष्ट्रिय प्रतियोगितामा दुई कांस्य पदक जितेर फर्किएका गिरी र साहको सफलताले मधेश प्रदेशको बडीबिल्डिङ क्षेत्रलाई थप पहिचान दिलाएको छ । उनीहरूको उपलब्धि आगामी पुस्ताका खेलाडीका लागि प्रेरणाको स्रोत बन्ने विश्वास खेलप्रेमीहरूले व्यक्त गरेका छन् ।


























प्रतिक्रिया दिनुहोस् !