वीरगंज (पर्सा), २९ असोज । पर्सा प्रहरीले ठूलो मात्रामा कम्प्युटर, ल्यापटप लगायतका अवैध इलेक्ट्रिक सामग्रीहरू नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा खटिएकाे प्रहरी टोलीले वीरगंज – ५ स्थित एडी कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहको घरबाट भन्सार छली चोरी पैठारी गरेर ल्याइएको कम्प्युटर, ल्यापटप लगायतका इलेक्ट्रिक सामग्रीहरू बरामद गरेको हो ।
बरामद सामग्रीको अनुमानित बजार मूल्य ५१ लाख २६ हजार ७ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुष्कर बोगटी नेतृत्वको प्रहरी टोलीले छापामारी गर्ने क्रममा सिंहको चार तल्ले घरको भुईँ तल्लामा सूचना अनुसार नै बिलबिजक नभएको कम्प्युटर, ल्यापटप तथा इलेकट्रोनिक्स सामानहरू अनधिकृत रूपमा भण्डारण गरेर राखिएको पाएको डिएसपी थापाले वताए ।
सिंहको घरमा डेल मिनी सिपीयु ७० थान, सिस्टम बिनाको डेल मिनी सीपीयु ३० थान, बिना सिस्टमको डेल सीपीयु बक्स ४१ थान, डेल सिपीयु बक्स ६० थान, डेल सिपीयु सेट ७६ थान, जियोनिक्स हार्डडिक्स ८८ थान, डेल मनिटर ४२ थान, माउस ५ सय ५० थान, मनिटरको तार ३ सय १२ थान, सीसीटिभीको तार १८ हजार मिटर, मदरबोर्ड २५ थान, ग्राफिक कार्ड ११ थान, कुलीङ फ्यान १९ थान, ल्यापटपको चार्जाज १ सय ३१ थान, क्याट – ६ तार एक रोल र ड्रिल मेसिन एक थान बरामद भएकाे डिएसपी थापाले जानकारी दिए ।
बरामद गरिएका सामग्रीहरू आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस् !