• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ८ भदौ । प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मुलुकमा प्रतिगमनको सपना देख्नेलाई परास्त गर्न एक पटक पुनः सडक, सदन र सरकारको तीनवटै मोर्चाबाट हमला गर्न आवश्यक रहेको बताए । समाजवादी मोर्चा नेपालले वीरगंजमा आयोजना गरेको ‘सन्देश सभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशमा पुनः प्रतिगमनकारीहरु सलबलाउन थालेकोले त्यसलाई परास्त गर्नका एक पटक पुनः सडक, सदन र सरकारको तीनवटै मोर्चाबाट हामी हमला गर्न आवश्यक रहेकोले सबै खालका निराशाबाट मुक्त भई क्रान्तिलाई नयाँ उचाईमा अगाडि बढाउन पहल गर्न आग्रह गरे ।
उनले क्रान्ति गर्नुभन्दा क्रान्तिबाट प्राप्त उपलब्धिहरुलाई संरक्षण गर्नु ठूलो चुनौति हो, जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोह जस्ता जनताको ठूलो बलिदान पश्चात देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको भन्दै यो परिवर्तनलाई सँस्थागत गर्न नपाउँदै यसलाई सँस्थागत हुन नदिनको निम्ति अहिले प्रतिक्रियावादीहरु पुरै तागत लगाएको आरोप लगाए । पुराना पार्टीका नेता, विचार एवं सिद्धान्तलाई बद्नाम गर्न दिनहुँ कसरत भइरहेको भन्दै प्रधानमन्त्री दाहालले क्रान्तिलाई भ्रष्टिकरण गर्न अहिले प्रतिक्रान्तिकारी शक्तिहरु १० गुणा बढि शक्तिका साथ परिवर्तनका विरुद्ध लागेको बताए ।
त्यस प्रतिक्रान्तिकारी शक्तिहरुलाई रोक्न पुरानै विचार एवं राजनीतिले मात्रै सम्भव नरहेकोले नयाँ संगठन, नयाँ मान्यता, विचार, एजेण्डा सहित अगाडि बढ्नुपर्ने प्रधानमन्त्री दाहालको भनाई छ । समाजवादी मोर्चा प्रतिगमनकारीहरुको षडयन्त्रलाई परास्त गर्ने र जनतालाई विजयीको नयाँ उचाईको नेतृत्व गर्ने, जनतालाई समाजवादको यात्रामा विश्वास भरोसा सहित अगाडि बढाउने मोर्चा रहेको विश्वास व्यक्त गरे । समाजवादी मोर्चा प्रतिगमनका विरुद्ध लड्नको लागि बनाइएको भन्दै मोर्चामा सम्मिलित ४ वटा पार्टीका नेतृत्वकर्तामध्ये ३ जना जनयुद्धको नेतृत्व गर्ने सुप्रिम कमाण्डर नै रहेको बताए । 
यो संविधान अपुरो छ, संविधानलाई संशोधन गर्नुपर्छ, नेपाली जनताको चाहना अनुसार अगाडि बढाउनुपर्छ भन्ने हामी नै रहेको भन्दै प्रधानमन्त्री दाहालले संविधानलाई संशोधन गर्न सडक, सदन र सरकारको तीनवटै मोर्चाबाट अगाडि लैजान आवश्यक रहेको बताए । संविधान संशोधनको लागि आफूले दुई पटक सदनमा दर्ता गराएको स्मरण गराउँदै पटक पटक संविधान मिचेर संसद विघटन गर्ने दुस्साहस गर्ने शक्तिले नै संविधान संशोधन हुन नदिएको आरोप लगाए । हामी अहिले पनि यो संविधानलाई व्यवस्थित रुपले परिमार्जन गर्दै लैजान सडक, सदन र सरकारको तीनवटै मोर्चाबाट पहल गर्न तयार रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकारले गरेको कामको प्रसङ्गमा बोल्दै नेकपा माओवादीको सरकार बनेदेखि विभिन्न कामहरु भएको दाबी गरे । उनले संघीय शिक्षा ऐन अन्तिम चरणमा छ, कहिँ कसैले जालझेल गर्न खोजेपछि विधेयकलाई रोकेर परिमार्जन गर्ने प्रक्रियामा छ र परिमार्जन पनि लगभग टुंगिएको भन्दै अब छिट्टै सदनमा प्रस्तुत गरि पारित गरिने बताए । संघीय निजामति ऐन, संघीय शिक्षा एवं र प्रहरी समायोजन ऐनलाई कार्यरुप दिने यो सरकार ठूलो कार्यभार रहेको भन्दै यसको लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए । यसको साथसाथ अहिलेको सरकारले सुशासन, न्याय र समृद्धिलाई मुख्य नारा एवं कार्यभार बनाएर अगाडि बढेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष माधव नेपालले सरकार जनताको चाहना, भावना अनुसार सहि नीति, सहि कार्यक्रम लिएर अगाडि बढ्नुपर्ने बताए । सरकारले अहिले भ्रष्टाचार विरोधी अभियान संचालन गरेको छ, यो सह्रानीय कार्य हो, यो अभियानलाई सघाउन सबैको आवश्यकता रहेको बताए । गाउँदेखि केन्द्र सरकारसम्म भ्रष्टाचार व्याप्त मौलाएको छ, जनसेवाको भवनामा कमि छ, जनतालाई शोषण गर्ने परिपाटी बढेको छ, यसलाई अन्त्य गर्नको लागि मोर्चाको आवश्यकता रहेको बताए । शिक्षा, स्वास्थ एवं कृषिलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै संविधानमा लेखिएको कुरालाई व्यवहारमा लागु हुन नसकेकोले प्रधानमन्त्री दाहालले आधारभूत मौलिक अधिकारहरु एव समाजवादको दिशामा अगाडि बढाएर लैजाने, संविधानको मान्यताहरु एवं समाजवादमुखी अर्थतन्त्रको निर्माण गर्ने सोचहरुलाई लागु गर्नको लागि पहल गर्नुहुने विश्वास व्यक्त गरे । 
त्यसैगरि जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले विभेद, उत्पीडनबाट मधेशीजनताहरु उन्मुक्ति नपाएको बताए । उनले अल्पसंख्यक, सिमान्तकृतहरु आजपनि विभेद, असामान्ता, शोषण एवं उत्पीडनबाट मुक्त नभएसम्म समाजवादको कल्पना गर्न नसकिने बताए । कृषि आधुनिकीकरण, शिक्षामा परिवर्तन, उद्योग स्थापना, जलश्रोतको विकास गर्दै आर्थिक एवं सामाजिक रुपमा पिछडिएकाहरुलाई अगाडि बढाउनको लागि नै यो मोर्चाको स्थापना गरिएको बताए ।
कार्यक्रममा नेत्रविक्रम चन्द (विप्लव सि) ले मुलुकमा पुनः एक पटक विद्रोहको आवश्यकता रहेको बताए । उनले मुलुकमा हाबी भएका दलाल पुँजीवादहरुबाट देशलाई मुक्ति दिलाउन पुनः एक पटक जनविद्रोहको आवश्यकता रहेको बताए । त्यसैगरि कार्यक्रममा सहभागी मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवं जनता समाजवादी पार्टीका नेता लालबाबु राउत गद्दीले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजन ऐनलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्नेमा आफू विश्वस्त रहेको बताए । २०७६ माघ २८ गते प्रहरी समायोजन विधेयक प्रमाणित भएर ऐन बनि सकेकोले त्यसलाई चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्नेमा आफू पूणर् विश्वस्त रहेको बताए ।
कार्यक्रममा समाजवादी मोर्चा, नेपालको मधेश प्रदेश समितिको नामावली समेत घोषणा गरिएको थियो । चारवटै दलबाट तीन तीन जना गरि १२ सदस्यीय समिति घोषणा गरिएको थियो ।















प्रतिक्रिया दिनुहोस् !