• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २२ भदौ । उप-राष्ट्रपति रामसहाय यादवले नेपाली नागरिकहरुको मुलभुत स्वास्थ्य सेवा जस्तो मौलिक अधिकार सुनिश्चित गराउन औषधी व्यवसायी संघको विशेष योगदान रहेको बताएका छन् । नेपाल औषधी व्यवसायी संघको १४ औं राष्ट्रिय अधिवेशन तथा स्वणर् जयन्ती महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उप-राष्ट्रपति यादवले देशभरमा रहेका ३२ हजार औषधी व्यवसायीहरुको योगदान अतुलनीय, अविष्मरणीय रहेको बताए ।
उनले स्वास्थ्य सेवा पाउनु प्रत्येक नेपाली नागरिकको मौलिक अधिकार हो, संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकमा स्पष्ट लेखिएको छ र हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा राज्यबाट निःशुल्क पाउनुपर्छ र भैपरि स्वास्थ्य सेवाबाट कसैलाई बञ्चित गरिनेछैन भनि संविधानमा स्पष्ट उल्लेख गरिएको भन्दै यस अधिकारलाई सनिश्चित गराउन औषधी व्यवसायी संघ र यसमा आबद्ध ३२ हजार औषधी व्यवसायीहरुको विशेष योगदान रहेको स्मरण गराए ।
उप-राष्ट्रपति यादवले औषधी कारोबारीहरुको लागि ‘वीरगंज’ जीवन रेखाको रुपमा रहेको भन्दै यसले देशको अर्थ व्यवस्थामा समेत महत्वपूणर् योगदान पुर्याएको बताए । विभिन्न देशबाट आयातित औषधी यही वीरगंज हुँदै देशभरि वितरण हुने गरेको र नेपालमा संचालित औषधी उद्योगहरुको एक महत्वपूणर् हिस्सा पनि यही बारा, पर्सा औद्योगिक कोरिडोर क्षेत्रमा संचालित रहेकोले यसमा खास योगदान दिनेहरुलाई धन्यवाद समेत दिए । 
देशैभरि रहेका ३२ हजार व्यापारीहरुको साझा सँस्था औषधी व्यवसायी संघ विरामीहरुको औषधी उपलब्ध गराउँदै आएको र हजारौं नेपाली नागरिकहरुलाई रोजगारी समेत उपलब्ध गराउँदै आएको बताए । उनले आत्मनिर्भर बनाउन व्यापारको विकास आवश्यक रहेको भन्दै खासगरि औषधी व्यापार जस्तो महत्वपूणर् क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताए । लाखौं जनताको बसोबास गर्ने काठमाडौंदेखि कणर्ालीको दुर्गम क्षेत्र, तराई देखि हिमाल एवं पहाडसम्म औषधी व्यवसायी संघको सकारात्मक पहल एवं विशेष सक्रियताले देशकै ७ सय ५३ स्थानीय तहको ६ हजार ७ सय ४३ वडामा यो व्यवसाय सुचारु रुपमा चलि रहेको बताए ।
नेपाल औषधी व्यवसायी संघ औषधी वितरण र आपूर्तिसम्म मात्रै सीमित नरही विभिन्न विषयमा प्रशिक्षण समेत दिदै आएको बताए । उनले औषधी व्यवसायी संघले ‘विमारीबाट नोक्सानी न्यून गरौं, क्षयरोग अन्य गरौं’ जस्तो महत्वपूणर् प्रशिक्षणबाट सर्वसाधारणहरुको क्षमता बढाउन महत्वपूणर् भूमिका निर्वाह गर्नुपर्ने सुझाव समेत दिए । विभिन्न अस्पतालको सहयोगमा ३५ वटा रिफ्रेसर कोर्ष संचालन गरि ४ हजार भन्दा बढि फार्मेसिस्टहरुलाई प्रशिक्षण दिने संघले अगाडि बढाउने योजनालाई सराहना गरे ।
उनले हाम्रो देश लागुपदार्थ दुव्र्यसनीको नकारात्मक प्रभावले प्रभावित छ । यस सन्दर्भमा समय समयमा दवाई सूचना केन्द्र नेपाल (डिसिआई नेपाल) बाट जुडेका प्रशिक्षण संचालनको लागि पहिलै भएको सम्झौतालाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए । कोरोना महामारीको बखत संसार नै घरमा बन्द रहेको अवस्थामा औषधी व्यवसायीहरु आफ्नो स्वास्थ्यलाई सावधानी अपनाउँदै जनताको रक्षाको लागि २४ औं घण्टा काम गरेकोले व्यवसायिक धर्म एवं समाजसेवाप्रतिको जिम्मेवारी पुष्टि भएको भन्दै आगामी दिनमा पनि यस्तै जिम्मेवारीका साथ आफ्नो दायित्व निर्वाह गर्नुपर्ने विश्वास व्यक्त गरे ।
उप-राष्ट्रपति यादवले राजनीतिक असंवैधानिक सम्बन्धमा औषधी कारोबारलाई परिस्कृत गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले खासगरि संघीयताको संरचना बमोजिम पसल पञ्जिकरण प्रक्रियालाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै औषधी व्यवसायलाई पहुँच र सहरमुखी मात्र केन्द्रित नभई दुरदराज बस्ती, गाउँगाउँमा लैजान सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । औषधी व्यवसायमा देखिएको समस्यालाई पनि गम्भिरतापूर्वक समाधान गर्नुपर्ने सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराए ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्र श्रेष्ठले औषधी व्यवसायले ५० वर्षदेखि निर्वाह गर्दै आएको जिम्मेवारी एवं दायित्वलाई स्मरण गराउँदै यस क्षेत्रमा देखिएको समस्यालाई विस्तृत रुपमा जानकारी समेत गराएका थिए । उनले औषधी व्यवसायीहरुको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको बताए । उनले व्यवसायमा व्यसायीको उत्तराधिकारी नहुनु, गैर कानूनी रुपमा संचालित औषधी पसलहरु विकल्प दिएर बन्द गर्न नसक्नु, खुल्ला सिमाबाट निर्वाद रुपमा औषधी भित्रिनु, खुल्ला सिमाका कारण भारत तर्फ गरि लागुऔषध दुव्र्यसनीले प्रयोग गर्नु र त्यो औषधी नेपाल भित्र्याउनुबाट औषधी व्यवासयीहरुको प्रतिष्ठामाथि आँच पुगेको बताए ।
देशको भौगोलिक विसमताको कारण औषधी पसलहरुको नवीकरण अवधि ३ वर्षे कायम गर्नुपर्ने संसदमा पेश भइसकेकोले यसलाई चाँडै कार्यान्वयन गर्नुपर्ने बताए । उनले मानवीय एवं कुनै कारण बस व्यावसाय नवीकरण हुन नसक्दा १ हजार प्रतिशत भन्दा बढि जरिवाना तिर्नुपर्ने सामाजिक न्यायको सिद्धान्तको न्यायभित्र नपर्ने उनको भनाई छ । हालसम्म म्याद नाघेका औषधीहरुको सुरक्षित डिस्पोजल गर्ने ठाउँको व्यवस्था नभएको र जथाभावी डिस्पोज गर्दा त्यसबाट उत्पन्न घातक रसायन जनस्वास्थ्यमा गम्भिर असर पर्ने भएकोले राज्यको तर्फबाट कार्यविधि बनाई सुरक्षित डिस्पोजल स्थानको व्यवस्था मिलाईदिन आग्रह समेत गरे ।
नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्र श्रेष्ठको सभापतित्वमा आयोजित अधिवेशन उद्घाटन कार्यक्रममा मधेश प्रदेशका उद्योग, वातावरण तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारी, प्रदेशसभा सदस्य रमेश कुर्मी लगायतको उपस्थिति रहेको थियो । अधिवेशन उद्घाटन शत्र पश्चात शनिबारको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।















प्रतिक्रिया दिनुहोस् !