वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा सुस्मिता यादवको नियुक्तिसँगै सुरु भएको विवाद सामान्य प्रशासनिक विषयमा सीमित नरही अब सामुदायिक शिक्षाको भविष्यसँग गाँसिएको गम्भीर संकटका रूपमा देखा परेको छ । विद्यार्थीहरूद्वारा आइतबारदेखि सुरु गरिएको आन्दोलन बुधबारदेखि प्राध्यापक संघ र कर्मचारी युनियनको समर्थन पाएसँगै अझ व्यापक र सशक्त बनेको छ, जसले क्याम्पसभित्रको असन्तोष कति गहिरो छ भन्ने स्पष्ट संकेत गर्दछ ।
नियुक्ति प्रक्रियामा पारदर्शिता, विधि र संस्थागत मापदण्डको पालना नहुँदा उत्पन्न हुने परिणाम कति घातक हुन्छ भन्ने उदाहरण हरिखेतान क्याम्पस बनेको छ । विद्यार्थीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदा समेत व्यवस्थापन पक्ष मौन बस्नुले समस्या समाधानको इच्छाशक्ति नै छैन कि भन्ने गम्भीर प्रश्न उठाएको छ ।
हरिखेतान प्राध्यापक संघका अध्यक्ष धमेन्द्र यादवले उठाएको मुद्दा केवल एक व्यक्तिको नियुक्तिसँग सम्बन्धित होइन । उनले सामुदायिक क्याम्पसको मूल मर्ममाथि नै आघात पुग्ने गरी विधान संशोधनमार्फत निजीकरणतर्फ धकेल्ने प्रयास भइरहेको गम्भीर आरोप लगाएका छन् । यदि सामुदायिक क्याम्पसलाई सीमित व्यक्ति वा परिवारको स्वार्थअनुसार सञ्चालन गर्ने प्रवृत्ति मौलाउँदै जाने हो भने, त्यसको प्रत्यक्ष मार विद्यार्थी र अभिभावकमाथि पर्नु स्वाभाविक हो ।
झन चिन्ताको विषय त के हो भने, विद्यार्थीहरूको आधारभूत माग पूर्वाधार, शैक्षिक सुविधा, छात्रवृत्ति र पारदर्शी प्रशासनप्रति व्यवस्थापनको उदासीनता देखिनु हो। गरिब तथा जेहनदार विद्यार्थीका लागि लक्षित छात्रवृत्ति मनपरी रूपमा वितरण भइरहेको गुनासोले सामाजिक न्याय र समावेशितामाथि समेत प्रश्न उठाएको छ ।
प्राध्यापक संघकी उपाध्यक्ष प्रीतिकुमारी सिंहले निजी विधान खारेज गरी सामुदायिक भावनाअनुसार नयाँ विधान निर्माणको माग गर्नु आफैंमा व्यवस्थापन प्रणालीमाथिको गम्भीर अविश्वासको द्योतक हो । साथै, क्याम्पस प्रमुखदेखि प्रशासन प्रमुखसम्म बारम्बार परिवर्तन गरिनुले विद्यार्थीहरूमा मानसिक तनाव बढ्नु स्वाभाविक देखिन्छ ।
‘सामुदायिक क्याम्पस भनेर छोराछोरी भर्ना गर्यौँ’ भन्ने अभिभावकको पीडा केवल भावनात्मक अभिव्यक्ति होइन, यो राज्य र समाजप्रति गरिएको गम्भीर प्रश्न हो । शिक्षण संस्था राजनीतिक स्वार्थ, आफन्तवाद र मनोमानीको अखडा बन्न थाले भने त्यसले दीर्घकालमा शिक्षाको गुणस्तर मात्र होइन, समाजकै भविष्यलाई कमजोर बनाउँछ ।
हरिखेतान क्याम्पसको अहिलेको विवाद तत्काल संवाद, पारदर्शिता र संस्थागत सुधारमार्फत समाधान खोजिनु आवश्यक छ । अन्यथा, यो विवाद एउटा क्याम्पसमा सीमित नरही सामुदायिक शिक्षामाथिको विश्वास गुमाउने खतरनाक नजिर बन्न सक्छ । समयमै सच्याइएन भने हरिखेतान क्याम्पसको संकट केवल आन्दोलनमा सीमित रहने छैन, यसले सम्पूर्ण शैक्षिक प्रणालीप्रतिको भरोसालाई नै चुनौती दिनेछ ।









प्रतिक्रिया दिनुहोस् !