वीरगंज (पर्सा), २६ कात्तिक । अस्थायी प्रहरी पोष्ट इनर्वागाउँ, पर्सा वीरगंजका इन्चार्ज असई मुन्नीलाल राउतले एसपीलाई गुमराहमा पारी असुली धन्दालाई तिब्र पारेका छन् । उनको कमाण्डमा खटेका सिपाही, हवल्दार एवं घुमुवाले सेटिङ्ग भएका तस्करहरुको सामान नछुने तर सर्वसाधारणको सामानलाई समातेर चौकी ल्याउने अनि सेटिङ्ग गरि पैसा लिएर छाड्ने गरेको पाइएको हो ।
उदाहारणको लागि दुई महिनादेखि चौकी अगाडि राखिएको कबाडको ठेलालाई असई राउतले १० हजार रुपैया बुझेर छाडेको बताइएको छ । दुई महिना अघि उनीसँग सेटिङ्ग नगरि एकजना ठेला चालक भारतीय नागरिकले ठेलामा कबाड लोड गरि भारत तर्फ लैजाँदै गरेको अवस्थामा असई राउतको कमाण्डमा खटिएको प्रहरीले समातेर चौकीमा ल्याएको थियो । चौकीमा ल्याए पश्चात लेनदेनमा कुरा नमिलेपछि असई राउतले पर्साका प्रहरी उपरीक्षक कोमल शाहलाई जानकारी गराई ठेलालाई थन्काएका थिए । तर तीन महिना पश्चात असई राउतले एसपी शाहलाई गुमराहमा पारी ब्याट्रीको छाइँको तस्कर तमन्ना मार्फत १० हजार रुपैयाँ असुली गरि ठेला छाडेको बताइएको छ ।
तमन्नाले ठेला समातेकै बखतदेखि छोडाउनमा लागि परेका थिए तर पैसा लेनदेन नमिलेपछि असई राउतले ठेला छाडेका थिएनन् । ठेला छोडाउनका लागि तमन्नाले भारतीय नागरिक ठेला चालकसँग तीन महिना अघि नै १० हजार रुपैयाँ लिएर खाईसकेको र हाल पुनः त्यही ठेला छोडाउनको लागि १० हजार रुपैयाँ लिएर असई राउतलाई बुझाएको समाचार श्रोतले जनाएको छ । त्यो ठेलालाई छोेडाउनका लागि तमन्नाले ठुलै कसरत गरेका थिए । असई राउतले छाड्न नमानेपछि एसपी समक्ष पनि पुगेका थिए । त्यतिमा पनि ठेला नछुटेपछि विभिन्न पार्टीका नेताहरुसँग एसपीलाई दबाब पनि दिन लगाएका थिए ।
ठेलामा आखिर हो के ? भनेर एसपी शाहले ठेला र सामान नछाड्न आदेश दिएपछि तमन्नाले आफ्नो तस्करीको कार्यतर्फ होमिएका थिए । त्यस पश्चात तीन महिना पछि असई राउतले ठेलामा खासै सामान नरहेको भनेर एसपी शाहलाई गुमराहमा पारी तस्कर तमन्ना मार्फत १० हजार रुपैयाँ असुली ठेला र सामान दुबै छाडेको तस्कर श्रोतले जनाएको छ । एसपीलाई धेरै दबाब आएपछि सामान राखेर ठेला मात्रै छाड्न असई राउतलाई आदेश दिएका थिए तर असई राउतले आदेशलाई लत्याउँदै पैसा बुझेर ठेला र सामान दुबै छाडेको बताइएको हो । उक्त ठेलामा कम्प्युटरको बोर्ड, व्याट्री, बहुमूल्य तामाका तार, पित्तलका सामान, सिल्भरको मोटरसाइकलको इन्जिनको सामान सहित बहुमूल्य सामानहरु थिए ।
तमन्नाले तस्करीको साथसाथै बुवा पूर्व हवल्दार रहेको भनेर प्रहरीसँग तस्करीको सेटिङ्ग गराईदिने भनेर अन्य तस्करहरुसँग प्रहरीको नााममा पैसा पनि असुल्ने गरेको बताइएको छ । यो त उदाहारण मात्रै हुन्, असई राउतले नेपाल भारतको खुल्ला सिमानामा पर्ने इनर्वा गाउँबाट आउने हरेक सामान बापत पैसा बुझ्ने गरेको स्थानीयहरुको भनाई छ । तस्करीको अधिकाँश सामान इनर्वा गाउँ हुँदै वीरगंजसम्म आउने गर्छ । असई राउतले इनर्वागाउँ हुँदै आउने सामानलाई निगरानी गर्न ‘पटेल’ भनेर चिनिने घुमुवा परिचालन गरेका छन् ।
जसले सेटिङ्ग नगरेको सामान आएको देख्ने वित्तिकै असई राउतलाई जानकारी गराई समात्ने गरेका छन् । समातेको सामान चौकीमा ल्याई पैसा लिएर छाड्ने गरिएको त्यहाँका प्रत्यक्षदर्शी स्थानीयहरुको भनाई छ । उनका सिपाही, हवल्दार एवं घुमुवा सेटिङ्ग भएका तस्करहरुको सामान नछुने र सर्वसाधारणहरुको जुनसुकै सामान पनि खोसेर ल्याउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् !