वीरगंज (पर्सा), १४ फागुन । नेपाली कांग्रेस का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले बिहीबार जगरनाथपुर गाउँपालिका–२ लम्मीपुरमा घरदैलो तथा जनता दर्शन कार्यक्रम आयोजना गरेका छन् । चुनावी अभियानलाई थप सक्रिय बनाउँदै उनले मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष भेटघाट तथा संवादलाई प्राथमिकता दिएका हुन् ।
भेटघाटका क्रममा रिजालले स्थानीयसँग विकास निर्माण, भौतिक पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवा सुधार तथा रोजगारी सिर्जनाका विषयमा विस्तृत छलफल गरे । उनले अघिल्लो कार्यकालमा सम्पन्न गरेका योजनाहरूको जानकारी गराउँदै बाँकी र अधुरा परियोजनालाई पुनः निर्वाचित भएलगत्तै तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाए ।
स्थानीय बासिन्दाले सडक स्तरोन्नति, सिंचाइ व्यवस्थापन, स्वच्छ खानेपानीको उपलब्धता र युवाका लागि रोजगारीको अवसर विस्तारमा विशेष पहल गर्न आग्रह गरेका थिए । त्यसप्रति सकारात्मक धारणा व्यक्त गर्दै रिजालले जनताबाट प्राप्त सुझाव र मागलाई आफ्ना आगामी प्राथमिकतामा समेट्ने विश्वास दिलाए ।
कार्यक्रममा क्षेत्रीय नेता, स्थानीय अगुवा, पार्टीका कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । कार्यक्रममा देखिएको उत्साहजनक सहभागिताले क्षेत्रभित्र कांग्रेसप्रति समर्थन बलियो बन्दै गएको दाबी स्थानीय नेताहरूले गरेका छन् ।
यसअघि सोही क्षेत्रबाट निर्वाचित भइसकेका रिजाल शालीन, सरल र प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन् । पर्सा जिल्लामा मात्र होइन, राष्ट्रिय राजनीतिक वृत्तमा समेत प्रभाव पार्न सक्ने नेताका रूपमा उनको चर्चा हुने गरेको छ ।








प्रतिक्रिया दिनुहोस् !