वीरगंज (पर्सा), २० असोज । बाराको परवानीपुर गाउँपालिकाले कार्यालयहरू दुई सिफ्टमा सञ्चालन गर्ने जनाएको छ । एउटा सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले गाउँ कार्यपालिकाको कार्यालयको राष्ट्रिय परिचयपत्र, प्रशासन, योजना, पञ्जीकरण दर्ता चलानी शाखा र वडा नम्बर १ देखि ५ सम्मका कार्यालयहरू दुई सिफ्टमा सञ्चालन हुने जनाएका छन् ।
कार्यालयहरु असोज १८ गतेदेखि हप्ताको २ दिन आइतबार र सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म र १० बजे देखि ५ बजेसम्म गरी दुई सिफ्टमा सञ्चालन हुने रौनियारले जानकारी दिएका हुन् । दिउँसोको समयमा अन्यत्र काम गर्ने सेवाग्राहीहरूलाई छुट्टी लिएर आउनुपर्ने बाध्यता अन्त्य गर्दै दुई दिनका लागि भए पनि दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न थालिएको रौनियारले बताए ।
‘यस्तो गर्दा दिउँसो अफिसमा काम गर्नेहरूलाई धेरै सहज भएको छ,’ उनले भने, ‘सेवाग्राहीहरूको सबै काम पनि हुन्छ र उहाँहरूलाई आफ्नो अफिसबाट छुटी पनि लिनुपर्दैन ।’ दुई सिफ्टको सेवा दैनिक ज्यालादारी, मजदुरी र उद्योगमा कामदारका रूपमा काम गर्नेहरूलाई पनि फलदायी भएको उनको दाबी छ । यसरी सेवाग्राहीहरु बिहान कार्यालयमा सेवा लिएर दिउँसो आफ्नो काममा जान सक्ने उनको भनाई छ । ‘यसरी गर्दा सेवाग्राहीको चाँप पनि घटेको छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस् !