• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ३० भदौ । वीरगंजमा विभिन्न बहानामा सर्वसाधारणलाई ठग्नेहरुको सञ्जालको विगविगी बढेको छ । कोही सरकारलाई ठगी रहेका छन् भने कोही जनतालाई । सरकारले कृषकहरुको लागि उपलब्ध गराउँदै आएको सहुलियत कृषि कर्जा लिई मिटरव्याजको धन्धालाई तिब्रता दिएका छन् भने कोहीले सहकारी संचालन गरि बचतकर्ताहरुको रकम लिएर रफुचक्कर हुने गरेको घटना वीरगंजमा नौलो होइन् । बेला बखत विभिन्न सहकारीहरुले बचतकर्ताको करोडौं रकम लिएर फरार भएको घटनाहरु सार्वजनिक भइनै रहेको हुन्छ । यसै क्रममा एउटा रोमाञ्चक घटना सार्वजनिक भएको छ । सरकारको आँखा छल्दै सरकारी कृषि कर्जा लिएर अकुत सम्पत्ति कमाउने चक्करमा सहकारी सँस्थामा लगानी गरेका छन् भने ति सहकारीका संचालकले कर्जा कुम्लयाउने दाउमा विभिन्न प्रपञ्च रचि रहेका छन् ।
वीरगंज आदर्शनगर, लोहारपट्टि स्थित दुग्धेश्वर कृषि तथा पशुपँक्षी फर्म लि. का अध्यक्ष सुनिल पाण्डेले कृषक सहुलियत अनुदान लिएर मिटरव्याजमा पैसा लगानी गर्ने गरेको पाइएको छ । पकाहामनपुर वडा नं. २ मानीपुर निवासी अध्यक्ष पाण्डेले नेपाल बैंक लिमिटेडबाट सहुलियत कृषि कर्जा लिएर विभिन्न व्यक्तिहरुलाई मिटरव्याजमा पैसा लगानी गर्ने गरेको पाइएको हो । पाण्डेले फर्मको नाममा पासबुक नै जारी गरि कर्जा दिने गरेका छन् । कर्जा दिएर किस्ता बापत रकम बुझ्दै जाने र पछि ग्यारेन्टीको लागि कर्जावालासँग लिएको चेक बाउन्स गराई मुद्दा हाल्ने उनको दिनचर्या नै बनेको छ ।
अध्यक्ष पाण्डेले आफ्नो फर्मको नाममा न्यून्तम व्याजमा सहुलियत कृषि कर्जा लिएर बढि व्याजमा वीरगंज स्थित दैनिक बचत तथा ऋण सहकारी सँस्थालाई ८२ लाख रुपैया कर्जा दिएका थिए । पाण्डेले २०७७ पुसदेखि २०७८ चैत मसान्तसम्म १९ पटक गरि ८२ लाख रुपैयाँ सहकारीलाई कर्जा दिएका थिए र २०७९ वैशाख मसान्तसम्म किस्ता गरि ७७ लाख रुपैया बुझिसकेको सहकारी सँस्थाका व्यवस्थापक सानु सिन्हाले जानकारी दिए । उनका अनुसार कर्जा लगानी गर्ने बखत पाण्डेले सहकारीका अध्यक्ष रुपेश कुमार पटेलसँग सादा चेक लिएका थिए । फर्मका बजार प्रतिनिधि नितेश कुमार चौरसियाले दैनिक १० देखि ३० हजार रुपैयासम्म संकलन गरि ७७ लाख रुपैया बुझिसकेको प्रबन्ध निर्देशक सिन्हाको भनाई छ ।

साँवा ५ लाख तथा व्याज ८ लाख गरि १३ रुपैयाँ जति बाँकी रहेकोमा हाल आएर फर्मका अध्यक्ष पाण्डेले सादा चेकमा ८२ लाख रुपैया लेखी गरिमा विकास बैंकबाट २०७९ कात्तिक १७ गते चेक बाउन्स गराई जिल्ला अदालत पर्सामा मुद्दा हालेको सिन्हाको भनाई छ । पाण्डेले एकजनालाई मात्रै होइन, आधा दर्जन भन्दा बढि व्यक्तिहरुलाई कर्जा दिएर १० गुणा बढि रकम असुल्ने गरेको सहकारीका व्यवस्थापक सिन्हाको आरोप छ । उनले कर्जा दिने र सादा चेक लिएर, साँवा वापतको पैसा असुली गरि पुनः त्यति बराबरकै चेकमा पैसा लेखी बाउन्स गराई मुद्दा हाल्ने उनको बानी नै रहेको बताए ।
यसैगरि रौतहट जिल्ला परोह नगरपालिका – ४ घर भई वीरगंज – ११ मुर्ली बस्ने किराना पसल थापेका दिलीप कुमार साह पनि कृषि फर्मका संचालक पाण्डेबाट पीडित भएको आरोप लगाए । उनले २०७६ साल माघ १३ गते १ लाख तथा २०७९ कात्तिक महिनासम्म १२ लाख २० हजार गरि १३ लाख २० रुपैया ३६ प्रतिशतको दरले व्याजमा लिएका थिए । पटक पटक किस्ता गरि ७ लाख रुपैया पाण्डेलाई बुझाई सकेको अवस्थामा हाल आएर ६३ लाखको चेक बाउन्स गराई मुद्दा हालेको आरोप लगाए । साहले ७ लाख बुझाईसकेपछि हिसाब किताब गर्दा ६ रुपैया सयकडा (१ लाख रुपैयाको प्रति महिना ६ हजार रुपैया) अर्थात बार्षिक ७२ प्रतिशतको दरले व्याज जोडी १ करोड ४३ लाख रुपैया दिनुपर्ने अडान राखेका थिए ।
साहले त्यति रकम दिन नमानेपछि पाण्डेले साहसँग लिएको ४ वटा सादा चेकमध्ये २ वटा चेकमा ६३ लाख र ३१ लाख रकम भरि चेक बाउन्स गराई मुद्दा हालेका थिए । चेक बाउन्सको मुद्दा हाल्नुभन्दा अगावै दिलीप साहले जिल्ला प्रशासन कार्यालय पर्सामा पाण्डे विरुद्ध मिटरव्याज सम्बन्धी उजुरी दिएको कारण १ दिन मात्रै प्रहरीको हिरासतमा रहेर बाहिर निस्केको बताए । पाण्डेले साहलाई कर्जा दिने बखत दुई वटा एनआईसि एसिया र दुई वटा राष्ट्रिय वाणिज्य बैंकको सादा चेक लिएका थिए ।
कर्जा रकम कुम्ल्याउन दिलीप साहको ग्राइन डिजाइन : कृषि फर्म संचालक पाण्डे
यता दुग्धेश्वर कृषि तथा पशुपँक्षी फर्मका संचालक सुनिल पाण्डेले दैनिक बचत तथा ऋण सहकारीका प्रबन्ध निर्देशक सानु सिन्हाले लगाएको सम्पूर्ण आरोप निराधार रहेको बताए । उनले यिनीहरुले एउटा सञ्जाल बनाई आफ्नो रकम कुम्ल्याउने दाउमा रहेको र सर्वसाधारण बचतकर्ताहरुको करोडौं रकम लिएर फरार रहेको बताए । उनले यस विषयमा २० पटक भन्दा बढि छलफल भइसकसेको तर सहमति हुन नसकेको बताए । कृषि फर्मका संचालक पाण्डेका अनुसार आफूले दैनिक सहकारी सँस्थालाई २ करोड २६ लाख रुपैयाँको कारोबार गरेको र बीच बीचमा किस्ता किस्ता गरि केही रकम दिएको र १ करोड १३ लाख रुपैयाँ बाँकी रहेको बताए ।
बाँकी रहेको रुपैयालाई कुम्ल्याउन यादगार सहकारी सँस्थासँग अनौपचारिक रुपमा आबद्ध रहेका रौतहट निवासी दिलीप साहले सबै प्रपञ्च रचेको उनको भनाई छ । आफूले यादगार बचत तथा ऋण सहकारी सँस्थालाई दिलीप साहकै मार्फत ६३ लाख रुपैयाँ लगानी गरेको र १३ लाख रुपैयाँको चेक दिलीप साहको नामले रहेको कारण १३ लाख रुपैया मात्रै लिएको स्वीकारेको पाण्डेको भनाई छ । यादगार बचत तथा ऋण सहकारी सँस्था एवं दैनिक बचत तथा ऋण सहकारीलाई दिएको रकम दिनु नपर्ने वातावरण सृजना गर्न दिलीप साहले ५ लाख रुपैयामा ठेक्का लिएको पाण्डेको भनाई छ । अहिले यादगार बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष सहितका पदाधिकारीहरुले बचतकर्ताको १० करोड भन्दा बढि रकम लिएर फरार भएको भन्दै उनीहरुमाथि ठगी मुद्दा चलि रहेको छ भने कोषाध्यक्ष पक्राउ परेर प्रहरी थुनामा छन् ।
त्यसैगरि क्रममा दैनिक बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष रुपेश पटेलमाथि कृषि फर्मका संचालक पाण्डेमाथि जिल्ला अदालतमा मुद्दा चलि रहेको छ भने अध्यक्ष पटेल सम्पर्कविहीन छन् । कृषि फर्मका संचालक पाण्डेले कृषि सहुलियत कर्जालाई दुरुपयोग गरेका छन् भने दैनिक बचत तथा ऋण सहकारी सँस्थाले पाण्डेको पैसा कुम्ल्याउने दाउमा छन् । समग्रमा भन्नुपर्दा यि सबैजनाको एउटा सञ्जाल नै छ, जसले एकले अर्कालाई दोषारोपण गरेपनि यिनीहरुले जनतालाई ठगी रहेका छन् ।







प्रतिक्रिया दिनुहोस् !