वीरगंज (पर्सा), २९ मंसिर । पोखरिया प्रादेशिक अस्पतालमा एक समय अत्यावश्यक उपकरणको अभाव देखिँदै आएको भएपनि अहिले उपलब्ध उपकरणहरू नै प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले अस्पतालको सेवा सुधारका लागि पठाएका विभिन्न उपकरण सञ्चालनमा नआउँदा सेवा प्रवाह, अस्पताल व्यवस्थापन र जनस्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।
प्रदेश सरकारले पोखरिया अस्पतालका लागि पठाएको मेडिकल फोहर जलाएर नष्ट गर्ने उपकरण हालसम्म प्रयोगमा ल्याइएको छैन । अस्पतालमा उपकरण पुगेपछि एकपटक प्राविधिकद्वारा डेमो देखाइएपनि त्यसपछि नियमित रूपमा सञ्चालन हुन नसकेको अस्पताल श्रोतले जनाएको छ । उपकरण सञ्चालनमा नआउँदा अस्पतालबाट निस्कने जोखिमपूर्ण मेडिकल फोहरहरू अहिले पनि नगरपालिकाले अन्य सामान्य फोहरसरह संकलन र विसर्जन गर्दै आएको अवस्था छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार मेडिकल फोहरलाई सामान्य फोहरसँग मिसाएर विसर्जन गर्नु अत्यन्त जोखिमपूर्ण हुन्छ । विभिन्न रोगका बिरामीले प्रयोग गरेका सुई, सिरिन्ज, पट्टी, औषधिजन्य फोहर तथा अन्य संक्रामक सामग्रीलाई छुट्टै संकलन, प्रशोधन र सुरक्षित रूपमा नष्ट गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । यसो नगर्दा वातावरण प्रदूषण हुनुका साथै संक्रामक रोग फैलिने उच्च सम्भावना रहने विज्ञहरूको चेतावनी छ ।
यसअघि वीरगंज महानगरपालिकामा पनि फोहर प्रशोधन केन्द्र निर्माण नहुँदासम्म महानगरभित्रका दुई दर्जनभन्दा बढी अस्पतालबाट निस्कने मेडिकल फोहर सामान्य फोहरसरह विसर्जन हुँदै आएको थियो । पछि फोहर प्रशोधन केन्द्र स्थापना भएपछि भने मेडिकल फोहरलाई छुट्टै संकलन र सुरक्षित रूपमा नष्ट गर्ने व्यवस्था गरिएको छ । उक्त कार्यका लागि महानगरको साझेदार संस्था एके इन्टरनेशनलले अस्पतालहरूबाट सेवा शुल्कसमेत लिँदै आएको छ । तर पोखरिया प्रादेशिक अस्पतालमा भने मेडिकल फोहर जथाभावी फालिने गरेको स्थानीयवासीको गुनासो छ, जसले समुदायमा रोगको संक्रमण फैलिन सक्ने जोखिम थप बढाएको छ ।
मेडिकल फोहर व्यवस्थापन उपकरण मात्र होइन, प्रदेश सरकारले अस्पतालका लागि पठाएका अन्य संरचना र साधनसमेत प्रयोगविहीन अवस्थामा छन् । अस्पतालमा रहेका दुईवटा शव राख्ने चिस्यान केन्द्र एक वर्षभन्दा बढी समयदेखि प्रयोगमा आउन सकेका छैनन् । त्यसैगरी, अस्पतालसँग रहेको एम्बुलेन्ससमेत लामो समयदेखि मर्मत नहुँदा सञ्चालनमा आउन नसकेको जनाइएको छ, जसले आकस्मिक सेवामा प्रत्यक्ष असर पारेको छ ।
यस सम्बन्धमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले मेडिकल फोहर व्यवस्थापन उपकरण र एम्बुलेन्स दुवै बिग्रिएको अवस्थामा रहेको र बजेट अभावका कारण मर्मतसम्भार गर्न नसकिएको बताए । उनका अनुसार मेडिकल फोहर नष्ट गर्ने उपकरण सञ्चालनका लागि आवश्यक खर्च र एम्बुलेन्स मर्मतका लागि करिब अढाई लाख रुपैयाँ बजेट आवश्यक भएपनि हालसम्म रकम विनियोजन भएर नआएकाले सेवा प्रभावित भएको हो । मर्मतका लागि पटक–पटक बजेट माग गरिएको भएपनि प्रदेशबाट स्वीकृति प्राप्त नभएको उनले जानकारी दिए ।
शव चिस्यान केन्द्र प्रयोगमा नआउनुको मुख्य कारण स्थान अभाव रहेको डा. रौनियारले स्पष्ट पारे । उनका अनुसार चिस्यान केन्द्र स्थापनाका लागि उपयुक्त स्थानको खोजी भइरहेको छ र आवश्यक व्यवस्थापन मिलाएर चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । उपकरण र पूर्वाधार उपलब्ध हुँदाहुँदै पनि समयमै प्रयोगमा नआउनु, साथै मेडिकल फोहरको अव्यवस्थित व्यवस्थापन भइरहनुले पोखरिया प्रादेशिक अस्पतालको सेवा गुणस्तर, व्यवस्थापन क्षमता र जनस्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ ।










प्रतिक्रिया दिनुहोस् !