वीरगंज (पर्सा), २९ कात्तिक । ‘वीरगंज महानगरपालिकाको प्रायोजन तथा न्यूज २४ टेलिभिजनको प्रस्तुती’ वीरगंजमा ‘सामुहिक भाईटिका’ कार्यक्रम सम्पन्न भएको छ । आदर्शनगर स्थित पुरानो बसपार्कमा नेवार, पहाडी, मधेशी, थारु, मारवाडी तथा मैथली समुदायका व्यक्तिहरुलाई एकै ठाउँमा भेला भई सामुहिक भाईटिका कार्यक्रम सम्पन्न भएको हो ।
भाईटिका पहाडी समुदायको विशेष पर्व रहेकोले एक अर्का समूदायलाई एकै ठाउँमा राखी एकआपसमा सद्भाव कायम राख्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले यस कार्यक्रमले एक अर्काको समुदायबीच भाइचारा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भाईटिका सँस्कृत्ति कस्तो छ भन्ने सम्पूणर् समुदायलाई चिनाउन यस कार्यक्रम उल्लेख्नीय भूमिका निर्वाह गर्ने बताए ।
भाईटिका कार्यक्रमलाई नयाँ सन्देश दिने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पूर्व अध्यक्ष एवं साहित्यकार गणेश लाठले बताए । उनले विभिन्न जातजाति, धर्मका व्यक्तिहरु एकै ठाउँमा बसेर हर्षोल्लासका साथ भाईटिका मनाई रहेको अवस्थाले गर्भान्वित महसुस भएको बताए । लाठले हाम्रो समाजमा आमाबुवा, भाईबहिनीको सम्बन्धलाई गाँस्ने पर्व त्यवहारहरुलाई विर्सनु हुँदैन र हामी सबै मिलेर मनाउनुपर्छ भन्ने यस कार्यक्रमले सन्देश दिएको बताए ।
कार्यक्रममा सहभागी सांसद अजय चौरसिया, प्रदेश सांसद जितेन्द्र सोनल, वीरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलम, नेता नेजामुद्दिन समानी, व्यापारी संजय अग्रवाल, प्रहरी नायब उपरीक्षक धु्रव श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ लगायतले यस कार्यक्रमले सम्पूणर् समाजमा एकता एवं सद्भाव कायम गर्ने विश्वास व्यक्त गरे । उनीहरुले हामी आ-आफ्नो घर परिवारमा भाईटिका मनाउने गरेका छौं तर यसरी सम्पूणर् समुदायका व्यक्तिहरुबीच एक आपसमा भाईटिका मनाउँदा यसले समाजमा नौलो सन्देश दिएको बताए ।
भाईटिकाको बखत आफ्नो भाई नभएकाहरु एवं घरपरिवारसम्म पुग्न नसकेका भाईहरु सहभागी बहिनीहरुसँग टिका लगाएका थिए । सहभागी कतिपय व्यक्तिहरुले आफ्नो समुदाय लगायत अन्य समुदायका बहिनीहरुसँग पनि टिका लगाएका थिए । कार्यक्रममा मारवाडी समुदाय, भोजपुरी समुदाय, मधेशी समुदाय, पहाडी समुदाय एवं नेवारी समुदायका व्यक्तित्वहरुको उल्लेख्यनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई न्यूज २४ टेलिभिजनका केन्द्रिय व्युरो प्रमुख राजु श्रेष्ठले संचालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् !