वीरगंज–रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्न लागेको रोहिङ्ग्या शरणार्थीहरूको ठूलो समूहलाई स्थानीयको सक्रियतामा भारत फिर्ता पठाइएको घटना सामान्य देखिएपनि यसले राज्यको सीमा सुरक्षा, आप्रवासन व्यवस्थापन र संस्थागत जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
करिब एक सय जनाको समूह १२–१५ वटा टाँगामा सवार भएर नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि स्थानीयवासीले नगवा क्षेत्रमा उनीहरूलाई रोकेर सोधपुछ गर्नु र अन्ततः प्रहरीको जिम्मा लगाउनु आफैंमा उल्लेखनीय पक्ष हो । यो घटनाले सीमा सुरक्षा जस्तो संवेदनशील विषयमा राज्य संयन्त्रभन्दा नागरिक सतर्कता अघि बढेको संकेत गर्छ, जुन चिन्ताजनक अवस्था हो ।
सोधपुछका क्रममा आफूहरू भारतको उत्तर प्रदेशका बासिन्दा भएको दाबी गर्ने तर स्पष्ट कागजात नदेखाउने, भाषिक असहजता देखिने र नेपाल प्रवेशको उद्देश्य प्रस्ट पार्न नसक्ने अवस्थाले स्वाभाविक रूपमा शङ्का उत्पन्न गराएको देखिन्छ । यस आधारमा सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै समूहलाई फिर्ता पठाइनु तत्कालीन रूपमा उचित निर्णय भएपनि घटनाको जरो अझ गहिरो छ ।
सबैभन्दा गम्भीर प्रश्न सशस्त्र प्रहरी बल नेपालको भूमिकामाथि उठेको छ । खुला सीमाको सन्दर्भमा सामान्य सर्वसाधारणले सानो सामग्री ल्याउँदा समेत कडाइका साथ चेकजाँच हुने गरेको अवस्थामा यति ठूलो समूह बिना प्रभावकारी निगरानी सहरभित्रसम्म प्रवेश गर्नु सुरक्षा संयन्त्रको कमजोरीको स्पष्ट उदाहरण हो । यदि स्थानीयले चासो नदेखाएको भए अवस्था कहाँसम्म पुग्थ्यो भन्ने प्रश्न अनुत्तरित नै रहन्छ ।
सशस्त्र प्रहरीले प्रारम्भिक जाँचमा गतिविधि र भनाइमा असङ्गति देखिएको भन्दै समूहलाई फिर्ता पठाएको जनाएको छ । तर प्रश्न के हो भने, असङ्गति देखिनुअघि नै चेकजाँच किन भएन ? सीमा सुरक्षा केवल घटना भएपछि प्रतिक्रिया दिने संयन्त्र होइन, सम्भावित जोखिम पहिचान गरेर रोकथाम गर्ने प्रणाली हो ।
रोहिङ्ग्या शरणार्थीको विषय मानवीय र अन्तर्राष्ट्रिय सरोकारसँग जोडिएको संवेदनशील मुद्दा हो । तर संवेदनशीलताको नाममा सुरक्षासम्बन्धी लापरबाही स्वीकार्य हुन सक्दैन । अवैध प्रवेश, शरणार्थीका रूपमा बसोबास गर्ने प्रयास वा सम्भावित सुरक्षा चुनौतीबीच स्पष्ट नीति, संयन्त्र र समन्वय आवश्यक हुन्छ ।
पछिल्लो समय यस्ता समूहहरूको आवतजावत बढ्दै गएको सुरक्षा निकायको स्वीकारोक्ति आफैंमा चेतावनी हो । यसको अर्थ भविष्यमा यस्ता घटना दोहोरिन सक्ने जोखिम अझै कायमै छ । तर, स्थानीयको सक्रियतामै निर्भर रहने हो भने राज्यको भूमिका के भन्ने प्रश्न गम्भीर रूपमा उठ्छ ।
अझ दुःखद पक्ष, यसजस्तो गम्भीर घटनामा पनि जिल्ला प्रशासन, प्रहरी प्रशासनबाट स्पष्ट र आधिकारिक धारणा सार्वजनिक नहुनु हो । जिम्मेवार अधिकारीहरूसँग सम्पर्क हुन नसक्नु पारदर्शिता र जवाफदेहिताको अभावलाई उजागर गर्छ ।
यो घटना केवल रोहिङ्ग्या शरणार्थी फिर्ता पठाइएको समाचार मात्र होइन, खुला सीमाको यथार्थ, सुरक्षा संयन्त्रको कमजोरी र नीतिगत अस्पष्टताको प्रतिबिम्ब हो । अब आवश्यक छ, सीमा निगरानीलाई प्रभावकारी बनाउने, सुरक्षा निकायबीच समन्वय सुदृढ गर्ने र मानवीय संवेदनशीलता र राष्ट्रिय सुरक्षाबीच सन्तुलन कायम गर्ने स्पष्ट रणनीति । नत्र, आज स्थानीयले रोकेको जोखिम भोलि राज्यकै लागि चुनौती बन्न सक्छ ।









प्रतिक्रिया दिनुहोस् !