भारत–नेपाल प्रवेशद्वार मानिने वीरगंजको मितेरी पुल क्षेत्र केवल दुई देशबीचको भौगोलिक नाका मात्र होइन, पारस्परिक सम्बन्ध, पहिचान र आवागमनको मुख्य प्रतीक पनि हो । यस्तै संवेदनशील र महत्वपूर्ण स्थानलाई सौन्दर्यकरण र हरियालीमार्फत आकर्षक बनाउने वीरगंज महानगरपालिकाको हालैको पहल प्रशंसनीय देखिन्छ ।
महानगरले ग्रिन सिटी सामुदायिक सेवा केन्द्रको सहयोगमा विगत तीन हप्तादेखि मितेरी पुल क्षेत्रको सरसफाइ, व्यवस्थितिकरण तथा सौन्दर्य विस्तारको अभियान संचालन गर्दै आएको छ । आइतबारबाट सुरु भएको वृक्षारोपणले यो अभियानलाई अझ व्यवस्थित र दीर्घकालीन बनाएको छ । मेयर राजेशमान सिंहले स्वयं विरुवा रोपेर अभियानको शुभारम्भ गर्नु नेतृत्वको सक्रियता र प्रतिबद्धताको प्रतीक हो, जसले स्थानीयस्तरमा हरियाली र स्वच्छ वातावरणप्रति बढी जिम्मेवार बन्न उत्प्रेरित गर्दछ ।
सीमावर्ती क्षेत्रहरूले सामान्यतया भीडभाड, प्रदूषण, फोहोर र अव्यवस्था झेल्ने गरेका हुन्छन् । यस्तो अवस्थामा संवेदनशील स्थललाई व्यवस्थित र हराभरा बनाउने पहलले यात्रु, व्यापारी तथा अन्तर्राष्ट्रिय आगन्तुकसमेतमा सकारात्मक छाप पर्छ । मुलुकको प्रवेशद्वारमै स्वच्छ, आकर्षक र व्यवस्थित वातावरण देखिनु भनेको देशकै पहिचान सुन्दर देखिनु हो । यस दृष्टिले वृक्षारोपण अभियानको महत्व केवल स्थानिय सौन्दर्यकरणमा सीमित छैन, यो राष्ट्रको छविसँग समेत जोडिएको विषय हो ।
महानगरको यस अभियानमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण तथा जिल्ला प्रहरी कार्यालय पर्साको सहकार्य हुनु संस्थागत समन्वयको राम्रो उदाहरण हो । यस्तो सहकार्यले सामुदायिक जिम्मेवारीप्रति सबै संयन्त्रहरू एकजुट हुनसक्छन् भन्ने पनि पुष्टि गर्छ । स्थानीय सरकार, सुरक्षा निकाय र नागरिक समाजबीच यस्तो सकारात्मक सहकार्य निरन्तर रहन सके, शहरको अन्य सार्वजनिक स्थलहरू पनि व्यवस्थित र हरियालीयुक्त बनाउन सकिनेछ ।
तर, वृक्षारोपण मात्र पर्याप्त छैन । रोपिएका विरुवाहरूको दीर्घकालीन संरक्षण, सिँचाइ, हेरविचार र सुरक्षा सुनिश्चित गरिएन भने आज रोपिएका विरुवा केही महिनामै नष्ट हुने जोखिम रहन्छ । यस कारण वृक्षारोपण जति महत्वपूर्ण छ, वृक्षसंरक्षण त्यत्तिकै अनिवार्य हुन्छ । महानगरले यसतर्फ ध्यान दिंदै सामुदायिक सहभागिता बढाउन सके अभियानले स्थायी प्रभाव छोड्नेछ ।
अन्ततः, मितेरी पुल क्षेत्रको सौन्दर्यकरण अभियान वीरगंज महानगरको दूरदर्शितापूर्ण प्रयासको द्योतक हो । यस्तो सकारात्मक कामले शहरको छवि मात्र होइन, नागरिकको मनोबल र वातावरणीय चेतनालाई पनि उकास्नेछ । यदि यस्तै अभियानहरू निरन्तर रूपमा अन्य वडाहरूमा विस्तार गरिए, वीरगंजले हरियाली, स्वच्छता र शहरी व्यवस्थापनका क्षेत्रमा उत्कृष्ट मोडेल प्रस्तुत गर्न सक्छ ।








प्रतिक्रिया दिनुहोस् !