सूचना–प्रविधिको युगमा कम्प्युटर शिक्षा विलासिता होइन, आवश्यकता हो । तर तीन वर्षअगाडि अनिवार्यबाट हटाएर ऐच्छिक बनाइएपछि पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूमा कम्प्युटर शिक्षाको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ । शिक्षाको गुणस्तर सुधार्नका लागि गरिएको पूर्वाधार निर्माण, उपकरण खरिद तथा लाखौँको लगानी अहिले प्रयोगविहीन बक्साभित्र थन्किनु विडम्बना बाहेक केही छैन ।
अनिवार्य शिक्षाको अवधिमा अधिकांश विद्यालयले कम्प्युटर ल्याब निर्माण गरे । कतिपय विद्यालयले प्रयोगात्मक कक्षा नियमित चलाए । तर विषयगत शिक्षकको अभावका कारण धेरै विद्यालयमा कम्प्युटर शिक्षा नाममात्रमा सीमित रह्यो । अब त ऐच्छिक बनाइएपछि विद्यार्थी संख्या समेत घट्दै गएको छ । अन्य विषयका शिक्षकमार्फत कक्षा सञ्चालन हुँदा विद्यार्थीहरूको जिज्ञासा समाधान र प्रविधि–सीप विकास पूर्णरूपमा अवरुद्ध भएको छ । प्रयोगात्मक कक्षा रोकिएपछि विद्यार्थीको लगाव झनै क्षीण हुनु स्वाभाविकै हो ।
पोखरिया नगरपालिकाको पद्म महोवनी माविका सात कम्प्युटरदेखि अन्य विद्यालयमा १५ वटासम्मका उपकरण प्रयोगविहीन बस्नु राज्यको योजनामाथिको ठूलो प्रश्न हो । ‘सीपमूलक शिक्षाको विस्तार’ भन्ने उद्देश्यलाई ऐच्छिक नीतिले उल्टो दिशातर्फ धकेलेको प्रमाण यही हो । नेपाल विकसित प्रविधि उत्पादन गर्ने राष्ट्र त परै जाओस्, प्रविधि उपभोग गर्न पनि पछि परिरहेको असल उदाहरण हो पर्साका सामुदायिक विद्यालयहरू । विषयगत शिक्षक अभाव र गैरप्रयोगात्मक अध्यापनले भविष्यका श्रमशक्ति कमजोर बनाउँदैछ । विश्व काम गर्ने सीप माग्छ, र हामी अझै पाठ्यपुस्तकको पाना पल्टाउँदै बस्ने ?
अब पनि ढिलाइ गर्नु शिक्षा प्रणालीप्रति गम्भीर विश्वासघात हुनेछ । सरकार, स्थानीय तह र विद्यालय व्यवस्थापन समितिले संयुक्त रूपमा कम्प्युटर शिक्षा पुनः अनिवार्य बनाउने, विषयगत शिक्षक व्यवस्थापन गर्ने तथा प्रयोगात्मक कक्षालाई प्राथमिकता दिने नीति लागू गर्नैपर्छ । आजको पुस्तालाई प्रविधि ज्ञानबाट वञ्चित गराउनुभन्दा ठूलो अन्याय अरू हुन सक्दैन । कम्प्युटर शिक्षा ऐच्छिक होइन, भविष्यमाथिको अनिवार्य लगानी हो ।









प्रतिक्रिया दिनुहोस् !