जनकपुरधाम (धनुषा), १२ मंसिर । त्रेतायुगमा राजा जनकले भगवान् राम र माता सीताको विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको पौराणिक प्रसङ्गलाई निरन्तरता दिँदै जनकपुरधामबाट विवाहपञ्चमी महोत्सवको निम्तो बोकेर एक टोली अयोध्या प्रस्थान गरेको छ ।
साताव्यापी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन अयोध्यावासीलाई औपचारिक निमन्त्रणा दिन जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा नागरिक समाजका प्रतिनिधिहरू सम्मिलित टोली भारततर्फ गएको हो । जनकपुरधामबाट नियमित यात्रु सेवाका रूपमा सञ्चालनमा आएको सरयू–कमला एक्सप्रेस रेलमार्फत टोली अयोध्या प्रस्थान गरेको छ । अयोध्या पुगेर रामजन्मभूमिसहित विभिन्न धार्मिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिलाई विवाहपञ्चमी महोत्सवमा सहभागी हुन निमन्त्रणा दिने कार्यक्रम रहेको छ ।
टोलीले निमन्त्रणासँगै परम्परागत वैवाहिक सामग्रीसमेत लगेको छ । लत्ताकपडा, गरगहना र भाँडावर्तनलगायतका सामग्रीलाई वैवाहिक भारका रूपमा अयोध्या पुर्याइनेछ । यसले जनकपुर र अयोध्याबीच प्राचीनकालदेखि जोडिँदै आएको वैवाहिक परम्परालाई पुनः स्मरण गराउने विश्वास गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबीचको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर भएको बताएका छन् ।
उनका अनुसार त्रेतायुगमा राजा जनकले सीता–राम विवाहका लागि राजा दशरथलाई निमन्त्रणा पठाएको परम्परालाई वर्तमान पुस्तामाझ जीवन्त राख्ने उद्देश्यले जनकपुरधामबाट निमन्त्रणा टोली अयोध्या पठाइएको हो । जनकपुरधाम र अयोध्याबीच भगवान् राम र माता सीताको विवाहसँग जोडिएको धार्मिक सम्बन्धलाई दुवै देशका नागरिकले विशेष महत्त्वका साथ लिने गरेका छन् । यही सम्बन्धको प्रतीकका रूपमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव आयोजना हुँदै आएको छ ।
साताव्यापी रूपमा मनाइने महोत्सवमा सहभागी हुन भारतको अयोध्यासहित विभिन्न स्थानबाट श्रद्धालु, साधुसन्त तथा धार्मिक प्रतिनिधिहरू जनकपुरधाम आउने गर्छन् । यस महोत्सवले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउँदै आएको छ । अयोध्यावासीलाई औपचारिक निमन्त्रणा दिन प्रस्थान गरेको यस टोलीले दुई धार्मिक नगरीबीचको सदियौँ पुरानो सम्बन्धलाई नयाँ पुस्तासम्म पुर्याउने अपेक्षा गरिएको छ ।



























प्रतिक्रिया दिनुहोस् !